१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ७ सोमबार
  • Wednesday, 16 October, 2024
प्रियांक केसी
२o८१ श्रावण ७ सोमबार १o:o१:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

एआईले बदलिरहेको औद्योगिक क्षेत्रको भविष्य

Read Time : > 3 मिनेट
प्रियांक केसी
नयाँ पत्रिका
२o८१ श्रावण ७ सोमबार १o:o१:oo

नयाँ–नयाँ प्रविधिको प्रयोगमा सधैँ औद्योगिक क्षेत्र अग्रणी स्थानमा रहन्छ । विश्वमा औद्योगिक क्रान्तिदेखि हालको डिजिटल क्रान्तिसम्म, उद्योगहरूले नवीनतम प्रविधि अपनाउँदै आएका छन् । आजको युगमा, कृत्रिम बौद्धिकता (एआई) एउटा प्रमुख प्रविधि हो, जसले उद्योगको भविष्य बदलिरहेको छ । औद्योगिक क्षेत्रमा एआई प्रयोगको उत्कृष्ट नमुनामध्ये स्वास्थ्य क्षेत्रमा प्रयोगमा आउने मेसिन र उपकरण, अटोनोमस सवारीसाधन र विद्युतीय पूर्वाधारको स्तरोन्नति प्रमुख हुन् । कोभिड महामारीपश्चात् एआई मेडिकल इमेजिङ उपकरण, निदान र औषधिमा भइरहेको खोजजस्ता क्षेत्रमा बलियो बन्दै गएको छ । 

खासगरी, औद्योगिक क्षेत्रमा भइरहेको एआई प्रयोगको मुख्य उपलब्धि उत्पादन प्रक्रियामा उल्लेखनीय सुधार ल्याउनु हो । एआईमार्फत स्वचालन र रोबोटिक्सका माध्यमबाट विभिन्न उत्पादन प्रणालीलाई अझ बढी सक्षम बनाइरहेको छ । स्वचालित रोबोटले उत्पादन प्रक्रियामा मानवीय हस्तक्षेपविनै उच्चस्तरको सटिकता र गति प्रदान गर्न सक्छन् । उदाहरणका लागि अटोमोटिभ उद्योगमा, रोबोटले गाडीको एसेम्बल लाइनमा जटिल कार्य छोटो र द्रुत रूपमा सम्पन्न गरिरहेका छन् । विश्व बजारमा इलेक्ट्रोनिक सवारीसाधनमा आइरहेको परिवर्तन नै रोबोटिक्सलाई अपनाएर उत्पादनको दक्षता र गुणस्तरमा उल्लेखनीय सुधारको बलियो उदाहरण मान्न सकिन्छ । 

एआईको प्रयोगबाट आइरहेको अर्को बलियो पक्ष गुणस्तर नियन्त्रण पनि हो । एआई आधारित ‘भिजुअल इन्स्पेक्सन’ प्रणालीले उत्पादनमा त्रुटि पत्ता लगाउन र हटाउन मद्दत गर्छ । यसले उत्पादनको गुणस्तरमा सुधार ल्याउँछ । उदाहरणका लागि इलेक्ट्रोनिक्स उद्योगमा एआईले माइक्रोचिपको दोष पत्ता लगाउन र निर्माण प्रक्रियामा उच्च गुणस्तर कायम राख्न मद्दत गरिरहेको छ । यसबाहेक, यसले भविष्यमा आउन सक्ने चुनौतीको पूर्वानुमान विश्लेषण गरेर उत्पादन क्षमतामा ह्रास आउन दिँदैन ।

शैक्षिक भ्रमणको क्रममा पछिल्लो साता चीनको हाङ्जाउमा रहेको सुपकोन टेक्नोलोजी घुम्ने अवसर मिल्यो। जुन एआईमार्फत् कम्पनीले औद्योगिक स्वचालनको भविष्य तयार कसरी निर्माण भइरहेको छ र यसबाट कसरी फाइदा लिन सकिन्छ भन्ने उदारहण बनेको छ।

