मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Saturday, 21 December, 2024
यम बम काठमाडाैं
२o८१ असोज २० आइतबार o६:o६:oo
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बाढीपहिरो : त्यो ०५०, यो ०८१

Read Time : > 6 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार o६:o६:oo

०५० मा वर्षा हुन्छ कि हुँदैन भन्ने मात्रै पूर्वानुमान गर्न सक्ने पूर्वसूचना प्रणाली अहिले कुन क्षेत्रमा कत्रो वर्षा हुन्छ र कुन खोलामा बाढी आउँछ भन्ने विस्तृत पूर्वानुमान गर्न सक्छ, तर पूर्वसूचना हुँदा पनि ३१ वर्षपछि दोहोरियो ०५० कै क्षति

४ साउन ०५० मा मकवानपुरको पालुङमा बाढीपहिरोले भत्किएको घर । त्यतिवेला मकवानपुरमा २४७, सर्लाहीमा ६८७, रौतहटमा १११, सिन्धुलीमा ५३२, काभ्रेमा २४, धादिङमा २४ र चितवनमा २४ गरी १६ सय ४९ ले ज्यान गुमाएका थिए । बाढीपहिरोले ७२ हजार ९१ परिवारका ४ लाख ८ हजार १०९ जना प्रभावित भएका थिए भने ३२ हजार ७६५ घर पूर्ण रूपमा क्षति भएका थिए । तस्बिर साभार : फोटो म्युजियम नेपाल
११ असोज ०८१ मा काभ्रेको सलाङदुङ खोलाले क्षति पुर्‍याएको घर । बाढीपहिरोबाट काभ्रेमा ७२, ललितपुरमा ४५, धादिङमा ३९, काठमाडौंमा १९, सिन्धुपाल्चोकमा १०, पाँचथरमा ८, मकवानपुर र दोलखामा ७–७, भक्तपुर र सोलुखुम्बुमा ५–५, सिन्धुली र सर्लाहीमा ३–३, धनकुटा, झापा, महोत्तरी, रौतहट र रुपन्देहीमा २–२ तथा इलाम, ओखलढुंगा, उदयपुर, सिराहा, सप्तरी र रामेछापमा १–१ गरी २३९ को मृत्यु भयो । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

३१ वर्षअघि ०५० साउनमा परेको अविरल वर्षाले पूर्व र मध्य नेपालमा बाढीपहिरो गई ठुलो क्षति भएको थियो । अघिल्लो साता वर्षासँगै गएको बाढीपहिरोमा उस्तै क्षति दोहोरियो । वर्षा प्रणाली मध्य पहाडी क्षेत्रमै सक्रिय हुनु र मानवीयसँगै ठुलो भौतिक क्षति हुनु दुवै घटनाका समानता हुन् । तर, ०५० मा वर्षा हुन्छ कि हुँदैन भन्ने मात्रै पूर्वानुमान गर्न सक्ने पूर्वसूचना प्रणाली अहिले यति प्रभावकारी भएको छ कि कुन क्षेत्रमा कत्रो वर्षा हुन्छ र कुन खोलामा बाढी आउँदै छ भन्ने पूर्वानुमान गर्न सक्छ । बाढीको पूर्वानुमान मात्र होइन जोखिममा रहेका क्षेत्रका बासिन्दालाई एसएमएससमेत पठाइन्छ । तर, अहिले वेलैमा पूर्वसूचना हुँदा पनि किन ०५० कै क्षति दोहोरियो भन्ने मूल प्रश्न हो । 

०५० को ४ र ५ साउनमा क्लाउड बर्स्ट (बादल फाट्ने) भएर मकवानपुरको टिस्टुङ क्षेत्रमा २४ घण्टामै ५४० मिलिमिटर रेकर्ड ब्रेक वर्षा हुँदा पूर्वी र मध्य नेपालकेन्द्रित निकै ठुलो बाढीपहिरो गएको थियो । वर्षाको खासै पूर्वानुमान नहुनु र बाढीको पूर्वसूचना प्रणाली नभएकाले त्यतिखेर १६ सय ४९ मानिस हताहतीमा परेका (मृत्यु र बेपत्ता) थिए । पृथ्वी राजमार्गका चार र त्रिभुवन राजपथका दुई गरी ६ पुल भत्किएका थिए । काठमाडौंसँग मुलुकका अन्य भूभागको सडक पहुँच एक महिनासम्म ठप्प भएको थियो । खाना पकाउने ग्याससहित खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु आयात हुन सकेको थिएन । 

