१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १० बिहीबार
  • Friday, 27 September, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ असोज १० बिहीबार o६:१६:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

हनी ट्रयापिङको गिरोहमा प्रहरी : बलात्कार मुद्दामा फसाइदिने  भन्दै थुनामा राखेर ३० लाख असुली 

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १० बिहीबार o६:१६:oo

एक व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरी हिरासतमा राखेर ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको छ । हनी ट्रयापिङमा संलग्न समूहले प्रहरीसमेतको मिलेमतोमा यस्तो आपराधिक गतिविधि गरेको हो ।

ललितपुरको प्रहरी प्रभाग भैँसेपाटी (बुङमती)मा मोरङ घर भएका एक व्यापारीलाई थुनामा राखी ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको हो । ललितपुर प्रहरीले हनी ट्रयापिङमा संलग्न एक युवती र एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । यसमा भैँसेपाटी प्रभागकी प्रमुख रहेकी इन्स्पेक्टर बिनुकुमारी शाहीमाथि समेत छानबिन अघि बढाइएको छ । 

प्रहरी स्रोतका अनुसार घटना ७ असोज सोमबारको हो । केही महिनाअघि सुनसरीमा चिनजान भएकी एक युवतीले ती व्यापारीलाई भैँसेपाटीमा भेट्न बोलाउँछिन् । त्यहाँ पुगेलगत्तै प्रहरीले उनलाई पक्राउ गरी भैँसेपाटी प्रभाग लैजान्छ । जहाँ बलात्कार मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ सुरु हन्छ । 

अनुसन्धानमा खटिएका अधिकारीहरूका अनुसार भेट्न बोलाएकी युवतीले ६० लाख रुपैयाँ माग्छिन् । पछि ३० लाख रुपैयाँमा सहमति हुन्छ । ती व्यापारी युवतीसँग घुम्न गएकाले आफू फस्न सक्ने डरले पैसा बुझाउन तयार भएको देखिन्छ । लेनदेनको बार्गेनिङ प्रहरी अधिकारीकै अगाडि भएको प्रारम्भिक छानबिनले देखाएको ललितपुर परिसरका एक अधिकृतले बताए । 

३० लाखमध्ये २० लाख रुपैयाँ युवतीका साथीको खातामा जम्मा हुन्छ भने १० लाखको चेक उनलाई दिएपछि व्यापारी छुट्छन् । जिल्ला प्रहरी परिसरले प्रभागमा बदमासी भएको सूचना पाउँछ, सोही आधारमा पक्राउ परेका व्यापारीसहित सबैलाई परिसरमा पठाउन निर्देशन दिन्छ । प्रारम्भिक सोधपुछमै घटना हनी ट्रयापिङ भएको र त्यसमा प्रहरीले सहयोग गरेको खुलेपछि दुईजनालाई परिसरले थुनामा राखेर अनुसन्धान अघि बढाएको हो । युवतीले लिएको चेकसमेत बरामद भएको छ भने पैसा हालिएको खातासमेत रोक्का राखिएको प्रहरी स्रोत बताउँछ । घटनाका एक योजनाकार फरार छन् । पक्राउ परेकालाई आपराधिक लाभ मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ ।

प्रारम्भिक छानबिनमा प्रभागकी इन्स्पेक्टर शाहीको भूमिका शंकास्पद देखिएको छ । सुरुमा शान्ति सुरक्षासम्बन्धी ठाडो निवेदनका नाममा उनले ती व्यापारीलाई थुनामा राखेकी थिइन् । जब कि ठाडो निवेदनका आधारमा थुनामा राख्न पाइँदैन । अर्काेतर्फ लेनदेनको डिलसमेत प्रभागभित्रै भएको देखिने प्रहरी स्रोत बताउँछ । ‘कतिसम्म भने ती व्यापारीको गाडी फिर्ता दिँदासमेत प्रभागका प्रहरीले डेढ लाख लिएको देखिन्छ,’ ललितपुर परिसर अधिकारी भन्छन् । 

घटनामा प्रहरीको समेत मिलेमतो देखिएमा उनीहरूलाई समेत मुद्दा चलाउने प्रहरी तयारी छ । सो समूहले भैँसेपाटी प्रभागको मिलेमतोमा अरूलाई पनि त्यसरी फसाएको आशंका गरिएको छ । बलात्कार मुद्दा भए पनि घटनास्थल सुनसरी भएको र आरोपी भनिएका युवकसमेत भैँसेपाटीको क्षेत्रमा नबस्नेमा किन सोही कार्यालयमा उजुरी दिन लगाएर पक्राउ गरियो भन्ने विषय सबैभन्दा रहस्यमय छ । प्रभागकी इन्स्पेक्टर शाहीले घटनाको विषयमा परिसरलाई समेत जानकारी दिएकी थिइनन् । जब कि परिसरको निर्देशनमा मात्र ठाडो निवेदनमा छलफल गराउने प्रावधान छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी किरण बज्राचार्यले भैँसेपाटी प्रभागमा भएको घटनाबारे आफूले पनि सूचना पाएको र त्यसबारे विस्तृत छानबिन गर्न ललितपुर परिसरलाई निर्देशन दिइएको बताइन् । इन्स्पेक्टर शाहीलाई प्रभागबाट हटाएर प्रहरीको संलग्नताको विषयमा छानबिन समिति बनाउने तयारी भइरहेको प्रहरी स्रोत बताउँछ । 

इन्स्पेक्टर बिनुकुमारी शाही छानबिनमा

भैँसेपाटी प्रभागकी प्रमुख रहेकी इन्स्पेक्टर बिनुकुमारी शाहीमाथि समेत छानबिन अघि बढाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी किरण बज्राचार्यले भैँसेपाटी प्रभागमा भएको घटनाबारे आफूले पनि सूचना पाएको र त्यसबारे विस्तृत छानबिन गर्न ललितपुर परिसरलाई निर्देशन दिइएको बताइन् । इन्स्पेक्टर शाहीलाई प्रभागबाट हटाएर प्रहरीको संलग्नताको विषयमा छानबिन समिति बनाउने तयारी भइरहेको प्रहरी स्रोत बताउँछ ।