१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ६ बिहीबार
  • Saturday, 28 September, 2024
बुधबार संसद् भवनमा आफैँले गोली हानेर आत्महत्या गरेका प्रहरी जवान अजित गोलेको शव बाहिर निकाल्दै प्रहरी ।
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार ६ बिहीबार १o:२६:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संसद् भवनमा प्रहरी आत्महत्याको कारण ‘प्रेम सम्बन्धको तनाव’

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ६ बिहीबार १o:२६:oo

- प्रेम सम्बन्धको तनावका कारण प्रहरी जवानले आफैँलाई गोली हानेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी अधिकारीको भनाइ

- प्रहरी अधिकारीहरू भन्छन्- गोलेकी प्रेमिका दुबईमा रहेको र सम्बन्धमा खटपट आएपछि उनले इन्सास राइफलले निधारमा गोली हाने

काठमाडौंको नयाँ बानेश्वरको संसद् भवनमा एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् । संसद्को सुरक्षामा खटिएका जवान अजित गोलेले बिहीबार बिहान गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको छ । 

प्रेम सम्बन्धको तनावमा उनले गोली हानेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी अधिकारी बताउँछन् । उनकी प्रेमिका दुबईमा रहेको र सम्बन्धमा खटपट आएपछि उनले इन्सास राइफलले निधारमा गोली हानेको प्रहरी अधिकारीहरू बताउँछन् ।

दोलखा स्थायी घर भएका जवान प्रहरीको विशेष कार्यदलअन्तर्गत संसद् भवनको गेटको सुरक्षामा खटिएका थिए । गोलेको शवको पोस्टमार्टम गरी विस्तृत अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए । 

महिला प्रहरी जवान मृत्यु प्रकरणमा थापाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

यस्तै, जिल्ला प्रहरी कार्यालय सिराहाको कार्यालयपरिसरमा रहेको भवनको दोस्रो तलास्थित शौचालयमा मृत भेटिएकी महिला प्रहरी जवानको मृत्यु प्रकरणमा प्रहरीले पुष्कर थापाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको छ । 

सिराहा प्रहरीका प्रहरी निरीक्षक उदयभान द्विवेदीले करिब नौ महिनादेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत २५ वर्षीया करिश्मा सुनारको मृत्यु प्रकरणमा शंकास्पद देखिएका जुम्लामा कार्यरत प्रहरी जवान करिब २७ वर्षीय थापालाई घटना भएकै दिन पक्राउ गरेको जानकारी दिए । उनका अनुसार थापालाई अड्डासार गरी सिराहा ल्याएर आत्महत्या दुरुत्साहनको मुद्दा चलाइएको हो । थापा र सुनारबीचको सम्बन्धबारे प्रहरीले केही खुलाएको छैन । 

थापाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दामा सिराहा जिल्ला अदालतबाट १ असारदेखि लागू हुने गरी थप अनुसन्धान भइरहेको उनले बताए । उनका अनुसार बाँकेको खजुरा गाउँपालिका– ४ घर भएकी सुनार सिराहाको पश्चिमवर्ती कर्जन्हा प्रहरी चौकीमा दरबन्दी रहे पनि महिला प्रहरी नबस्ने भएकाले मिर्चैयामा केही समय रही जिल्ला प्रहरीमा कार्यरत थिइन् । गत ३१ जेठको अपराह्न करिब ४ बजेतिर सुनार कार्यरत महिला, बालबालिका, ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलाको शौचालयमा सलको पासोमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । 

महिला प्रहरी जवान सुनारको मृत्यु प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगको मधेश प्रदेश कार्यालयले समेत छुट्टै अनुसन्धान गरिरहेको छ । प्रहरी कार्यालय परिसरको शौचालयमा भएको महिला प्रहरीको मृत्युको घटना विषयमा मानव अधिकार ऐनको दफा ५ बमोजिम गम्भीर ध्यानाकर्षण भएकाले अनुसन्धान गरिरहेको आयोगकी मधेश प्रदेश प्रमुख मञ्जु खतिवडाले जानकारी दिइन् । उनका अनुसार आयोगले सरोकारवाला पक्षहरूसँग सोधपुछसहित स्थलगत अनुगमन गरेको छ । ‘सरोकारवाला पक्षसँगको सोधपुछ, स्थलगत अनुगमनसहित घटनासँग सम्बन्धित प्रमाणहरू संकलन गरी यथाशक्य छिटो अनुसन्धान प्रतिवेदन तयार गरी केन्द्रीय कार्यालयमा पठाइनेछ,’ उनले भनिन् । 

कुटपिटपछि हत्या गरेको आरोपमा तीन पक्राउ
प्रहरीले भारतको पन्जाबमा मजदुरी गरिरहेका सिराहाको धनगढीमाई नगरपालिकाका युवकलाई कुटपिट गरी हत्या गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक उदयभान द्विवेदीले धनगढीमाई– १२ थटिया गाउँका ३० वर्षीय राकेश यादवलाई कुटपिट गरी हत्यामा संलग्न रहेको आरोपमा उनीसँगै काम गर्ने नरहा गाउँपालिका– १ गौराहा गाउँका आनन्द सदाय, रोहितकुमार सदाय र सञ्जय सदालाई पक्राउ गरिएको जानकारी दिए । तीनैजनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा सिराहा जिल्ला अदालतबाट मंगलबारदेखि लागू हुने गरी म्याद लिई थप अनुसन्धान भइरहेको छ । 

द्विवेदीका अनुसार पछिल्लो केही महिनादेखि आरोपी तीनजनासहित मृतक यादव पनि पन्जाब राज्यअन्तर्गत पटियाला थाना फोकल प्वाइन्टस्थित जेएस फ्याक्ट्रीमा काम गरिरहेका थिए । १ असार राति करिब १० बजेतिर झगडा हुँदा यादवलाई तीनजनाले कुटपिट गरी घाइते बनाएका थिए । उनलाई तत्काल स्थानीय राजेन्द्र अस्पतालमा उपचार गरिए पनि अवस्था गम्भीर बन्दै गएपछि चण्डीगढस्थित पिजी अस्पताल भर्ना गरिएको थियो । पिजीमा उपचारका क्रममा यादवको २ असारमा मृत्यु भएको परिवारमार्फत जानकारी पाएलगत्तै प्रहरीले कुटपिटपछि घर आएका तीनजनालाई पक्राउ गरेको थियो । यादवको शव ३ असारमा नेपाल ल्याई प्रादेशिक अस्पताल सिराहामा पोस्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।