मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ श्रावण ७ सोमबार
  • Monday, 14 July, 2025
२o८१ श्रावण ७ सोमबार २o:२o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वराज्यमन्त्री राय हत्याः घटनास्थलनजिकबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण ७ सोमबार २o:२o:oo

सर्लाही प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घटनास्थलनजिकैबाट घरेलु हतियार बरामद गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट ५० मिटर उत्तर–पश्चिम बाँसको झाङबाट घरेलु हतियार ‘फरसा’ बरामद भएको हो। 

रगत लत्पतिएको अवस्थामा फेला परेको उक्त हतियार पूर्वराज्यमन्त्री रायको हत्यामा प्रयोग भएको हुन सक्ने प्रहरीको आशंका छ। घटनामा संलग्नहरूको पहिचान हुन बाँकी रहेकाले फेला परेको हतियारका विषयमा अनुसन्धान भइरहको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।

‘फरसा भन्ने घरेलु हतियार घटनास्थलनजिकैबाट फेला परेको छ,’ उनले भने, ‘यस विषयमा अनुसन्धान गरिरहेका छौँ। सोही हतियार घटनामा प्रयोग भएको आशंका छ।’

मलंगवा नगरपालिका–४, पुर्ख्र्यौली घर भएका ८० वर्षका पूर्वराज्यमन्त्री रामचन्द्र रायको चन्द्रनगर गाउँपालिका–१ स्थित खेतसँगैको घर (फार्म हाउस) मा गएराति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। उनको शव सुतेकै ओछ्यानमा फेला परेको थियो। 

रायसँगै सहयोगीका रूपमा बसेका युवकको बयानअनुसार हत्या भएको राति रायलाई भेट्न तीनजना अपरिचित व्यक्ति उनी बसेकै स्थानमा आएका थिए। उनीहरूले रायसँग जग्गाको विवाद मिलाइदिन भनेको खुलेको छ। 

रायले आफू सुत्ने कोठामै सुताएका उनीहरू परिचित रहेको प्रहरीको आशंका छ। घटनालगत्तै प्रहरीले तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान सुरु गरेको थियो। 

राय राप्रपाबाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्रीमा नियुक्त भएका थिए। उनको दुई छोरा र पाँच छोरी छन्। परिवारसँगै काठमाडौं बस्दै आएका उनी केही दिनपहिला मात्र धान रोपाइँ गर्न सर्लाही आएको परिवारले जनाएको छ। 

रायको चन्द्रनगर गाउँपालिका– १ मा ठूलो क्षेत्रफलमा खेती रहेका कारण वेला-वेला उनी खेत हेर्न आउने–जाने गरेको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाही र मधेश प्रदेश प्रहरी कार्यालयको टोली अहिले पनि सूक्ष्म अनुसन्धानमा जुटिरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। रायको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। (रासस)