Skip This
ज्येष्ठ नागरिकका लागि घरदैलो अभियानमार्फत सहयोग संकलन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ५ बुधबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ ५ बुधबार १४:o२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ज्येष्ठ नागरिकका लागि घरदैलो अभियानमार्फत सहयोग संकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ५ बुधबार १४:o२:oo

कामको अनुभव, ज्ञान र सीप हुँदाहुँदै प्रायः बुढ्यौलीको कारणले पारिवारिक अलगाव, हेलचेक्र्याइँ, अपमानको सामना गरिरहेका ज्येष्ठ नागरिकहरूका लागि सिराहाको धनगढीमाई नगरपालिका– २ भवानीपुर गाउँमा बुढ्यौली समाज जनसहयोग अभियान सञ्चालन गरिएको छ।

सामाजिक क्षेत्रमा लामो समय काम गरी पछिल्लो केही वर्षदेखि अमेरिका बस्दै आएका स्थानीय रामजी साहले ज्येष्ठ नागरिकहरूको स्वास्थ्याेपचार, पोषणसहित हेरचाहका लागि आफ्नो जन्मथलोबाट अभियान सुरु गरेका हुन्।

‘गाउँ फर्किँदा ज्येष्ठ नागरिकहरूको अवस्था देखेपछि त्यसलाई सुधार्न अभियान थालिएको हो,’ उनले भने, ‘काम, अनुभव र विज्ञताको हिसाबले अमूल्य निधिको रूपमा रहेका ज्येष्ठ नागरिकका लागि गरिने कामले सम्मान पनि हुने र समाजको विकासले पनि गति लिन सक्छ।’

एक लाखभन्दा बढी संकलन, उपचारमा सहयोग
समाजका मूल्यवान ज्येष्ठ नागरिकहरूको जीवनमा वास्तविक परिवर्तन ल्याउन र मर्यादासहित बाँच्ने वातावरण बनाउन अभियान थालिएको उनले बताए। उनका अनुसार अभियानअन्तर्गत गत असारमा धनगढीमाई– २ भवानीपुर गाउँमा सञ्चालन गरिएको घरदैलो कार्यक्रममा १८६ घरबाट ६ हजार ९५५, स्वयंकाे प्रतिपरिवार पाँच रुपैयाँको दरले ९३०, अनलाइन तथा अफलाइनमार्फत ४६ हजार ७८५ तथा स्थानीय जनप्रतिनिधि, राजनतिकर्मीमार्फत ६ हजार ३० गरी ६० हजार सात सय रुपैयाँ संकलन भएको छ।

त्यस्तै, साउन महिनामा तीन सय घरधुरीबाट संकलित १४ हजार ७७५, प्रतिघरधुरी अनुदान पाँच रुपैयाँका दरले एक हजार पाँच सय र अनलाइन–अफलाइनमार्फत २६ हजार १०५ गरी ४२ हजार तीन सय ५० रुपैयाँ संकलन भएको छ। उक्त रकम ६० वर्षमाथिका कुनै पनि ज्येष्ठ नागरिकलाई उपचारका लागि अस्पताल लैजानुपरे शतप्रतिशत एम्बुलेन्स खर्च र आर्थिक अवस्थाको आधारमा उपचारका लागि सहयोग उपलब्ध गराइने योजना रहेको उनले बताए।

ज्येष्ठ नागरिकको लगत लिइँदै
व्यक्तिगत पहलमा उनले गत ८ असारमा भवानीपुरमा ज्येष्ठ नागरिक, तिनका लागि गर्नुपर्ने काम र स्थानीय अगुवाहरूको भूमिकाको विषयमा अभिमुखीकरणसहित ह्विलचेयर वितरणमा सहभागी भएका नेपाली कांग्रेसका जिल्ला सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादव, लक्ष्मीपुरपतारी गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुर, वडाध्यक्ष रामचन्द्र चौधरीसहित १४ जनाले बुढ्यौली समाजका लागि आर्थिक सहयोग गरेपछि अभियान थालिएको हो।

जनसहयोग अभियानसँगै पहिलो चरणमा वडा नं. २ अन्तर्गत पर्ने गाउँबस्तीमा ६० देखि ९० र त्यसभन्दा माथिका ज्येष्ठ नागरिकहरूको लगत संकलन भइरहेको जानकारी दिँदै उनले भने, ‘लगत संकलनपछि विश्लेषण गरी त्यसको आधारमा श्वासप्रश्वास, घुँडा, ढाड दुख्ने, अन्य समस्या भएकाहरूको उपचार र पोषणमा सहयोग गर्छौँ।’ अभियानको क्रममा ३६ महिनासम्म भवानीपुर गाउँ क्षेत्रबाट हरेक महिना सहयोग संकलन गरिने, त्यसरी संकलन गरिएको रकममा हरेक घरधुरीका लागि आफूले व्यक्तिगत रूपमा हरेक महिना पाँच रुपैयाँको दरले दिने अनुदानसहित ज्येष्ठ नागरिक कोष बनाइने योजना रहेको उनले बताए।

‘त्यसमा ज्येष्ठ नागरिकका लागि स्वदेश र विदेशबाट सहृदयीहरूले दिने सहयोग रकमसमेत जम्मा गरेपछि ज्येष्ठ नागरिकका लागि काम गर्ने योजना छ,’ उनले भने । अभियानको पारदर्शिताका लागि हरेक महिनाको आय–व्ययसहित माइन्युट, एक हजार रुपैयाँमाथि सहयोग गर्नेको तस्बिरसहितको नाम, रकम र त्यसमुनि सहयोग गर्नेको रकमसहित नामसमेत वेबसाइटमा प्रकाशन गरिएको उनले बताए।