१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ५ बुधबार
  • Thursday, 27 June, 2024
प्रेम गौतम काठमाडाैं
२o८१ असार ५ बुधबार o७:३o:oo
Read Time : > 5 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

महाधिवेशनको सम्मुखमा एकीकृत समाजवादी, आकारभन्दा रस्साकस्सी ठूलो

Read Time : > 5 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ५ बुधबार o७:३o:oo

- नेपालको पुनः अध्यक्षमा दोहोरिने योजना, खनाल नेतृत्व हस्तान्तरणको पक्षमा र भुसाल पुस्तान्तरणको बहसमा
- देशभरबाट आज १८ सय ७८ महाधिवेशन प्रतिनिधि चयन हुँदै
- केन्द्रीय कमिटीका ३४६ र केन्द्रीय आयोगबाट १०४ जना स्वतः प्रतिनिधि

एमालेबाट करिब तीन वर्षअघि विद्रोह गरेर बनेको एकीकृत समाजवादीमा डेढ लाख पार्टी सदस्य छन् । प्रतिनिधिसभामा १० सिट जिते पनि राष्ट्रिय दल बन्न सकेन । भावी नेतृत्वलाई लिएर पार्टीको आकारभन्दा रस्साकस्सी भने ठूलो देखिएको छ । 

अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले भावी अध्यक्ष बन्ने गरी रणनीतिक छलफल चलाएका छन् । उनीहरूबीच केही राजनीतिक–वैचारिक मुद्दामा मतभेद छन् । केही समयअगाडि सत्तागठबन्धनलाई लिएर पनि नेपाल र खनालबीच चर्को मतभेद देखिएको थियो । 

१६ देखि २० असारमा काठमाडौंमा हुने महाधिवेशनका लागि अध्यक्षका तीनैजना आकांक्षी निरन्तर छलफलमा छन् । ‘महाधिवेशन प्रतिनिधि चयन भइनसकेकाले औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने काम भएको छैन,’ एक पदाधिकारीले भने, ‘तर, नेताहरूले कार्यकर्तामाझ नेतृत्वको दाबी गरिसक्नुभएको छ ।’ महाधिवेशन प्रतिनिधि चयनपछि नेतृत्वको विषयमा छलफल हुनेछ ।

आफू अध्यक्ष बन्न दौडधुप गरिरहेका तीनैजनाले सहमतिबाट नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । तर, सहमति आफ्नो पक्षमा होस् भन्ने उनीहरूको चाहना छ । त्यसैले सहमतिको सम्भावना न्यून रहेको नेताहरू बताउँछन् । नेपाल अध्यक्षमा पुनः दोहोरिन चाहन्छन् भने खनाल नेतृत्व हस्तान्तरण र भुसाल पुस्तान्तरणको पक्षमा छन् ।

सहमति नजुट्दा नेपाल पक्ष र इतर पक्षबीच प्रतिस्पर्धा हुने देखिएको नेताहरू बताउँछन् । खनाल र भुसाललाई मिलाउन एकथरी नेताहरू गोप्य रूपमा लागेका छन् । ‘सहमतिका लागि अधिकतम प्रयास हुन्छ, यदि सहमति भएन भने खनाल र भुसालको एउटै टिम बन्छ,’ स्रोतले भन्यो । प्रतिनिधि चयन भइनसकेकाले नेताहरूले खुलेर बोल्न चाहेका छैनन् । प्रतिनिधि चयन भएपछि सहमतिको प्रयास हुने र उम्मेदवारी घोषणा गर्ने क्रम पनि चल्ने नेताहरू बताउँछन् ।

नेपालले समझदारीबाटै नेतृत्व टुंगो लगाउनुपर्ने बताएका छन् । ‘महाधिवेशन भव्यताका साथ  एकताबद्ध रूपमा सम्पन्न होस् । सहमतिका साथ सम्पन्न होस् भन्ने आमकार्यकर्ताको चाहना र भावना छ,’ नेपालले भने, ‘एकताको साथ महाधिवेशन सम्पन्न गर्ने दिशामा सबैले विचार गर्नुपर्छ ।’

यसबाहेक नेपालले अन्तरपार्टी निर्देशन–१४ मा भनेका छन्, ‘अहिले हामी महाधिवेशनबाट विद्रोहको आवश्यकता र हाम्रा प्रयासहरूको समीक्षा तथा विद्रोह गर्दा नै अवलम्बन गरिएका समाजवादी लक्ष्य, कार्यदिशा र नीतिको अनुमोदन गर्दै नेपाली विशेषताको समाजवादी कार्यक्रम निर्माण गर्ने विन्दुमा आइपुगेका छौँ । उल्लिखित ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्ने यस समयले हामी सबैबाट अझ बढी धैर्य, दूरदृष्टि, दृढता र एकताको माग गरेको छ ।’ 