यही घटनाबाट पाठ सिकेर सरकारले बाढीसम्बन्धी पूर्वसूचना प्रणालीलाई अगाडि बढायो भने मध्य र पूर्वी नेपाललाई जोड्न धुलिखेल–सिन्धुली–बर्दीवास सडक (बिपी राजमार्ग) बनायो । तर, ३१ वर्षपछि गत साता (१०–१२ असोज) फेरि मध्य र पूर्वी नेपाल नै केन्द्रित बाढीपहिरोले सबैभन्दा धेरै क्षति त्यही बिपी राजमार्गमा गरिदिएको छ । राजधानीलाई जोड्ने पृथ्वी राजमार्गमा राज्य र यातायात व्यवसायीको लापरबाहीले ३५ को ज्यान गएको छ । गृह मन्त्रालयका अनुसार यसपालिको बाढीपहिरोमा परी २३९ जनाको ज्यान गएको छ भने १८ बेपत्ता छन्, १७८ घाइते छन् । 

अर्चना श्रेष्ठ, उपमहानिर्देशक, जल तथा मौसम विज्ञान विभाग
त्यतिखेर (०५० मा) क्लाउड बर्स्ट भएर साउनमा बाढीपहिरो गएको थियो । मध्य बर्खा, धेरै यात्रा नहुने समय भए पनि पूर्वसूचना प्रणाली नहुँदा ठुलो मानवीय क्षति हुन पुगेको थियो । यसपटक हामीले पाँच दिनअघि नै ठुलो पानी पर्ने प्रक्षेपण गरेर बाढीको पूर्वसूचना पनि दिएका थियौँ । तर, पूर्वसूचना हुँदाहुँदै पनि ठुलो मानवीय क्षति भयो ।

‘त्यतिखेर क्लाउड बर्स्ट भएर साउनमा बाढीपहिरो गएको थियो । मध्य बर्खा, धेरै यात्रा नहुने समय भए पनि पूर्वसूचना प्रणाली नहुँदा ठुलो मानवीय क्षति हुन पुगेको थियो,’ जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक अर्चना श्रेष्ठ भन्छिन्, ‘यसपटक हामीले पाँच दिनअघि नै ठुलो पानी पर्ने प्रक्षेपण गरेर बाढीको पूर्वसूचना पनि दिएका थियौँ । तर, पूर्वसूचना हुँदाहुँदै पनि ठुलो मानवीय क्षति भयो ।’

एक्कासि बादल मडारिएर आरीघोप्टे वर्षा हुँदाको घटनामा खासै पूर्वानुमान गर्न सकिँदैन । ०५० को घटना र यसपटक असारमा कञ्चनपुरको दोधारामा भएको वर्षा (२४ घण्टामा ६२४ मिलिमिटर) त्यही हो । पूर्वानुमानमा आधारित विपत् पूर्वतयारी तथा प्रतिकार्यविज्ञ दीननाथ भण्डारी भन्छन्, ‘यसपटक त कुन–कुन जिल्लामा ठुलो पानी पर्छ भनेर पहिले नै थाहा थियो । राज्यका निकायले ख्याल गरेनन् । त्यही भएर ठुलो मानवीय क्षति हुन पुग्यो ।’

काठमाडौं उपत्यकामा भने ०५० को बाढीले भन्दा अहिलेको बाढीले बढी असर गर्‍यो । जलस्रोतविज्ञ अजय दीक्षित काठमाडौंमा ६० र ७० को दशकमा बढेको जनघनत्व र खोला अतिक्रमणका कारण यस क्षेत्रमा मध्यम वर्षाले पनि बाढी निम्त्याइरहेको बताउँछन् । ‘अचेल हरेक वर्ष काठमाडौंमा बाढी जान्छ, सन् २०१० पछि बाढी यहाँको प्रमुख समस्या नै बनेको छ,’ उनले भने, ‘पानीको निकास हुने बल्खु, नख्खुमा अतिक्रमण भएको छ । कसरी पानी उपत्यकाबाहिर जान्छ ? बागमतीमा पनि बार, पर्खाल लगाइएको छ ।’

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले तीन दिनको वर्षाले धनजनको क्षति गरेको घटनाले हिमालय देशमा जलवायु परिवर्तन जोखिम बढाउनमा अव्यवस्थित विकासको भूमिका रहेको उल्लेख गरेको छ । गत साताको बाढीका वेला बागमतीको खोकनामा जलसतह ६.१६ मिटर पुगेको थियो भने नारायणीको देवघाटमा खतराको स्तरभन्दा २.५ मिटरमाथि ११.५ मिटर पानी पुगेको थियो । सुनकोशीको खुर्कोटमा ११.५ मिटर बहाव पुगेको थियो, जुन खतराको सीमाभन्दा झन्डै तीन मिटर बढी हो । सप्तकोशी नदीमा पानीको बहाव ५० वर्षयताकै धेरै भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खुला गरियो । यसपालि २४ घण्टामा मकवानपुरको दामनमा ४१०, काभ्रेको खोपासी ३३१.६, र ललितपुरको चापागाउँमा ३२३.५ मिलिमिटरसहित २५ स्टेसनमा रेकर्ड ब्रेक भएको छ ।

