मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ८ शनिबार
  • Saturday, 22 March, 2025
पवन तिमिल्सिना काठमाडाैं
२o८१ असार ८ शनिबार १o:o२:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

जेठमा वर्षकै उच्च आयात–निर्यात

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असार ८ शनिबार १o:o२:oo

एक खर्ब ५० अर्बको आयात हुँदा जेठमा १३ अर्बको निर्यात । विद्युतीय गाडी, सुन र पेट्रोलियम पदार्थले आयात तथा सिमेन्ट, गलैँचा, अलैँची र एचआर आइरन सिटले निर्यात बढायो

आर्थिक वर्षको अन्तिमतिर आयात र निर्यात व्यापार बढेको छ । जेठ महिनामा भएको वस्तु आयात र निर्यात चालू आर्थिक वर्षकै उच्च रहेको भन्सार विभागको तथ्यांकले जनाएको छ । 

मन्दीका कारण निरन्तर घट्दो क्रममा रहेको वैदेशिक व्यापार वैशाखयता बढ्न थालेको हो । जेठमा एक खर्ब ५० अर्ब ३४ करोड रुपैयाँको आयात र १३ अर्ब नौ करोड रुपैयाँबराबरको निर्यात भएको भन्सार विभागको तथ्यांक छ । जबकि, गत आवको जेठमा एक खर्ब ४५ अर्ब ६६ करोडको आयात र १२ अर्ब ६८ करोड रुपैयाँको वस्तु निर्यात गरिएको थियो । यसअघि असोज महिनामा चाडपर्वका कारण सबैभन्दा बढी वस्तु आयात गरिएको थियो । असोजमा एक खर्ब ४८ अर्बको वस्तु आयात भएको भन्सार विभागको तथ्यांक छ । 

आयात र निर्यातको बढ्दो ग्राफले मन्दीको असर क्रमिक रूपमा घट्न थालेको संकेत दिएको छ । चालू आवको सुरुवातदेखि नै मन्दीकै कारण आयात र निर्यात अघिल्लो वर्षको तुलनामा घटिरहेको थियो । जेठमा विद्युतीय गाडी, सुन र पेट्रोलियम पदार्थले आयात र सिमेन्ट–क्लिंकर, गलैँचा, अलैँची, एचआर आइरन सिटलगायत वस्तुले निर्यात बढाउन मद्दत गरेको तथ्यांकले देखाउँछ । जेठमा मात्रै करिब तीन हजार विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।  

जेठमा तीन हजार विद्युतीय गाडी भित्रिए 
भन्सार विभागको तथ्यांकअनुसार आयात बढाउनमा विद्युतीय गाडीले मुख्य भूमिका खेलेको देखिन्छ । एक सय किलोवाटसम्मको विद्युतीय जिप, कार र भ्यानको आयात ११ महिनामा ६ हजार आठ सय ८५ वटा पुगेको छ । जेठमा मात्रै यस्तो सवारीसाधन एक हजार नौ सय ८९ वटा भित्रिएको तथ्यांक छ । ५० किलोवटासम्म क्षमता भएका यस्ता सवारीसाधन आठ सय ७२ पुगेको छ । एक सय किलोवाटभन्दा माथि दुई सय किलोवाटसम्मका एक सय पाँचवटा सवारीसाधन आयात भएका छन् । समग्रमा जेठ महिनामा मात्रै दुई हजार नौ सय ६९ सवारीसाधन आयात भएका छन् । यो महिनामा विद्युतीय गाडीको आयातमा सात अर्ब ९१ करोड रुपैयाँ बाहिरिएको छ । 

चुलिँदो सुनको भाउले आयातमा चाप
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिको असर आयातमा चाप परेको छ । जेठ महिनामा दुई सय किलो सुन आयात भएको छ । मूल्य बढिरहँदा पनि सुनको मागमा कमी नआउँदा आयातमा यसको चाप बढेको देखिन्छ । जसमा दुई अर्ब ३७ लाख ८३ हजार रुपैयाँ बाहिरिएको छ । ११ महिनामा मात्रै २३ अर्ब ६५ करोडको सुन आयात भएको छ । परिमाणमा दुई हजार ६ सय ५२ किलो आयात भएको छ । 

इन्धनको आयातमा पनि वृद्धि 
पेट्रोलियम पदार्थको आयातमा समेत वृद्धि हुँदा समग्र आयातमा सुधार देखिएको छ । गत आर्थिक वर्षको जेठ महिनामा मात्रै १२ अर्ब २३ करोडको डिजेल आयात भएकोमा चालू आवको जेठमा १३ अर्ब ५३ करोडको आयात भएको छ । त्यस्तै, पोहोर जेठमा पाँच अर्ब ५९ करोडको पेट्रोल आयात भएकोमा यसपालि जेठमा ६ अर्ब सात करोडको आयात भएको छ । खाना पकाउने एलपिजी ग्यास पाँच अर्ब ६ करोडको आयात भएको छ । पोहोर जेठमा चार अर्ब ६० करोडको मात्रै यस्तो आयात भएको थियो । पोहोर जेठमा एक अर्ब ३२ करोडको हवाई इन्धन आयात भएकोमा यसपालि चार अर्ब २१ करोडको आयात भएको छ । अन्य वस्तुको पनि आयातमा वृद्धि भएको छ ।

जेठ महिनामा मात्रै आयातमा वृद्धि देखिए पनि ११ महिनाको आयात पोहोरको सोही अवधिको तुलनामा १.८४ प्रतिशतले कम छ । यस अवधिमा १४ खर्ब ५३ अर्बको वस्तु आयात भएको छ । 

गलैँचा, अलैँची र एचआर आइरन सिटले बढायो निर्यात
वैदेशिक व्यापारमा सबैभन्दा चिन्ताको विषय बन्दै आइरहेको खस्किँदो निर्यातमा सुधार देखिएको छ । पोहोर जेठको तुलनामा चालू आर्थिक वर्षको जेठमा बढी निर्यात भएको छ । 

पोहोर जेठमा १२ अर्ब ६८ करोडको वस्तु निर्यात भएकोमा चालू आवको जेठमा ४० करोड २२ लाखले निर्यातमा वृद्धि भएको छ । विभागका अनुसार यो जेठमा १३ अर्ब आठ करोडको वस्तु निर्यात भएको छ । गलैँचा, अलैँची र फलामको एचआर सिटको निर्यातमा भएको वृद्धिले समग्र निर्यातलाई योगदान पुर्‍याएको देखिन्छ ।

यसपालि जेठमा मात्रै ९३ करोड २१ लाखको कार्पेट निर्यात भएको छ । गत आवको जेठमा यस्तो निर्यात ८८ करोड ४९ लाख थियो । त्यस्तै, अलैँची निर्यात यो महिनामा ५५ करोड ८५ लाखको भएको छ । पोहोर जेठमा ४२ करोडको मात्रै निर्यात भएको थियो । ६ सय एमएमसम्मको फलामको एचआर सिट ५३ करोड ७४ लाखको छ । पोहोर यो महिनामा ४६ करोड ९७ लाखको मात्रै थियो । समग्रमा ११ महिनाको निर्यात भने ३.०१ प्रतिशतले घटेको छ । चालू आवमा एक खर्ब ३९ अर्बको निर्यात भएको छ ।