नेपालकै नेतृत्वमा करिब तीन वर्षअघि एकीकृत समाजवादी पार्टी स्थापना भएको थियो । नेपाल पक्षीय नेताहरू सहमतिको माहोल बनाउने गरी खटिएका छन् । चुनौतीपूर्व वेला पार्टीको नेतृत्व गरेकाले एक कार्यकाल नेपाललाई नै दोहोर्‍याउनुपर्ने उनी पक्षीय नेताहरूको जोड छ ।

वैचारिक र राजनीतिक रूपान्तरणका लागि नेतृत्व हस्तान्तरण हुनुपर्ने खनालले बताए । जसको नीति, उसैको नेतृत्व हुनुपर्ने खनालले बताएका छन् । ‘आमकार्यकर्ताको आवश्यकता, चाहना र कम्युनिस्ट आन्दोलनको आवश्यकता एवं चाहनालाई ध्यानमा राख्दा पार्टीलाई क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्तको दिशामा सबैभन्दा पहिला रूपान्तरण गर्नुपर्ने आवश्यकता छ । वैचारिक राजनीतिक रूपान्तरण ठीक ढंगले गर्न सकियो र पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनले ठीक नीति र ठीक नेतृत्व निर्माण गर्न सक्यो भने नयाँ पुस्ता भर्भराएर अगाडि आउँछ । बल्ल पुस्तान्तरण हुन्छ,’ खनालले भने । 

खनालले पार्टीको सामु वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक चुनौती रहेको र त्यसलाई पार लगाउन कार्यकर्ताले आफ्नो माग गरेको दाबी गर्छन् । 

नेपाल र खनाल प्रतिस्पर्धीको रूपमा अघि बढ्दा पुस्तान्तरणको पक्षमा सहमति हुने विश्वास भुसाल पक्षको छ । ‘हामीले आफ्नो दृष्टिकोण राख्छौँ । जसको सबभन्दा राम्रो हुन्छ, त्यही कमरेडलाई अघि बढाउनु हामी सबैको दायित्व हुन्छ,’ भुसाल भन्छन्, ‘उम्मेदवार बन्न पाउनु योग्यता पुगेका महाधिवेशन प्रतिनिधिको अधिकार हुन्छ ।’

विचारका हिसाबले आफू र आफ्नो समूहलाई अघि बढोस् भनेर धेरैले नवौँ महाधिवेशनकै वेला जोड दिएको भुसालले स्मरण गरे । एमालेको नवौँ महाधिवेशनमै पुस्तान्तरणको विषय जोडतोडले उठेको थियो । त्यति वेला खनाल–नेपाल समूहका युवा नेताहरूले नेपाललाई अध्यक्षमा अघि सार्दै ‘पुरानो कोटमा नयाँ टोपी’को संज्ञा दिएका थिए । 

बानेश्वरमा भएको उक्त कार्यक्रममा एक कार्यकाल नेपाल अध्यक्ष बन्ने र युवालाई नेतृत्व हस्तान्तरण गर्ने उद्घोष गरिएको थियो । त्यति वेला खनाल बिरामी थिए । नेपाल पक्षबाट बहुमत पदाधिकारी जिते पनि अध्यक्षमा (नेपाल) र महासचिव (सुरेन्द्र पाण्डे) भने पराजित भएका थिए ।

एकीकृत समाजवादीले १६–२० असारमा काठमाडौंमा १०औँ महाधिवेशन गर्दै छ । ९ भदौ ०७८ मा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको थियो । दल दर्ता भएको पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, एकीकृत समाजवादीले तीन वर्षमै महाधिवेशन गर्दै छ । 

महाधिवेशनका लागि ‘दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादी बाटोमा अगाडि बढौँ’ नारा तय गरिएको छ । एमालेमा विद्रोह गरेर पार्टी पुनर्गठन गरेकाले १०औँ महाधिवेशन भनिएको प्रचार विभाग प्रमुख खतिवडाले बताए । यसअघि पनि तत्कालीन मालेले प्रथम नभई चौथो महाधिवेशन गरेको र त्यही शक्ति स्थापित भएको उनले बताए ।

महासचिवका दाबेदार को–को ?
नेपाल आफू अध्यक्ष र भुसाललाई नै महासचिवमा दोहोर्‍याउन चाहन्छन् । खनाल पनि भुसाललाई टिममा राखेर अघि बढ्न चाहन्छन् । यद्यपि, भुसाल भने अध्यक्ष बन्ने योजनामा अघि बढेका छन् । 

त्यस्तो अवस्थामा नेपालले महासचिवमा जगन्नाथ खतिवडालाई अघि सार्ने सम्भावना रहेको एक नेताले बताए । ती नेताले भने, ‘नेपाल महासचिवमा भुसाललाई नै अघि सार्न चाहनुहुन्छ । खतिवडा दोस्रो रोजाइमा पर्नुहुन्छ ।’ 