जलवायु परिवर्तनले दक्षिण एसियामा वर्षाको मात्रा र समय परिवर्तन भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईं पनि वर्षाको शैलीमा परिवर्तन आएको बताउँछन् । ‘मनसुनको अन्त्यतिर ठुलो पानी परेको छ, यो स्वाभाविक नभई विषम मौसमी घटना हो,’ उनले भने, ‘पहिले असोजतिर बाढीपहिरोका घटना कम हुन्थे, अचेल मनसुन पछाडि सरेको छ ।’ १६ असोजमा बाहिरिनुपर्ने मनसुन अझै सक्रिय छ । मौसमविद्हरूले यसपालि दसैँअघि मौसम बाहिरिने छाँट नदेखिएको बताउँदै आए पनि जल तथा मौसम विज्ञान विभागले यसलाई पुष्टि गरेको छैन । 

०५० को बाढीपहिरोले पुर्‍याएको क्षति
गृह मन्त्रालयको अभिलेखअनुसार ०५० को बाढी, भलबाढी र पहिरोले मध्य र पूर्वी नेपालमा ७२ हजार परिवार र चार लाख आठ हजार १०९ जनसंख्या प्रभावित भएको थियो । चार अर्ब ९० करोडको भौतिक क्षति भएकामा सरकारले पुनर्स्थापना र पुनर्निर्माणमा दाता गुहारेको थियो ।

मुख्य प्रभावित सात जिल्ला मकवानपुर, सर्लाही, रौतहट, सिन्धुली, काभ्रे, धादिङ र चितवनमा एक हजार ६४९ हताहती (मृत्यु र बेपत्ता) भएका थिए । यी जिल्लामा ३२ हजार ७६५ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका थिए भने ६३३ सार्वजनिक भवन ध्वस्त भएका थिए । ३६६ किलोमिटर सडक, २७९ पुल र २५ हजार ३८८ हेक्टर खेतमा क्षति पुगेको थियो । कुलेखानी जलविद्युत्को पेनस्टक पुल, पावर स्टेसन, कुलेखानी दोस्रोको इन्टेक, बागमती सिँचाइ आयोजनाको हेडबक्स बगाएको थियो ।

इन्द्रसरोवर जलाधार क्षेत्रमा पर्ने मकवानपुरको टिस्टुङलगायत क्षेत्रमा २४ घण्टामा ५४० मिलिमिटर पानी पर्दा कुलेखानी जलविद्युत् आयोजनाको ड्याममा ५१ लाख क्युबिक मिटर पानी पुगेको थियो । यसले नवनिर्मित बाँधमा समेत क्षति पुगेको थियो । मकवानपुरकेन्द्रित अत्यधिक वर्षा र कुलेखानी ओभरफ््लो हुँदा तटीय क्षेत्रको फेदीगाउँका ५२ घर भत्किए भने ६२ जनाले ज्यान गुमाए । 

त्यतिवेला असारको दोस्रो साता नेपाल र उत्तरी भारतमा मनसुनको न्यून चाप मध्य भारततिर सरेकाले सुक्खा भएको थियो । तर, पछि मनसुन ट्रफ (मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा) उत्तरतर्फ सर्दै हिमालयको फेदमा सुक्खा रहेको मौसम ओसिलोमा परिणत भयो । त्यही वेला न्यूनचापीय क्षेत्र दक्षिण–मध्य नेपालमा थियो । ‘मनसुन ट्रफ उत्तरतिर आएर चितवनको मानीदेखि कुलेखानीको दक्षिणसम्म बसेको थियो, त्यही कारण दुई दिन व्यापक पानी पर्‍यो,’ जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक अर्चना श्रेष्ठ भन्छिन्, ‘बाढीको पूर्वसूचना प्रणाली थिएन, त्यसैले मानवीय क्षति धेरै भयो ।’

यसपालिको बाढीपहिरोको प्रारम्भिक क्षति १७ अर्ब, खर्बाैँ पुग्ने आकलन
विपत् जोखिम व्यवस्थापन प्राधिकरणका अनुसार यसपटकको बाढीपहिरोमा चार हजार ६६७ घर पूर्ण र पाँच हजार ३१० घरमा आंशिक क्षति पुगेको छ । १६ हजार २४३ परिवार प्रभावित भएका छन् ।

