मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २९ शनिबार
  • Saturday, 15 March, 2025
२o८१ असार २९ शनिबार १७:१८:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

विवादपछि बजेट पारित गर्न बोलाइएको धनगढीमाईको नगरसभा स्थगित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २९ शनिबार १७:१८:oo

सिराहाको धनगढीमाई नगरपालिकाको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट तथा कार्यक्रम पारित गर्न बोलाइएको १२औँ नगरसभा विवादपछि स्थगित भएको छ। वडाध्यक्षहरूले चालू आवको योजना तथा कार्यक्रमबाट अल्या (अन्यत्रबाट ल्याइएको) भई आएको रकम वडास्तरमै भएका विकास निर्माणका बक्यौता भुक्तानी सुनिश्चितताको माग गरेपछि नगरसभामा विवाद भएको हो।

असन्तुष्ट वडाध्यक्षहरूले काम गरेकाहरूको भुक्तानी दिएपछि बाँकी बजेट वडामा अधुरो योजनाहरूको निरन्तरता र नगरस्तरीय योजनाको रूपमा वडागत हिसाबले छुट्याइनुपर्ने विषय उठाएपछि नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षहरूबीच सहमति नहुँदा बजेट र कार्यक्रम पारित नगरी नगरसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो।

१० असारमा सम्पन्न नगरसभाको उद्घाटन सत्रमा प्रस्तुत नीति तथा कार्यक्रमको आधारमा तयार गरिएको विभिन्न ३७ बुँदे प्रस्तावसहित कार्यालय सञ्चालन र व्यवस्थापन तथा पुँजीगततर्फ आधा–आधा गरी ३९ करोड रुपैयाँको बजेट पारित गर्न शुक्रबार नगरसभा हलमा आयोजित समारोह औपचारिक सुरु नहुँदै वडाध्यक्षहरूले आफूहरूको माग सम्बोधन नभए नगरसभा चल्न नदिने अडान लिएका थिए। त्यहीबीचमा १, २ र ४ का वडाध्यक्षहरूसँग उपप्रमुख संगीताकुमारी चौधरीको भनाभनसमेत चल्यो।

त्यसपछि नगरप्रमुख शिवशंकर महतोले कार्यपालिका बैठक र वडाध्यक्षहरूसँग भएको सहमतिअनुरूप नै पारित गर्ने आश्वासन दिए पनि वडाध्यक्षहरूले बजेटको प्रतिलिपि आफूहरूसहित सम्पूर्ण नगरसभा सदस्यको हातमा नदिएसम्म सभा नचलाउन आग्रह गरेपछि नगरप्रमुख महतोले अर्को सूचना नभएसम्मका लागि नगरसभा स्थगित भएको घोषणा गरे।

नगरसभामा सञ्चालन खर्च १९ करोड ५० लाख रुपैयाँ र वडागत बजेट आठ करोड ४० लाख, विषयगत शाखा तीन करोड ६० लाख, समपूरक कोष एक करोड, नगरस्तरीय बजेट ६ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गर्ने तयारी थियो।

अल्याको बजेट प्रमुख र उपप्रमुखले आफ्नो तजबिजमा चलाउन नगरस्तरीय बजेट राख्न जोडबल गर्नुका साथै आफ्ना मान्छेलाई सचिवालय सहयोगीको रूपमा राख्न जालझेल गरेपछि आफूहरूले विरोध गरेको ४ का वडाध्यक्ष ओमप्रकाश यादवले बताए। ‘नगरपालिकामा ९० जनाभन्दा बढी करारका कर्मचारी हुँदाहुँदै नगरप्रमुख र उपप्रमुखले आफ्ना मान्छे राख्न कर्मचारी व्यवस्थापन गर्ने विषय घुसाएपछि विमति राखेका हौँ,’ उनले भने, ‘नगरको आन्तरिक स्रोत न्यून हुँदा भएकै कर्मचारीबाट व्यवस्थापन गरौँ भन्ने हाम्रो जोड हो।’ नगरपालिकाको व्ययभार बढ्ने भएकाले कार्यपालिकाको बैठकमा छलफलको विषयबाट नै हटाइएको नयाँ कर्मचारी भर्नाको विषय नगरप्रमुखले जबर्जस्ती सभाबाट पारित गर्न खोजेको वडा नं १ का वडाध्यक्ष सूर्यनारायण यादवले बताए।

नगरप्रमुख महतोका अनुसार अल्याको बजेटबाट १५-१५ लाख रुपैयाँको दरले वडाहरूलाई नै दिने, नगर क्षेत्रका विभिन्न बजारहरूमा सुरक्षाका लागि सिसिक्यामेरा जडान, अधुरो विद्यालय भवन निर्माण, सडक कालोपत्रे, गत आवको भुक्तानी, सीपमूलक तालिम, आवश्यक ठाउँमा ह्यान्ड पाइप जडानलगायतका कामका लािग नगरस्तरीय बजेट छुट्याइएको छ। तर, वडाध्यक्षहरू सहमत नभएकाले पुनः छलफल गरी बजेट र कार्यक्रम पारित गरिने योजना रहेको उनले बताए।