१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २३ मंगलबार
  • Tuesday, 06 May, 2025
२o८२ बैशाख २३ मंगलबार ११:२२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

गुठीचौरका पाँच गाउँबस्ती बिजुलीविहीन

नापानी, गढिगाऊँ, मणिसाँघु, डिल्लीकोट र मनिगाउँका ४८० घरधरीका नागरिक अन्धकारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २३ मंगलबार ११:२२:oo

गुठीचौर गाउँपालिका– १ का पाँचवटा गाउँबस्तीका स्थानीय बिजुलीविहीन भएका छन् । नापानीमा रहेको अदालीखोला लघु जलविद्युत् आयोजनाको जेनेरेटर र ट्रान्समिटरमा समस्या आउँदा नागरिक बिजुलीविहीन भएका हुन् ।  १ नम्बर वडामा पर्ने नापानी, गढीगाउँ, मणिसाँघु, डिल्लीकोट र मनिगाउँका ४८० घरधरीका नागरिक अन्धकारमा बस्न बाध्य छन्।

गएको फागुनदेखि ५५ किलोवाटको लघु लजविद्युत् आयोजनाको जेनेरेटर र ट्रान्समिटरमा समस्या आउँदा पाँचवटा गाउँबस्तीका नागरिक अन्धकारमा बस्नुपरेको खड्कदेवी मावि मणिसाँघुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परेक ऐडीले बताए । उनका अनुसार गाउँबस्ती तीन महिनादेखि बिजुलीविहीन हुँदा यहाँका बालबालिकाको पठनपाठन प्रभावित भएको छ । 

‘गाउँमा बिजुली नहुँदा सर्वसाधारणको दैनिकी असहज मात्रै भएको छैन,’ उनले भने, ‘बालबालिकाको पठनपाठन पनि प्रभावित बनेको छ।’ गाउँका स्थानीय दियालो र टुकीको भरमा गुजारा गरिरहेको ऐडीले गुनासो गरेका छन्। छिमेकी गाउँ चोत्रामा बिजुलीले उज्यालो हुँदा वडा नम्बर १ भित्रकै अन्य गाउँ अन्धकारमय रहेको उनको भनाइ छ । गाउँमा बिजुली नहुँदा मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ ।  

गाउँमा बिजुली उत्पादन हुने आयोजना छ । तर, समयमा मर्मतसम्भार नहुँदा स्थानीय नागरिक बत्तीमुनिको अँध्यारोमा बस्न बाध्य भएको अर्का स्थानीय गणेश ऐडीले बताए । उनले भने, ‘गाउँमा आयस्रोत राम्रो हुनेले सोलार प्यानल जडान गरे पनि धेरैजसो टुकीकै भरमा रात काटिरहेका छन् । अदालीखोला लघु जलविद्युत् आयोजनाका सचिव कालीप्रसाद बस्नेतले बिग्रेको जेनेरेटर र ट्रान्समिटर आर्थिक अभावले मर्मत हुन नसकेको बताए ।

उनले भने, ‘२०७५ सालमा निर्माण भएको जलविद्युत् आयोजनाको जेनेरेटर र ट्रान्समिटर गत फागुनमा बिग्रिएको हो ।’ लघु जलविद्युत् अवरुद्ध हुँदा पाँच गाउँबस्तीका नागरिक विजुलीविहीन भएका छन् । बिजुलीबाट संकलन भएको महसुलले दुईजना अपरेटर र लेखापालको सेवा सुविधामा खर्च हुने गरेको बस्नेतले बताए । स्थानीय सरकारले जेनेरेटर र ट्रान्समिटर मर्मत गर्ने आश्वासन दिए पनि पूरा नभएको उनको भनाइ छ। जेनेरेटर मर्मत गर्न करिब सात लाखभन्दा बढी रकम लाग्ने सचिव बस्नेतले बताए।

वडाध्यक्ष अर्जुनकुमार महताराले लघु जलविद्युत् निर्माणका लागि स्थानीय सरकारले तीन लाख विनियोजन गरेको बताए। साढे दुई लाख खर्च भइसकेको उनको भनाइ छ । यस्तै, नहर मर्मतका लागि १२ लाख रकम व्यवस्थापन गरिएको वडाध्यक्ष महताराले बताए। उक्त जलविद्युत् मर्मतका लागि विनियोजन गरिएको सात लाखमध्ये अहिले स्थानीय सरकारले रकम घटाएर तीन लाख मात्रै विनियोजन गरेकोले समस्या भएको वडाध्यक्ष महताराले बताए ।