९६ विद्यालय, ६६ स्वास्थ्य संस्था, ११ जलविद्युत् आयोजना (६२५.९६ मेगावाट), ६ सिँचाइ आयोजना, २७ राजमार्ग र सडक, ४४ मोटरेबल पुल र ११ झोलुङे पुलमा क्षति पुगेको छ । त्यसबाहेक कृषिमा मात्र ६ अर्बको क्षति भएको छ । यसपटक सबैभन्दा बढी प्रभावित जिल्ला काभ्रेपलाञ्चोक, सिन्धुली, धादिङ, ललितपुर, सिन्धुपाल्चोक हुन् । पहिरोले पनि पूर्वका ताप्लेजुङ र पाँचथरसम्म क्षति गरेको छ । कुल २१ जिल्लामा क्षति पुगेको छ ।

प्राधिकरणका सहसचिव अर्जुनकुमार बमले अहिले प्रारम्भिक तथ्यांक मात्र रहेको र क्षति खर्बाैँमा भएको अनुमान गरिएको बताए । ‘मन्त्रालयबाट प्राप्त प्रारम्भिक तथ्यांक मात्र हो, पूर्ण तथ्यांक आइसकेको छैन । प्रदेश र स्थानीय तहबाट तथ्यांक आएको छैन,’ बमले भने, ‘यसमा निजी क्षेत्र, निजी घरको पनि क्षति जोड्दा त खर्बाैँमा जान्छ । सरकारले बाढीपहिरोबाट भएको क्षतिको यकिन गर्न बमको संयोजकत्वमा समिति गठन गरेको छ ।

०५० मा जस्तै यसपटक पनि मकवानपुर क्षेत्रमै बढी वर्षा रेकर्ड भएको छ । दामनमा २४ घण्टामै ४१० मिलिमिटर वर्षा भएको थियो । यस क्षेत्रको वर्षा कुलेखानी जलाधारमा मिसिन्छ । जसकारण यसपटक पनि कुलेखानी जलविद्युत् आयोजनाको ड्यामका दुवै ढोका खोल्नुपर्‍यो भने त्यही बाढीले सिस्नेरीका ३० घर बगाएको छ । सिस्नेरी पहिरोमा परी ६ खेलाडीले ज्यान गुमाए । 

जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक अर्चना श्रेष्ठका अनुसार यसपटक ठुलो क्षेत्रमा बादल बनेर अत्यधिक पानी परेको हो । ‘न्यूनचापीय प्रणाली लामो समय भारतमा (लुम्बिनी प्रदेशको दक्षिण) बसेको थियो । जब शुक्रबार राति आकाश गड्याङगुडुङ हुन थाल्यो, त्यतिखेर सिस्टम मकवानपुरतिरको आकाशमा आएर बसेको थियो । त्यही राति मकवानपुर, काभ्रे, ललितपुरमा अत्यधिक पानी पर्‍यो,’ श्रेष्ठले भनिन्, ‘त्यसपछि सिस्टम पूर्वतिर सर्दा पानी कम भएको हो ।’ 

चार महिनाअघि सरकारकै प्रक्षेपण थियो– यो बर्खामा बाढीपहिरोले चार लाख घरपरिवारका १८ लाख प्रभावित हुन्छन्
अघिल्लो साताको बाढीपहिरोले जनधनको ठुलो क्षति भयो । सरकारले पूर्वतयारीमा ध्यान नदिँदा क्षति सोचेभन्दा धेरै भयो । जब कि सरकारले चार महिनाअघि नै यो बर्खामा बाढीपहिरोले भयानक क्षति हुन सक्ने प्रक्षेपण गरेको थियो । २१ जेठमा बसेको तत्कालीन गृहमन्त्री रवि लामिछाने नेतृत्वको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २३औँ बैठकले स्वीकृत गरेको मनसुन पूर्वतयारी कार्ययोजनामा प्रभावितको आकलन गरिएको थियो । कार्ययोजनाअनुसार बाढीपहिरोले चार लाख घरपरिवारका १८ लाख प्रभावित हुने प्रक्षेपण थियो । प्रभावित जनसंख्यामध्ये ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र १८ हजार घरपरिवारलाई उद्धार गरी राहत उपलब्ध गराउनुपर्ने उल्लेख थियो । कार्ययोजनामा पहिरो बढ्न सक्ने प्रक्षेपण थियो । ‘यस वर्ष वर्षा पनि औसतभन्दा धेरै हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ, १९७० देखिको क्षतिको विवरण र ट्रेन्ड हेर्दा पनि यसपटक क्षति बढ्ने आकलन गरेका हौँ,’ राष्ट्रिय विपत् प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले प्रक्षेपणपछि भनेका थिए, ‘विशेष गरी बाढी र पहिरोको जोखिम नै धेरै देखिन्छ ।’ प्राकृतिक प्रकोप रोक्न सक्ने त उपाय थिएन । तर, प्रकोपले निम्त्याउने क्षति कम गर्न सरकारले पूर्वतयारी गर्नुपथ्र्यो । यस मामलामा पूर्ण रूपमा चुकेको सरकारले क्षतिपछि उद्धार र राहतमा लापरबाही गरेको छ ।