१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
तस्बिर : अमुल थापा, संजिव योञ्जन
समाचार डिजिटल संस्करण

बाढीले भग्नावशेष बेथानचोक गाउँ... (तस्बिरसहित)

भव्य बजार खण्डहरमा परिणत

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार १o:३६:oo

तीन दिनसम्मको अविरल वर्षाले कुन तहको क्षति पुर्‍यायो भन्ने बुझ्न काभ्रेको बेथानचोक गाउँपालिकाका गाउँ आउनुपर्ने हुन्छ । पनौती नपा– १० स्थित बगर कट्नासाथ बेथानचोक गाउँपालिका– ४ सुरु हुन्छ । अविरल वर्षापछि ध्वस्त बनेका संरचनाका भग्नावशेष त्यही विन्दुबाट भेटिन सुरु हुन्छ ।

बेथानचोक गाउँपालिका– ४ र पनौती नगरपालिका– १० को सीमा हुँदै बग्छ सालोङ्दुङ खोला । वर्षाअघि खोलामाथि पक्की पुलले बेथानचोक र पनौतीलाई जोड्थ्यो । अहिले पुलको निसानासमेत छैन । खोलाको दुवै किनारमा पक्की घर थिए ।  ती घर पनि अहिले बगरमा परिणत भएका छन् । खोलाकिनार हुँदै बेथानचोक गाउँपालिकासम्म जोड्ने कालोपत्रे सडकको रेखासम्म पनि देख्न सकिन्न । 

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार करिब ६ किलोमिटर सडकको अहिले निसानासमेत भेट्टाउन सकिन्न । उनले भने, ‘राजधानीले अनुमान गरेभन्दा निकै ठुलो क्षति व्यहोरेको छ बेथानचोक गाउँपालिकाले । ६ किलोमिटर सडकको निसानासमेत छैन । सडक बगरमा परिणत भएका छन् । पक्की पुल ध्वस्त बनेका छन् । किनारका बजारमा अहिले खोला बगिरहेको छ । महाभारत युद्धको कुरुक्षेत्रझैँ बन्न पुगेको छन् अहिले बेथानचोक गाउँपालिकाका गाउँ ।’

अविरल वर्षापछिको पहिरोबाट क्षति व्यहोरेकाहरू अहिले सहाराविहीन बन्न पुगेका छन् । राजधानीबाट करिब ४० किलाेमिटर मात्रै टाढा छ बेथानचोक गाउँपालिका । तर, राजधानीबाट अहिलेसम्म पनि यहाँका गाउँमा राहत र उद्धार पुग्न सकेका छैन । 

पहिरोले उठीवास बनेकी पनौती नगरपालिका–१० की ४० वर्षीया पवित्रा दर्जीले भनिन्, ‘मेरा घर पहिरोमा पुरियो । लत्ताकपडादेखि अन्नपातसम्म पहिरोमा परे । अहिले खानका लागि मसँग एक मुठी चामल पनि छैन । अहिले सपरिवार दाइको घरमा आएर शरण लिएर बसेका छौँ । यस्तो विपत्ति १२ वैशाख ०७२ मा गएको भूकम्पमा पनि भएको थिएन ।’

पनौती नगरपालिका– १० कै ३५ वर्षीया ज्ञानु दर्जीको पनि पहिराले घर पुर्‍यो । घरका सबै सामग्री पहिरोमा परे । पहिरो बेपत्ता भएकी उनकी देउरानीको शव अझै फेला परेको छैन । खोजी गर्न कसैले पहल पनि गरेकाे छैन । न उनको परिवारले राहत सामग्री नै पाउन सकेकाे छ ।

उनले भनिन्, ‘पहिराेले मेरोसहित दाजुभाइका ६ घर पुर्‍यो । अहिले सबै विस्थापित भएका छन् । मेरी देउरानीलाई पनि पहिरोले पुरिदियो । उनको शव अझै फेला पर्न सकेको छैन । हामीले अहिलेसम्म न  राहत पायौँ । न कोही उद्धारका लागि नै आए । हामी अहिले पूर्ण रूपमा विस्थापित भएका छौँ।’

