मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण २० आइतबार
  • Wednesday, 15 January, 2025
रासस चितवन
२o८१ श्रावण २० आइतबार ११:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मान्छेलाई आक्रमण गर्ने बाघ खोज्न ड्रोन र हात्तीको प्रयोग गरिँदै

Read Time : > 1 मिनेट
रासस, चितवन
नयाँ पत्रिका
२o८१ श्रावण २० आइतबार ११:५९:oo

मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी गरिएको छ। आज बिहान नारायणगढस्थित मानवबस्तीनजिक नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघलाई नियन्त्रण गर्ने तयारी गरिएको हो।

जिल्ला वन कार्यालय चितवनका प्रमुख थिरबहादुर कार्कीका अनुसार नारायणी किनारमा रहेको झाडीमा बाघ लुकेको आशंका गरिएको छ। उक्त बाघ खोजी गर्नका लागि ड्रोन क्यामराबाट हेर्ने तयारीसहित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट ड्रोन मगाइएको उनले जानकारी दिए। उनका अनुसार ड्रोनले बाघ पहिचान गरेपछि हात्तीको सहायताले डार्ट (बेहोस) गर्ने योजना छ।

नारायणीकिनारमा नदीमा मिसिनुअघि ढललाई प्रशोधन गर्न बनाइएको ट्यांक क्षेत्रको नर्कट झाडीमा बाघ रहेको अनुमान गरिएको प्रमुख कार्कीले जानकारी दिए। सो क्षेत्रमा एकातर्फ मानवबस्ती छ भने अर्कोतर्फ नारायणी नदी पर्दछ।

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ भेटेनरी चिकित्सक डा. विजयकुमार श्रेष्ठले कसराबाट ड्रोन र तीनवटा हात्ती आउँदै गरेको बताए। उनका अनुसार सुरुमा ड्रोनबाट पहिचान गरेर बाघ देखिएमा डार्ट गर्ने तयारी गरिएको छ। सो क्षेत्रमा मानव आवतजावत गर्न रोकिएको छ। पाइलालाई हेर्दा माउबाट भर्खरै छुटेर सिकार गर्न सुरु गरेको बाघ हुन सक्ने चिकित्सक श्रेष्ठले जानकारी दिए।

‘बाघ कहाँबाट आयो यकिन हुन सकेको छैन । यद्यपि, नगर वन क्षेत्रबाट आएको हुन सक्ने आशंका गरिएको छ,’ उनले भने।

आज बिहान हिँड्ने क्रममा भरतपुर महानगरपालिका– २ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको थियो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ५ः२० बजे बिहान भरतपुर– १ नारायणी किनारमा बाघले श्रेष्ठलाई आक्रमण गरेको हो।

बाघको आक्रमणबाट घाइते भएका श्रेष्ठको तीन ठाउँमा हड्डी भाँचिएको छ भने पाँचवटा दाँत फुत्केर घाँटीमा पुगेका छन्। चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए।

उनका अनुसार श्रेष्ठको पाँचवटा कृत्रिम दाँत फुत्केर घाँटीमा गएर अड्किएको थियो। बाघको आक्रमणबाट दाहिने हातको हत्केला र नाडीको हड्डी भाँचिएका छन्। यस्तै, दाहिने कुहिनाको नजिकको (केल्भिकल) हड्डीसमेत भाँचिएको छ।

श्रेष्ठको स्वास्थ्यावस्था खतरामुक्त रहेको डा. लम्सालले जानकारी दिए। श्रेष्ठको अहिले शल्यक्रिया गर्ने तयारी गरिएको बताउँदै घाँटीमा पुगेका दाँत खोक्दा बाहिर निस्किएका उनले जानकारी दिए।