Skip This
युवामा बढ्दो मानसिक स्वास्थ्यको जोखिम
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ४ मंगलबार
  • Saturday, 13 July, 2024
संगीता बटाजू
छिरिङ तामाङ
२o८१ असार ४ मंगलबार o७:५३:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

युवामा बढ्दो मानसिक स्वास्थ्यको जोखिम

युवापुस्तामा विभिन्न किसिमका मानसिक समस्या बढ्दै गइरहेको अहिलेको समयमा आत्महत्यासम्मको डरलाग्दो बाटो रोज्नेको सूची लामो हुँदै गएको छ

Read Time : > 4 मिनेट
संगीता बटाजू
छिरिङ तामाङ
नयाँ पत्रिका
२o८१ असार ४ मंगलबार o७:५३:oo

आत्महत्याका कारण कसैको मृत्यु भएपछि सामाजिक सञ्जालका भित्तामा ‘मानसिक स्वास्थ्य’ चर्चाको विषय बन्छ । तर, समयक्रमसँगै यो विषय पुनः सेलाउँदै जान्छ, मानिसहरूको विस्मृतिमा पुरिन्छ ।अहिलेको समयमा युवापुस्तामा विभिन्न किसिमका मानसिक समस्या बढ्दै गइरहेका छन् । जसका कारण आत्महत्यासम्मको डरलाग्दो बाटो रोज्नेको सूची पनि लामो हुँदै गइरहेको छ ।

आत्महत्याको तथ्य जति डरलाग्दो छ, त्यसको तुलनामा यसको रोकथामको काम भने खासै हुन सकिरहेको छैन । अथवा भनौँ, यस्तो त्रासदीपूर्ण अवस्थाको रोकथाममा घरपरिवार, समाज र राज्यले खासै चासो दिएको देखिन्न । अप्रिय घटना घटेको केही समयसम्म केही विज्ञका अन्तर्वार्ता आउने, केही लेख रचना प्रकाशित हुने, धेरथोर हल्ला हुने गरे पनि न्यूनीकरणका लागि ठोस कार्यक्रम बनाउनतर्फ भने कसैको पनि ध्यान पुग्न सकेको देखिन्न ।

जति–जति समय घर्किंदै गएको छ, त्यति नै नेपाली युवापुस्ता जोखिममा धकेलिँदै गइरहेको छ । नेपाल प्रहरीको पछिल्लो तथ्यांकले हाल नेपालमा दैनिक १९ जना मानिसले आत्महत्या गर्ने गरेको देखाएको छ, जुन पछिल्लो पाँच वर्षको तुलनामा ७२ प्रतिशतले बढेको हो । यो त दर्ता भएका घटनाको तथ्यांक मात्र हो । परिवारको सम्मानमा आँच आउने, कलंक लाग्ने डर आदि इत्यादि कारणले कैयौँ घटनाबारे कतै रिपोर्ट नै हुँदैन र त्यस्ता घटनाको तथ्यांक पनि कहीँकतै पाइँदैन ।

तथ्यांकले युवापुस्ता गम्भीर मानसिक समस्यामा फसिरहेका छन् भनेर हाम्रो राज्यलाई पटक–पटक सजग गराइरहेका छन्, तर राज्यले भने यसलाई नजरअन्दाज गर्दै आइरहेको छ
 

विश्वव्यापी तथ्यांक : विश्वको कुल बालबालिकाको १० देखि २० प्रतिशत बालबालिकामा मानसिक वा भावनात्मक समस्या रहेको वास्तविकतालाई पनि तथ्यांकले देखाएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सन् २०२१ को एक तथ्यांकअनुसार विश्वका हरेक सातजनामा एकजना किशोर–किशोरीले कुनै न कुनै रूपमा मानसिक समस्या अनुभव गर्छन् । जसमध्ये आधामा १४ वर्षभन्दा अगाडि नै मानसिक समस्या सुरु हुन्छ र त्यो लामो समयसम्म रहिरहन्छ । 