खतिवडा भने टिम नबनेपछि प्रतिस्पर्धा हुने अवस्थामा महासचिवमा उठ्ने भन्दै कार्यकर्तासँग मत मागिरहेका छन् । प्रचार विभाग प्रमुख भएकाले पनि उनलाई नेता तथा कार्यकर्तासँग सम्पर्क विस्तार गर्न सहज भएको छ ।

महासचिवमा उपमहासचिवहरू खतिवडा, प्रकाश ज्वाला र डा. विजय पौडेल पनि दाबेदार छन् । खतिवडा एकातिर र ज्वाला र पौडेल अर्कोतिर छन् । नेपाल पक्षबाट खतिवडा महासचिवको उम्मेदवार बन्दा ज्वाला र पौडेलमध्ये एकजना नेपालइतर पक्षबाट महासचिवको उम्मेदवार बन्ने सम्भावना छ । सहमतिमा भुसाल नै महासचिवमा दोहोरिने सम्भावना पनि रहेको नेताहरू बताउँछन् ।

खतिवडाले प्रतिस्पर्धा हुने अवस्थामा आफू महासचिवको उम्मेदवार हुने बताए । तर, सहमति हुने अवस्थामा जुनसुकै पद पनि स्वीकार्य भएको उनी बताउँछन् । ‘सबै पदाधिकारी पदमा सहमति भएमा सहमतिअनुसार अगाडि बढ्न तयार छु । प्रतिस्पर्धा हुने अवस्थामा महासचिवको उम्मेदवार बन्छु,’ उनले भने । 

ज्वालाले पनि सहमति र प्रतिस्पर्धा हुने अवस्थामा फरक परिस्थिति बन्ने बताए । ‘सहमति हुँदा एक खालको हुन्छ, प्रतिस्पर्धाको स्थितिमा अर्को परिस्थिति बन्छ । पहिलो वरीयताको उपमहासचिव भएका नाताले मेरो दाबेदारी केमा रहन्छ भन्ने तपाईंले नै अनुमान लगाउन सक्नुहुन्छ,’ उनले भने । 

डा. पौडेलले उपमहासचिवले महासचिवमा दाबी गर्नु स्वाभाविक भएको बताए । उनले भने, ‘भावी नेतृत्वका लागि आ–आफ्नै दाबी छन् । उपमहासचिवले महासचिवमा दाबी गर्नु स्वाभाविकै हो जस्तो लाग्छ ।’

प्रतिनिधि चयनपछि नेतृत्वमा सहमतिको प्रयास हुने
यही १६ देखि २० असारमा काठमाडौंमा हुने महाधिवेशनका लागि एकीकृत समाजवादीले बुधबार देशभरका करिब डेढ लाख संगठित सदस्यबाट १८७८ महाधिवेशन प्रतिनिधि चयन गर्दै छ । तीमध्ये केन्द्रीय कमिटी ३४६ र केन्द्रीय आयोगबाट १०४ जना स्वतः प्रतिनिधि चयन भएका छन् । नेताहरूले प्रतिनिधि चयनपछि नेतृत्वको विषयमा छलफल हुने बताएका छन् । सहमतिमै प्रतिस्पर्धा गर्ने वा प्रतिस्पर्धा नगर्ने भन्ने विषय छलफलपछि टुंगिने उपमहासचिव एवं प्रचार विभाग प्रमुख खतिवडाले बताए । हालसम्म औपचारिक रूपमा भावी नेतृत्वको विषय छलफल भएको छैन । नेताहरू पनि खुलिसकेका छैनन् । 

वर्तमान सत्तासमीकरणलाई हेर्ने दृष्टिकोणका साथै जबज, समाजवादी कार्यक्रमलगायत थुप्रै विषयमा खनाल र भुसालको समान विचार छ । उनीहरू वर्तमान समीकरणलाई बलियो बनाउँदै वामपन्थी सहकार्यको पक्षमा छन् । जबजको सान्दर्भिकता सकिएको र समाजवादी क्रान्तिमार्फत अघि बढ्नुपर्ने दुवै नेताको निष्कर्ष छ । 

तीन नेताका आ–आफ्नै रणनीति

माधव नेपाल आफू अध्यक्ष र घनश्याम भुसाललाई नै महासचिवमा दोहो¥याउन चाहन्छन् । झलनाथ खनाल पनि भुसाललाई महासचिव बनाएरै आफू अध्यक्ष हुन चाहन्छन् । भुसाल भने दुवै शीर्ष नेताबाट नेतृत्व पुस्तान्तरण गराएर आफू अध्यक्ष बन्ने योजनामा अघि बढेका छन् । खनालको सहयोगमा भुसाल अध्यक्षको उम्मेदवार बनेको अवस्थामा नेपालले महासचिवमा जगन्नाथ खतिवडालाई अघि सार्ने सम्भावना रहेको नेताहरू बताउँछन् । त्यस्तो वेला नेपालइतर समूहबाट महासचिवमा प्रकाश ज्वाला र विजय पौडेलमध्ये एक उम्मेदवार बन्ने सम्भावना छ ।

