
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गाजामा युद्धको नेतृत्व गर्ने जिम्मेवारी दिइएको प्रभावशाली युद्ध मन्त्रिपरिषद् (वार क्याबिनेट)लाई भंग गरेका छन् । युद्ध मन्त्रिपरिषद्का एक प्रमुख सदस्यले प्रधानमन्त्रीको युद्ध व्यवस्थापन गर्ने तरिकालाई लिएर सरकारको आलोचना गरेको केही दिनपछि नेतन्याहुले यस्तो कदम चालेका हुन् । यसै महिनाको प्रारम्भमा वार क्याबिनेटका प्रमुख सदस्य तथा मध्यमार्गी पूर्वसैन्य प्रमुख बेनी गेन्ट्जले युद्ध मन्त्रिपरिषद् सदस्यबाट राजीनामा दिएका थिए ।
गेन्ट्जको अनुपस्थितिले नेतन्याहुलाई शासन गर्न आफ्ना अतिराष्ट्रवादी सहयोगीमाथि निर्भर हुन बाध्य पारेको थियो । युद्ध मन्त्रिपरिषद्मा गेन्ट्ज, नेतन्याहु र रक्षामन्त्री योभ ग्यालेन्टसहित ६ सदस्य थिए । उनीहरूले मिलेर युद्धका क्रममा महत्वपूर्ण निर्णय गरेका थिए । इजरायलले थप महत्वपूर्ण निर्णयको सामना गर्नुपरिरहेको वेला युद्ध मन्त्रिपरिषद्को विघटन गरिएको हो ।
गेन्ट्ज विपक्षी दलको नेता तथा नेतन्याहुका प्रतिद्वन्द्वी रहेको वेला युद्ध मन्त्रिपरिषद्को गठन गरिएको थियो । अक्टोबर ७ मा दक्षिणी इजरायलमाथि हमासको आक्रमणपछि एकता प्रदर्शनमा गेन्ट्ज गठबन्धनमा सामेल भएका थिए । युद्ध मन्त्रिपरिषद्को विघटनले गाजामा आठ महिना लामो युद्धका रूपमा भएको परिवर्तनलाई जोड दिएको छ ।
इजरायली सेना अहिले पनि गाजापट्टीमा फसेका छन् । उनीहरू दक्षिणी सहर रफाह र अन्य स्थानमा हमासको पुनरुत्थानविरुद्ध लडिरहेका छन् । साथै इजरायल र लेबनानी हिजबुल्लाह लडाकु समूहबीच हिंसा जारी छ ।