एआई प्रयोग गरेर प्रविधिको मद्दतले उपकरणको विफलताको भविष्यवाणी गर्न सक्ने र प्रक्रियाहरूलाई अनुकूलन गराउने, साथै समय र स्रोतहरूको समेत बचत गर्न सक्ने विषयमा सुपकोनले नयाँ परीक्षण गरिरहेको थियो। अर्थात्, उपकरणमा जडान गरिएको एआईले उत्पादन वा निर्माण प्रक्रियामा सम्भावित समस्या पत्ता लगाउने, अपरेटरहरूलाई रियल–टाइमको सल्लाह सुझाव दिइरहेको प्रत्यक्ष रुपमा हेर्ने मौका पाइयो। सुपकोनले गरिरहेको नयाँ अभ्यासले मानव र एआईबीचको सहकार्यमा उत्पादनमा सहजताका साथै समस्या समाधानसमेत सजिलै हुने भएकाले औद्योगिक क्षेत्रको नयाँ परिभाषा नै स्थापित भइरहेको भान भयो।

एआईले स्वचालित वितरण प्रणालीलाई जसरी सक्षम बनाउँदै लगेको छ, त्यसमा प्रविधिको उच्चतम प्रयोग त भएको छ नै, साथै मानिसको सोच्ने र व्यवस्थापकीय शैलीमा समेत परिर्वतन गर्दै लगेको देखिन्छ । वितरणका लागि उच्च माग भएका अमेजन वा अलिबाबाजस्ता कम्पनीले गरिरहेको ड्रोन डेलिभरी सेवालाई लिन सकिन्छ । यस्ता प्रविधिले ग्राहकलाई छिटो डेलिभरी सेवा प्रदान गरिरहेका छन् । 

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अब एक ‘बजवर्ड’ मात्र नभई विश्वभरका उद्योगमा आविष्कार गर्ने परिवर्तनकारी शक्तिका रूपमा उदय भइरहेको छ

परम्परागत कार्यशैलीमा छोटो समयमै व्यापक परिवर्तन आइरहेको छ । जसका कारण आममानिसमा एआईकै कारण रोजगारी गुम्ने डर बढ्दै गएको देखिन्छ । तर, विकसित मुलुकमा यसको प्रयोग ठ्याक्कै उल्टो रूपमा भइरहेको देखिन्छ । एआईले बदलिँदो कामको वातावरणसँगै कर्मचारी प्रशिक्षण पनि दिन थालेको छ ।

एआईले ‘भर्चुअल रियालिटी’ र ‘अर्गुमेन्टेड रियालिटी’का माध्यमबाट कर्मचारीलाई तालिम दिइरहेको छ । यसको उद्देश्य नयाँ सीप सिक्न र कार्यक्षेत्रमा प्रभावकारी रूपमा काम गर्न सक्षम बनाउनु हो । उदाहरणका लागि, निर्माण उद्योगमा भर्चुअल रियालिटी तालिम कार्यक्रमले कर्मचारीलाई सुरक्षित र दक्षतापूर्वक काम गर्ने सीप सिकाइन्छ । डाटा चोरी र असुरक्षा अहिलेको समयको ठूलो चुनौती मानिन्छ । तर, एआईले सोही डाटालाई सही विश्लेषण गरेर निर्णयमा सजिलै पुग्न सक्ने वातावरण सिर्जना गरिरहँदा अबको भविष्य कसरी परिवर्तित हुँदै छ भन्ने पुष्टि गर्छ । जस्तै, एआईका माध्यमबाट ठूलो मात्रामा डेटा विश्लेषण गरेर कम्पनीलाई रणनीतिक निर्णय लिन सक्षम बनाइरहेको छ । 

