श्रीमानसँगको सम्बन्धमा खटपट आएपछि थानकोटमा आफैँले बनाएको घर छाडेर डेरामा बसिरहेकी छिन् अनिता अधिकारी। फोटो स्टुडियोको कमाइ र ऋणधन गरेर उनले पढ्नका लागि तीन वर्षअघि छोरीलाई अमेरिका पठाएकी थिइन्।
बुढेसकालको सहारा गुमाएपछि अनितालाई अहिले निकै ठूलो बज्र परेको छ। काँडाघारीस्थित भाडाको निवासमा बुधबार आफन्तहरूको लस्कर थियो। सान्तवना दिन आएका आफन्तहरूमाझ भक्कानिँदै उनले सर्वस्व गुमाएको वेदना सुनाइन्। न्यायका लागि सहजीकरणका निम्ति उनले अपिल गरिन् ।
चार दिन भएको थियो आमा–छोरीको कुरा नभएको । अक्सर नियमित कुराकानी हुने र कहिलेकाहीँ काममा व्यस्त हुँदा आमा–छोरीबीच तीन–चार दिनसम्म कुरा नहुनु यसअघिसम्म सामान्य नै थियो। यसपटक भने परिस्थिति सामान्य रहेन । चार दिनसम्म कुराकानी नहुँदा आमा अनिता आत्तिएकी थिइन् । उनले छोरीलाई अफलाइन म्यासेज छोडेकी थिइन्। म्यासेजको कुनै रिप्लाई आएन।
‘यसपटक चार दिनसम्म कुराकानी भएन। छोरी काममा व्यस्त भएर होला भन्ने मनमा परेका थियो। मैले अफलाइन म्यासेज छोडेकी थिएँ । छोरीको कुनै रिप्लाई आएन,’ अनिताले कुराकानीको क्रममा नयाँ पत्रिकासँग भनिन्।
छोरीको जवाफ कुरिरहेकी आमालाई मुनाले संसार छोडेको सन्देश प्राप्त भयो । ‘चार दिनपछि मलाई छोरीकी साथीले मुनाको गोली प्रहारबाट हत्या भएको खबर सुनाइन्,’ अनिताले भनिन् ।
श्रीमानसँगको सम्बन्ध राम्रो नभएपछि अनिता छोरी लिएर छुट्टै बसेकी थिइन् । पाँच कक्षासम्म काठमाडौंमा छोरी पढाएकी अनिताले पछि मुनालाई माइत लगेर पढाइन् । ‘छोरीले यस्तो झगडामा म पढ्न सक्दिनँ भनेपछि मैले १२ कक्षासम्म इटहरीमा राखेर पढाएँ,’ अनिताले भनिन्।
प्लस टुपछि मुना पढ्नका लागि अमेरिका पुगिन् । अमेरिकामा नर्सिङ अध्ययनरत थिइन् मुना। तीन वर्षको पढाइ पार गरिसकेकी थिइन्। एक वर्ष मात्रै पढाइ बाँकी थियो । अब छिट्टै आफूहरूको सुखका दिन आउँदै छन् भनेर मुनाले आमालाई ढाडस दिन्थिन्।
तर, अमेरिकाको टेक्ससस्थित हुस्टनको एक अपार्टमेन्टमा उनको गोली हानेर हत्या भएको छ। हत्या कसले गर्याे भन्ने हालसम्म खुलेको छैन। अनिताको एक मात्रै सहारा गुमेको छ। सहारा गुमाएकी अनिताले न्यायको याचना गरिरहेकी छिन् । ‘अब त हाम्रो सुखको दिन आउँछ मम्मी । एक वर्ष मात्रै पढाइ बाँकी छ । तपाईं नआत्तिनु भनेर मलाई भरोसा दिन्थी । हाम्रो झांगिँदै गएको खुसी र मेरो एक मात्र सहारा खोसियो,’ भक्कानिँदै अनिताले भनिन्।
अनिता छोरीको मुख हेर्न र हत्यारा पत्ता लगाउन दबाब दिन घटनास्थल पुग्न चाहन्छिन्। ‘यत्रो कष्टबीच म छोरीकै मुख हेरेर बाँचेकी थिएँ । अब अन्तिमपटक उसको मुख हेर्न चाहन्छु र न्यायका लागि दबाब दिन पनि म घटनास्थलमा पुग्न चाहन्छु,’ उनले भनिन्।
यो वातावरणका निम्ति उनले नेपाल सरकार, अमेरिकी दूतावास तथा अमेरिकी संघसंस्थाबाट सहजीकरणको अपेक्षा राखेकी छिन्। ‘मैले मेरो एक मात्रै छोरी गुमाएँ। छोरीको हत्यारा दण्डित हुँदा मात्रै न्याय प्राप्ति हुन्छ। यसका लागि आवश्यक सहजीकरणका लागि म सबैसँग अनुरोध गर्दछु,’ अनिताले भनिन्।