मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २२ मंगलबार
  • Saturday, 21 December, 2024
२o८१ असोज २२ मंगलबार १o:४७:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

महिनामै १२७ खर्ब ३२ अर्ब विद्युतीय कारोबार, हालसम्मकै उच्च

छठसम्म वालेटबाट हुने कारोबारको सीमा बढाइयो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २२ मंगलबार १o:४७:oo

साउनमा १३ करोड ५६ लाख ३८ हजारभन्दा बढी संख्यामा डिजिटल कारोबार

चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो महिना साउनमा १२७ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँबराबरको विद्युतीय भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकले साउनमा सोबराबरको विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) भएको देखाएको हो । साउनमा १३ करोड ५६ लाख ३८ हजारभन्दा बढी संख्यामा डिजिटल कारोबार भएको छ ।

रकममा मासिक तथ्यांकका आधारमा यो हालसम्मको उच्च हो । यसअघि असार ०७९ मा ६२ खर्ब २७ अर्ब ६४ करोड रुपैयाँको डिजिटल पेमेन्ट भएको थियो । त्यसपछि घटेको डिजिटल पेमेन्टले असार ०८१ मा नयाँ रेकर्ड राखेको थियो । गत असारमा ८८ खर्ब ३३ अर्ब रुपैयाँबराबरको डिजिटल पेमेन्ट भएको थियो । 

त्यसलगत्तै साउनमा पनि यसले नयाँ रेकर्ड राखेको हो । गत आवको साउनमा भने ४३ खर्ब ६२ अर्ब रुपैयाँको यस्तो भुक्तानी भएको थियो । गत आवमा भने ५९२ खर्ब १५ अर्ब रुपैयाँबराबरको यस्तो भुक्तानी भएको थियो । 

समीक्षा महिनामा रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस)मार्फत मात्रै १०८ खर्ब तीन अर्ब रुपैयाँ भुक्तानी भएको छ । संख्याका आधारमा त्यसबाट ७४ हजार तीन सय ८० वटा कारोबार भएको छ । विशेष गरी ठुला रकमको भुक्तानी चेक आरटिजिएसबाट हुन्छ । २० लाख रुपैयाँभन्दा बढी रकमको भुक्तानी गर्न आरटिजिएस प्रयोग गरिन्छ । 

असार मसान्तमा सरकारले दिएको चेक साउनमा पनि साटिन्छ । साउनमा पनि सरकारको खर्च उच्च थियो । साथै, आपूर्ति शृंखलामा रहेका सेवाप्रदायकलाई भुक्तानी दिँदा पनि यस्तो कारोबार देखिएको छ । 

बढी डिजिटल भुक्तानीमा इलोक्ट्रोनिक चेक क्लियरेन्स (इसिसी) दोस्रो नम्बरमा छ । साउनमा इसिसीबाट पाँच खर्ब ३२ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । साउनमा त्यसबाट १० लाख नौ हजारभन्दा बढी संख्यामा कारोबार भएको छ । 

तेस्रो नम्बरमा रहेको कनेक्ट आइपिएसबाट पनि पाँच खर्ब २५ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकको भनाइ छ । साउनमा त्यसबाट ६८ लाख हजारभन्दा बढी संख्यामा कारोबार भएको छ । 

मोबाइल बैंकिङबाट तीन खर्ब ७७ अर्ब भुक्तानी 
साउनमा मोबाइल बैंकिङबाट तीन खर्ब ७७ अर्ब ६३ करोड रुपैयाँ भुक्तानी भएको छ । पछिल्लो समय अधिकांश स्मार्ट फोन चलाउने हुँदा मोबाइल बैंकिङ पनि निकै लोकप्रिय बन्दै गएको छ । त्यसबाट साउनमा पनि पौने चार खर्ब भुक्तानी भएको छ । साउनमा मोबाइल बैंकिङबाट चार करोड ७४ लाख ६० हजारभन्दा बढी संख्यामा कारोबार भएको छ । संख्याका आधारमा मोबाइल बैंकिङ प्रयोग धेरै छ ।

अन्य माध्यमबाट कति ?
समीक्षा अवधिमा आइपिएस एक खर्ब ७४ अर्ब रुपैयाँ भुक्तानी भएको छ । त्यसमा सात लाख ७४ हजारभन्दा बढी कारोबार भएको छ । 

यसैगरी, डेबिट कार्डबाट एक करोड २१ लाख ७३ हजारपटकमा ९१ अर्ब ९३ करोड रुपैयाँ, एटिएम मेसिनबाट एक करोड १३ लाख १६ हजारपटकमा ८७ अर्ब ८७ करोड रुपैयाँ, क्युआरबाट दुई करोड २९ लाख ३४ हजारपटकमा ६२ अर्ब २८ करोड रुपैयाँ, वालेटबाट तीन करोड आठ लाख सात हजारपटक ४३ अर्ब ६९ करोड रुपैयाँ, इन्टरनेट बैंकिङबाट चार लाख नौ हजारपटकमा २२ अर्ब ४९ करोड रुपैयाँ, प्वाइन्ट अफ सेल्स (पिओएस)बाट ११ लाख १२ हजारपटकमा ६ अर्ब चार करोड रुपैयाँ र क्रेडिट कार्डबाट दुई लाख ९२ हजारपटकमा दुई अर्ब ६ करोड रुपैयाँ भुक्तानी भएको छ । 

यस्तै, ब्रान्चलेन्स बैंकिङबाट ९१ हजारपटकमा एक अर्ब ८८ करोड रुपैयाँ, इ–कमर्सबाट एक लाख ५० हजारपटकमा एक अर्ब १२ करोड रुपैयाँ र प्रिपेड कार्डबाट एक लाख १३ हजारपटकमा एक अर्ब चार करोड रुपैयाँबराबरको कारोबार भएको राष्ट्र बैंकको भनाइ छ ।

छठसम्म वालेटबाट हुने कारोबारको सीमा बढाइयो
नेपाल राष्ट्र बैंकले देशको प्रमुख चाडपर्व दसैँ–तिहार र छठ पर्वसम्म लागू हुने गरी भुक्तानी सेवाप्रदायक (वालेट)मार्फत हुने कारोबारको सीमा बढाएको छ । सामान्य दिनमा दैनिक १० पटकसम्म रकम जम्मा गर्न पाउने व्यवस्था रहेकोमा अब चाडपर्व अवधिभर दैनिक ३० पटकसम्म वालेटमा पैसा जम्मा गर्न पाइने भएको हो । 

केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गर्दै यस्तो जानकारी गराएको हो । दसैँका लागि २१ असोजदेखि १ कात्तिक (कोजाग्रत पूर्णिमाको दिन)सम्म यो व्यवस्था लागू हुने केन्द्रीय बैंकले जनाएको छ । त्यस्तै, १५ कात्तिकदेखि २२ कात्तिकसम्मका लागि वालेटमा एक दिनमा बढीमा ३० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको उल्लेख छ । यो समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी गराउन संस्थाहरूलाई परिपत्र पनि जारी गरेको छ ।