बाढी आउनुअघि बेथानचोक गाउपालिका– ४ पारिखर्कमा भव्य बजार थियो । घरहरू पक्की थिए । सडक कालोपत्रे थिए ।बजारमा स्थानीयको चहलपहल बाक्लो थियो । तर, अहिले बजार मसानघाटझैँ बनेको छ । घरहरू रोडा र बालुवाले पुरिएका छन् । सडकको धर्कासम्म पनि देख्न सकिन्न । सबै ठाउँ बगर बनेका छन् । 

पारिखर्कका भेटिएकी ४० वर्षीया अनिता महतले भनिन्, ‘पहिलो यहाँ ठुलो बजार थियो । सडक कालो पत्रे थियो । तर, अहिले सबै बगरमा परिणत भएका छन् । घरहरू सबै भत्किएका छन् । बस्नै नसकिने भएपछि यहाँका सबै स्थानीय पनौती र बनेपातर्फ हिँडेका छन् ।’ बेथानचोक गाउँपालिका– ४ स्थित पारिखर्कमा भन्दा करिब एक किलाेमिटरमाथि १२ भन्दा धेरै ट्रक बगरमा पुरिएकाे भेटिए । सबै  ट्रक भग्नावशेषमा परिणत भएका छन् । ट्रकमाथि अहिले सालोङ्दुङ खोला बगिरहेको छ । बाढी आउनुअघि त्यहाँ भव्य क्रसर उद्योग थियो । आसपास चलेको बजार थियो । सडक पक्की थिए । तर, अहिले ती सबै बगरमा परिणत भएका छन् । 

खोला पार गर्दै गरेको अवस्थामा भेटिएका बेथानचोक गाउँपालिका– २ का स्थानीय ६६ वर्षीय पुण्यप्रसाद तिमल्सिनाले भने, ‘यहाँ भव्य बजार थियो । घर पक्की थिए । सडक कालोपत्रे थिए । नजिकै ठुलो क्रसर उद्योग थियो । अहिले सबै बगर बन्न पुग्यो । यस्तो विध्वंश मैले जीवनमा देख्न पाएको थिइनँ । यसपटक के विपत्ति आइलाग्यो ? म कल्पना पनि गर्न सक्दिनँ ।’

बेथानचोक गाउँपालिकामा बाढीले पुर्‍याएको विध्वंशको तह यस्तो छ, जसबाट  पीडित भएकाहरूलाई उद्धार गर्ने कार्य स्थानीय तहका जनप्रतिनिधिले मात्रै सक्ने अवस्था छैन । उनीहरू दिनरात उद्धारमा खटिएका छन् । तर, जनअपेक्षाअनुसार उद्धार कार्य हुन सकेको छैन । सडक पूर्ण रूपमा बन्द छ । पहिरोमा पुरिएकाहरू अहिले पनि सोही ठाउँमा छन् । एक्स्काभेटर पुग्न नसक्दा शव बाहिर झिक्न सकिएको छैन । उद्धारका लागि आइतबारबाट मात्रै सेनाका टोली केही स्थान त पुगेका छन् । तर, विनाऔजार उनीहरूको उद्धारकार्य प्रभावकारी हुन सकेको छैन ।

गाउँपालिकाकी उपाध्यक्ष  तारा तिमल्सिनाले भनिन्, ‘प्रदेश र संघीय सरकारबाट उद्धारका लागि कुनै पनि पहल हुन सकेन । राजधानीबाट ४० किलाेमिटर टाढा मात्रै छ घटनास्थल । तैपनि स्थानीयले समेत यति वेलासम्म पनि उद्धार र राहत पाउन सकेका छैनन् । किन यस्तो भइरहेको छ बुझ्न सकिएको छैन ।’