१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 06 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:५३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई मनोमानी गर्न उपसभामुखलाई हटाउने खेल स्वीकार्य छैन : प्रभु साह

देशैभरी संविधानको अन्त्येष्टि यात्रा निकाल्ने उद्घोष

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:५३:oo

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले मनोमानी गर्नका लागि उपसभामुख इन्दिरा रानामगरलाई हटाउने षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन्। 

आजपानिकटको आइटी आर्मीले आज काठमाडौंको गौशाला पशुपतिमा आयोजना गरेको काठमाडौं उपत्यकास्तरीय विशेष भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले मनोमानी गर्नका लागि उपसभामुखलाई हटाउने खेल आफूलाई स्वीकार्य नभएको बताए। 

‘महिनौँ पहिलाको घटनालाई जोडेर अहिले आएर उपसभामुखलाई हटाउन खोज्नु हामीलाई स्वीकार्य छैन। जब संवैधानिक परिषदमा बहुमत नपुगेपछि सरकारले पुरानो मुद्दा कोट्याउँदै उपसभामुखलाई हटाउने र मनोमानी गर्ने खेलमा लागेको छ, यो हामीले कदापी स्वीकार गर्दैनौँ,’ आजपा अध्यक्ष साहले भने, ‘यदि उपसभामुखले गल्ती गरेको हो भने उनलाई दण्ड गर्न सकिन्छ। पहिला पालैपालो सरकारमा सहभागी भएको कांग्रेस र एमालेले पहिले यो मुद्दा किन छोड्यो र अहिले आएर किन बोक्यो? मनमौजी गर्न नपाउने भएपछि जे पनि गर्ने?’ 

यस्तै, उनले वर्तमान संविधानको काम नभएकाले खारेज गर्नुपर्ने बताएका छन्। अहिलेको संविधानले मुलुकमा स्थायित्व हुन नसक्ने बताउँदै उनले समृद्धिका लागि संविधान खारेज गर्नुको विकल्प नभएको टिप्पणी गरेका छन्। अहिलेको संविधानले नेपाली जनताको आवश्यकता र चाहना पूरा गर्न नसक्ने बताउँदै उनले यो ‘ककटेल’ संविधान खारेज गर्नुपर्ने बताए। 

‘अहिलेको संविधान ककटेल संविधान हो। यो संविधानले नेपाली जनताको आवश्यकता, चाहना पूरा गर्न सक्दैन। राजनीतिक स्थायित्व, मुलुकलाई समृद्ध बनाउन सक्दैन,’ आजपा अध्यक्ष साहले भने, ‘एउटा गाडीमा होन्डाको टायर, हिरोको ब्रेक, यामाहाको इन्जिन, एफजेडको टन्की, पल्सरको हन्डिल लगाएपछि कस्तो हुन्छ? यो संविधान पनि त्यस्तै छ। यसमा समाजवाद पनि छ, पुँजीवाद पनि छ, तर कामै नलाग्ने, मुलुक र जनतालाई केही दिनै सक्दैन। त्यसैले यसको खारेजको विकल्प छैन।’ 

हालै आजपाको केन्द्रीय कमिटीको बैठक काठमाडौंमा सम्पन्न भएको छ। सम्पन्न सो बैठकले गरेका निर्णय आइटी आर्मीले काठमाडौं उपत्यकामा पूर्ण रूपमा कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने उनले निर्देशन दिए। 

सातै प्रदेशमा असोज ३ गते संविधानको अन्त्येष्टि यात्रा निकाल्ने निर्णय गरेको आजपाले त्यसलाई काठमाडौं उपत्यकामा पनि भव्य रूपमा कार्यान्वयन गर्नुपर्ने गरी तयारीमा जुट्न साहले निर्देशन दिए। काठमाडौं उपत्यकाको तीनवटै काठमाडौं, ललितपुर, भक्तपुर जिल्लामा आजपाले संविधानको अन्त्येष्टि यात्रा निकाल्ने तयारी गर्नुअघि आइटी आर्मीको भेला काठमाडौंमा गरेको हो। 

‘यो संविधान बिग्रेको रेडियो जस्तै छ। राम्रो आवाज पनि आउँदै, घ्यारघ्यार गरिरहन्छ। त्यसैले यसलाई खारेज गर्नुको विकल्प छैन। संविधानको अन्त्येष्टि यात्रा भव्य रूपले गर्ने गरी तयारीमा तपाईंहरू लाग्नुस्,’ आजपा अध्यक्ष साहले भने। 

मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, बेथिति बढ्दै गइरहेको र सरकारको नेतृत्वसहित सरकारमा भ्रष्टहरूको बाहुल्यता रहेको र त्यसलाई रोक्दै आन्दोलनमा जानुको विकल्प नभएको पार्टीको निर्णयलाई कार्यान्वयन गर्न पार्टीका विभिन्न जनवर्गीय संगठनका साथै पार्टीका कमिटीहरू अहिले भेला, पुनर्गठन, गठन गर्दै अगाडि बढेको छ। 

आजपाले ३ असोजमा सातै प्रदेशमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने, धोखेबाज दलहरूसँग भोट फिर्ता माग्ने कार्यलाई अभियानको रूपमा अगाडि बढाउने, भ्रष्ट शासकहरूलाई कर बहिष्कार गर्ने, भगौडा दलालहरूको सम्पत्ति कब्जा गरेर राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकारबाही गर्ने तथा काठमाडौंमा जारी वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउने संघर्ष र कबाड आन्दोलनलाई थप व्यवस्थित गर्दै तेस्रो जनआन्दोलनको मजबुत आधार खडा गरी सफलताको दिशामा अगाडि बढाउने निर्णय गरेको छ।