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अब एक बजवर्ड मात्र नभई विश्वभरका उद्योगमा आविष्कार गर्ने परिवर्तनकारी शक्तिका रूपमा उदय भइरहेको तथ्य नकार्न सकिँदैन । एआईको प्रयोगले मानव जीवनलाई सहज, सुरक्षित र उत्पादक बनाइरहेको छ । कम्प्युटर र मेसिनलाई मानिसजस्तो सोच्ने, बुझ्ने र निर्णय लिने क्षमता प्रदान गर्ने प्रविधि विकाससँगै स्वास्थ्य सेवा, शिक्षा, व्यापार, यातायात र मनोरञ्जनजस्ता विभिन्न क्षेत्रमा एआईको व्यापक प्रयोग हुन थालेको छ ।

जसले बिरामीको निदान र उपचार योजना बनाउने, अनलाइन शिक्षणमा व्यक्तिगत शिक्षा योजना बनाउने, ग्राहक सेवामा च्याटबोटहरू चलाउने, स्वचालित कारहरू व्यवस्थापन गर्ने, चलचित्र र संगीत सिफारिस गर्नेजस्ता काम सहज बनाइदिन्छ । जसको उद्देश्य छिटो र सही निर्णय, दोहोरो कामको कमी र खर्च घटाउनु हो । एआईको बढ्दो प्रयोगसँगै जागिर गुम्ने डर, डाटाको गोपनीयता र सुरक्षा तथा नैतिक सबालजस्ता चुनौती पनि छन् । तर, एआईको सही रूपमा उपयोग गर्दा मानव जीवनलाई अझ सहज, सुरक्षित र समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । 

नेपालजस्तो विकासशील देशमा औद्योगिक क्षेत्रमा एआईको प्रयोगले ठूलो फड्को मार्न सक्छ । जसका लागि कृषि महत्वपूर्ण थलो हो । नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको ठूलो योगदान छ । एआईको प्रयोगले कृषिमा उत्पादन बढाउन, कीटनाशक प्रयोगको निगरानी गर्न र मौसमको पूर्वानुमान गर्न मद्दत गर्न सक्छ । उदाहरणका लागि, स्मार्ट ड्रोन र एआई आधारित निगरानी प्रणालीले किसानलाई खेतीको स्थितिबारे वास्तविक जानकारी दिन सक्छन् । 

यसबाहेक, ऊर्जा अर्थात् जलविद्युत् प्लान्टको कार्यक्षमता सुधार गर्न, ऊर्जा उत्पादनको पूर्वानुमान गर्न र मर्मतसम्भार व्यवस्थापन गर्नमा समेत एआईको सहायता लिन सकिन्छ । उदाहरणका लागि, एआईले पानीको प्रवाहको पूर्वानुमान गरेर जलाशयको प्रभावकारी व्यवस्थापन गर्न सक्छ । यसबाहेक, स्वास्थ्य र पर्यटनका क्षेत्रमा समेत एआईको प्रयोगले नेपालको भविष्य कोर्न सक्ने निश्चित छ । स्वास्थ्य क्षेत्रमा एआईको प्रयोगले ग्रामीण र दुर्गम क्षेत्रका जनतामाझ गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन मद्दत गर्न सक्छ । एआई आधारित टेलिमेडिसिन सेवाले चिकित्सक र बिरामीबीचको दूरी कम गर्न सक्छन् र स्वास्थ्य सेवा पहुँचयोग्य बनाउन सक्छन् । 

कृत्रिम बौद्धिकताको प्रयोगले औद्योगिक क्षेत्रलाई एक नयाँ युगमा प्रवेश गराउँदै छ । स्वचालन, डेटा विश्लेषण र पूर्वानुमान क्षमताले उद्योगलाई अधिक कुशल, सुरक्षित र प्रतिस्पर्धी बनाइरहेको छ । नेपालमा पनि, एआईको सही उपयोगले विभिन्न क्षेत्रमा उल्लेखनीय सुधार ल्याई देशको समग्र विकासमा योगदान पुर्‍याउन सक्छ ।

(केसी जेज्याङ् युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा अध्ययनरत छन् ।)