१५ देखि २९ वर्ष उमेर समूहका युवाको मृत्युमा आत्महत्या चौथो ठूलो कारणका रूपमा देखा पर्नुले पनि विश्वमै युवापुस्तामा मानसिक स्वास्थ्यको जोखिमको अनुमान लगाउन त्यति मुस्किल नहोला । डिप्रेसन, एन्जाइटी र व्यावहारिक अक्षमता युवापुस्तामा देखिने प्रमुख मानसिक समस्या रहेका छन् । आत्महत्याको प्रत्यक्ष सम्बन्ध मानसिक स्वास्थ्यसँग हुन्छ । त्यसैले, नेपाली युवापुस्तामाझ मानसिक स्वास्थ्यमा बढ्दै गइरहेको जोखिमलाई सहज रूपमा लिन नहुने देखिन्छ । 

तथ्यांकमा नेपाल :  विश्व स्वास्थ्य संगठनको आत्महत्या रोकथामको अभियानमा हस्ताक्षर गरेपछि आधिकारिक रूपमा राज्यका तर्फबाट पहिलोपटक मानसिक स्वास्थ्यसम्बन्धी सर्वेक्षण सन् २०१७ देखि मात्र गरिएको हो । जसले किशोर–किशोरीमा मानसिक समस्याको दर ५.२ प्रतिशत देखाएको छ । अझ यसमा पनि १६ र १७ वर्षका उमेर समूहमा मानसिक समस्याको दर ७.१ प्रतिशत छ ।

१५ देखि २९ वर्ष उमेर समूहका युवाको मृत्युमा आत्महत्या चौथो ठूलो कारणका रूपमा देखापर्नुले पनि विश्वमै युवापुस्तामा मानसिक स्वास्थ्यको जोखिमको अनुमान लगाउन सकिन्छ 
 

मानसिक समस्या भएकामध्ये ३.९ प्रतिशतमा आत्महत्या गर्नेसम्मका सोच आएकोे देखिनाले एउटा डरलाग्दो तथ्य हामीसामु उजागर भएको छ । नेपाल प्रहरीको आत्महत्यासम्बन्धी तथ्यांकले पनि मानसिक स्वास्थ्यलाई गम्भीर रूपमा लिन ढिलो भइरहेको संकेत गर्छ । विसं २०७५ मा हरेक दिन १.५ जना १८ वर्षभन्दा मुनिका किशोर–किशोरीले आत्महत्या गर्थे भने पछिल्लो दुई वर्षमा प्रतिदिन सो उमेर समूहका दुईजनाले आत्महत्या गर्ने गरेको पाइएको छ । 

बढ्दो जनसंख्यासँगै बढेको जोखिम :  विसं २०७८ कोे जनगणनाले नेपालको इतिहासमै काम गर्ने उमेर समूह अर्थात् १५ देखि ५९ वर्षका मानिसको संख्या कुल जनसंख्याको ६२ प्रतिशत रहेको देखाएको छ । यो उमेर समूहलाई सदुपयोग गरेर उत्पादनमा लगाउन सकियो भने देशको आर्थिक स्थितिमा उल्लेख्य सुधार आउने विज्ञहरू बताउँछन् ।

वर्तमान नेपालको समग्र राजनीतिक अवस्थालाई हेर्दा भने यो उमेर समूहको जनसंख्या बढ्नुको सकरात्मक फाइदा नेपालले उठाउन सकिरहेको या सक्ने देखिन्न । अहिले यो समूहलाई उचित व्यवस्थापन गर्न नसके यो समूह बुढेसकालसम्म पुग्दा देशमा आर्थिक भारको पहाड सिर्जना हुनेछ ।

हाल १० देखि २९ वर्ष उमेरका किशोर–किशोरी तथा युवा–युवतीको संख्या कुल जनसंख्याको करिब ३८ प्रतिशत छ । विश्व जनसांख्यिक इतिहासमा यो समूहलाई उत्पादनमा भाग लिन सक्ने जनसंख्या मानिएको हुनाले यस उमेर समूहको संख्या वृद्धिलाई सकारात्मक रूपमा लिनुपर्ने भए पनि नेपालमा भने यसबाट झन् ठूलो समस्या पो आउने हो कि भन्ने आशंका बढ्न थालेको छ । मानसिक समस्यासम्बन्धी पछिल्ला तथ्यांकले पनि यो आशंकलाई थप बल दिएका छन् । 

