मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १७ बिहीबार
  • Monday, 30 December, 2024
रेशम बहादुर खड्का जाजरकोट
२o८१ असोज १७ बिहीबार १४:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

क्षतिग्रस्त ऐतिहासिक जाजरकोट दरबारमा विधिपूर्वक राखियो जमरा

Read Time : < 1 मिनेट
रेशम बहादुर खड्का जाजरकोट
नयाँ पत्रिका जाजरकोट
२o८१ असोज १७ बिहीबार १४:४९:oo

भूकम्पले क्षतिग्रस्त बनाएकाे ऐतिहासिक जाजरकोट दरबारमा जमरा राखिएको छ। बिहीबार नवरात्रिको पहिलो दिन घटस्थापनाको अवसर पारेर दरबारमा जमरा राखिएको हो। परम्परागत रूपमा जाजरकोट दरबारभित्र प्रत्येक वर्षको घटस्थापनाको अवसर पारेर जमरा राख्दै आएका छन्। नेपाल पञ्चांग निर्णायक समितिले जुराएको साइतअनुसार बिहान ९ बजेर १६ मिनेट जाँदा जमरा राखिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए।

जिल्ला प्रशासन कार्यालय रहेको दरबारमा भूकम्पले जीर्ण भएको छ। जीर्ण भएको भवनमा परम्परागत चलिआएको प्रथालाई आफूले बिहीबार बिहान जमरा राख्ने काम भएको उनको भनाइ छ। तत्कालीन जाजरकोटी राजाले दरबारमा जमरा राख्ने विजयदशमीको दिन जाजरकोट दरबारमा पुगेर टीका लगाउने प्रचलनअनुसार दरबारमा जमरा राखिएको नागरिक समाज जाजरकोटका अध्यक्ष राजेन्द्रविक्रम शाहले बताए।

जिल्लामा रहेका विशिष्ट व्यक्तिहरूलाई दसैँमा टीकासँगै जमरा लगाउनका लागि जाजरकोट दरबारमा बर्सेनि जमरा रोप्ने गरिन्छ। घरघरमा परिवारको संकल्प गरेर राखिने जमरा जाजरकोट दरबारमा भने जिल्लावासीका लागि संकल्प गरेर राख्ने चलन छ। बडादसैँमा टीकासँगै जमरा लगाउँदा शुभ हुने धार्मिक विश्वास पाइन्छ। घटस्थापनाको दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउने गरिन्छ। १९९० सालको भूकम्पले भत्किएको यो दरबार पुनर्निर्माण गरी सात तलाबाट चार तलामा झारिएको थियो। ०५० सालको भूकम्पले पुनः क्षति पुर्‍याएपछि पुरानै शैलीमा पुनर्निर्माण गरिएको थियो । तर, यसपटकको भूकम्पले पुनः दरबारलाई क्षति पुर्‍याएको छ।

यसलाई नेपाल सरकारले केही वर्षअघि मुलुकका सयवटा पर्यटकीय गन्तव्यको सूचीमा पनि राखेको छ। यसको निर्माण विक्रमसंवत् १८५२ मा तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहका पालामा निर्माण भएको थियो। यो दरबार ऐतिहासिक तथा पुरातात्त्विक हिसाबले निकै महत्त्वपूर्ण छ । यो जाजरकोटको मात्र नभएर पूरै कर्णालीको एक मात्र दरबार हो।