Skip This
कटानको उच्च जोखिममा १८ नम्बर पिल्लरस्थित नेपाली बस्ती
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार २९ शनिबार
  • Wednesday, 12 August, 2026
मोहन विष्ट कञ्चनपुर
२o८१ असार २९ शनिबार १८:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कटानको उच्च जोखिममा १८ नम्बर पिल्लरस्थित नेपाली बस्ती

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ असार २९ शनिबार १८:१२:oo

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० स्थित नेपाली सीमावर्ती बस्ती विपद्को उच्च जोखिममा परेको छ। लगातारको भीषण वर्षापछि जगबुढा नदीमा आएको बाढीका कारण दोधारा चाँदनीस्थित १८ नम्बर सीमा बस्ती कटानीको उच्च जोखिममा परेको हो।

दोधारा चाँदनीका स्थानीय पप्पु गुरुङले जगबुढा नदीले बस्तीतिरै कटानी भइरहेको बताए। ‘नदीपारी रहेको सीमावर्ती १८ नम्बर नेपाली बस्ती जोड्ने झोलुंगे पुलदेखि नै कटानी गरेको छ,’ उनले भने, ‘बस्तीतिरै कटानीले सिंगै नेपाली बस्ती जोखिममा परेको छ।’ सात घरधुरी नेपाली रहेको उक्त बस्तीमा जानका लागि शान्ति टोलदेखि पारी बस्तीमा झोलुंगे पुल निर्माण गरिएको छ। झोलुंगे पुलसमेत क्षतिग्रस्त भएको उनले बताए।

बाढीले झोलुंगेपुलमा समेत क्षति पुगेपछि उक्त नेपाली बस्तीको नेपालतर्फ सम्पर्कविच्छेद हुने सम्भावना बढेको छ। नगरपालिका आउने एक मात्रै विकल्प एउटा झोलुंगे पुल मात्रै हो। उक्त पुल नै जोखिममा परेकाले सो नेपाली बस्तीका स्थानीयलाई दैनिक कामकाजदेखि विद्यार्थीलाई विद्यालय आउनसमेत समस्या भएको छ।

दोधारा चाँदनी नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख रघुनाथ भट्टले वर्षाले बस्तीसम्मै पुगेको पानीको सतह घट्दै गएपछि बस्ती कटान बढिरहेको बताए। उनका अनुसार महाकाली र जगबुढा नदीबाट दोधारा चाँदनीमा भएको क्षतिको विवरण संकलन भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागको रेकर्डअनुसार यस वर्ष २३ र २४ असारमा दोधारा चाँदनीमा ६२४  मिलिलिटर वर्षा भएको छ।