ड्युटीमा खटिएका नेपाल प्रहरीका हवल्दारलाई जबर्जस्ती गाडीमा राखेर भाग्नेविरुद्ध अपहरण मुद्दामा अनुसन्धान अघि बढेको छ। सिन्धुलीको सडकमा खटिएका ट्राफिक प्रहरीका सहायक हवल्दार सन्दीपनारायण दासको अपहरण भएको हो।
गत १२ साउनमा उनी कमलामाई नगरपालिका– ४ स्थित हिरापानी चेकपोस्टमा मापसे चेकजाँचमा खटिएका थिए। उनले बिआर २२ एपी ७३२१ नम्बरको भारतीय कार मापसे जाँचका लागि रोकेका थिए। चेकजाँचको क्रममा विवाद भएपछि गाडीमा रहेका भारतीयले सहायक हवल्दार दासलाई जबर्जस्ती गाडीमा राखेर भागेका थिए।
पछि सँगै डिउटीमा रहेका अन्य प्रहरीले मोटरसाइकलमा पछ्याएर करिब तीन सय मिटर टाढा सो गाडी रोकी दासको उद्धार गरेका थिए। गाडीमा रहेका पाँचैजनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा कारबाही अघि बढाइएको सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए।
पक्राउ पर्नेहरू बिहारको सीतामढीका बासिन्दाहरू छन्। उनीहरू नेपालमा धार्मिक भ्रमणमा आएका थिए। मदिरा पिएर उनीहरूले गाडी चलाएको प्रहरीले जनाएको छ।