ठूला छैनन् मतभेद
अध्यक्ष नेपाल वामपन्थीको आवरणमा पार्टीलाई किनारा लगाउन खोज्ने अहिलेको सत्तासमीकरणमा घुँडा टेकेर बस्न नहुने पक्षमा छन् । सम्मानित नेता खनाल र महासचिव भुसाल भने वर्तमान समीकरणलाई बलियो बनाउँदै वामपन्थी सहकार्यको पक्षमा छन् । त्यस्तै, जबज, समाजवादी कार्यक्रमलगायत थुप्रै विषयमा उनीहरूको समान विचार छ । पार्टीमा जबजको च्याप्टर नै लगभग क्लोज भएको छ । केही समयअघिसम्म नेपालले जबज र खनालले समाजवादी कार्यक्रममा जोड दिँदै आएका थिए । तर, महाधिवेशनको दस्ताबेज निर्माणको क्रममा नेपाल पनि समाजवादी कार्यक्रममा सहमत भएका छन् । नेपालले केही समयअघिसम्म जबजलाई पेटेन्ट राइटका रूपमा व्यवस्था गरेका थिए । खनालले जबजलाई नै अघि सार्दा एमालेभन्दा पृथक् हुन नसकिने र विद्रोहको औचित्य पुष्टि नहुने बताउँदै आएका थिए । 

गुट विवाद असर भ्रातृ संगठनमा 
एकीकृत समाजवादीका शीर्ष नेताहरूको विवाद युवा संघ र अनेरास्ववियूमार्फत छताछुल्ल हुँदै आएको छ । विवाद अनेरास्ववियूमा समानान्तर गतिविधि र युवा संघमा एकले अर्को पक्षलाई कारबाहीसम्मको चरणमा पुगेको छ । 

युवा संघको विषयमा पार्टी सचिवालय बैठकमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसालबीच भनाभन नै भएको स्रोत बताउँछ । केही दिनअघि आयोजित एक कार्यक्रममा समेत पार्टीका शीर्ष नेताहरूले युवा संघको विवादबारे चिन्ता व्यक्त गरेका थिए । 

भुसालले युवा संघमा अराजक गतिविधि भएको भन्दै कारबाहीको दायरामा ल्याउनुपर्ने प्रस्ताव गरेका थिए । ‘युवा संघको विषयमा निर्णय गर्न सक्दैनौँ भने योजत्तिको नालायकी केही हुन सक्दैन । गुण र दोषका आधारमा पार्टीले निर्णय गर्नुपर्छ । यस्तो अराजकता हेरेर बस्न मिल्दैन,’ भुसालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । 

अध्यक्ष नेपालले भने युवा संघमा दुवै पक्षले गल्ती गरेको बताएका थिए । ‘दुवै पक्षबाट गल्ती भएको छ । दुवैलाई सम्झाएर अगाडि बढ्नुपर्छ,’ उनको भनाइ थियो । 

लामो छलफलपछि सचिवालय बैठकले नितेश पौडेल पक्षले गरेको समानान्तर कमिटी खारेज गरिदिएको छ । युवा संघका संयोजक कृष्ण विकले महाधिवेशन बिथोल्ने गरी पार्टी अध्यक्षको नाम दुरुपयोग गरेर अघि बढ्ने छुट कसैलाई नभएको बताउँदै पौडेल पक्षलाई कारबाही गरेका थिए । समानान्तर कमिटी गठन गरेका पौडेलले भने कार्यकर्ताको मनोबल गिर्न नदिन राष्ट्रिय भेला बोलाएर संयोजक र सहसंयोजक तोक्दै महाधिवेशनको मिति तोकेका थिए । विक सम्मानित नेता खनाल र महासचिव भुसालनिकट हुन् भने पौडेल अध्यक्ष नेपालनिकट हुन् । 

अर्कोतर्फ अनेरास्ववियूमा अध्यक्ष आरती लामा र महासचिव महेश श्रेष्ठले समानान्तर गतिविधि गर्दै आएका छन् । लामा सम्मानित नेता खनाल र महासचिव भुसालनिकट हुन् । श्रेष्ठ अध्यक्ष नेपालनिकट छन् । अन्य जनवर्गीय संगठनमा पनि दुई पक्ष छन् ।

ad
ad
ad
ad