पछिल्लो जनगणनाले नै नेपालको कुल घरधुरीको संख्यामा २३ प्रतिशतले वृद्धि भएको देखाउँछ । जसको अर्थ एकल परिवारको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएको छ । एकल परिवारका कारण बालबालिकालाई खेल्ने साथीको अभाव हुनुका साथै उनीहरूले अभिभावकको पर्याप्त समय पनि पाइरहेका छैनन् । जसको सीधा असर बालबालिकाको मानसिक स्वास्थ्यमा पर्दै गइरहेको छ । 

२९ वर्षभन्दा कम उमेर समूहका किशोर–किशोरी र युवा–युवतीमा मानसिक समस्या देखिनुका केही कारण निम्न देखिन्छन्, पारिवारिक बेमेल, एक्लोपन, सामाजिक सञ्जालको प्रभाव, भुइँचालोको प्रभाव, कोभिडले पारेको असर, पढाइलेखाइको बोझ, भौतिक वस्तुप्रतिको बढ्दो लगाव, वैदेशिक रोजगारीका लागि पलायन, यौनकर्ममा कम सहभागिता आदि । 

यसरी बढेको युवापुस्ताको तथ्यांकलाई हेर्दा जति आशावादी हामी हुनुपर्ने हो, त्यति हुन सकिरहेका छैनौँ । राज्यसँग यो पुस्तालाई कसरी उत्पादनमा जोडेर त्यसको प्रत्यक्ष लाभ लिने भन्ने कुनै पनि ठोस योजना नहुँदा नेपालले आर्थिक रूपमा फड्को मार्ने एउटा सुनौलो मौका गुमाउँदै छ । साथै, यिनै युवा मानसिक स्वास्थ्य समस्याको चंगुलमा पनि जानी–नजानी फस्दै गइरहेका छन् । तथ्यांकहरूले राज्यलाई पटक–पटक सजग गराइरहेका छन्, तर राज्यले भने यसलाई नजरअन्दाज गर्दै आइरहेको छ । 

कहिल्यै नखुलेको चेत : निजी तथा सरकारी क्षेत्रबाट सानातिना पहल भएको देखिए पनि राज्यको तहबाट किशोर–किशोरीको मानसिक समस्यालाई लक्षित गरेर कुनै पनि ठोस कार्यक्रम अगाडि आएको देखिँदैन । युवापुस्ताको संख्या अझ बढ्नेछ भनेर विसं २०६८ कै तथ्यांकले इंगित गरिसक्दा पनि यो पुस्तालाई लक्षित गरेर विगतमा कुनै पनि योजना बनाइएन । जसको फलस्वरूप नै आज नेपालको युवापुस्ताको ठूलो हिस्साले कुनै न कुनै किसिमको मानसिक समस्या झेलिरहेको छ । विकसित भनिएका जापान, दक्षिण कोरिया, अमेरिका, चीन र भारतमै पनि मानसिक स्वास्थ्य समस्या र आत्महत्याले राज्यसामु ठूलो चुनौती प्रस्तुत गरिरहेको छ । 

हामीले यी राष्ट्रको भयावह तथ्यांकबाट अझै पनि पाठ सिक्न ढिला गर्यौं भने यसले भोलिका दिनमा झनै विकराल रूप लिने निश्चित छ । जसका कारण नेपालको स्वास्थ्य क्षेत्र मात्र नभई समग्र सामाजिक–आर्थिक–राजनीतिक अवस्थालाई नै यसले धराशयी बनाउन सक्ने खतरा देखिन्छ । 

अवस्था यति गम्भीर हुँदै जाँदा पनि हामीले मानसिक स्वास्थ्यसम्बन्धी छुट्टै नीति बनाउन सकेका छैनौँ । सोलोडोलोमा सामान्य स्वास्थ्य समस्याअन्तर्गत नै राखेर कुनै कोठेबैठक तथा सेमिनारमा मात्र यसलाई सीमित गरिएको छ । नेपालको स्वास्थ्य तथ्यांकले डाक्टर र बिरामीको अनुपात १:८५० काठमाडौंमा र १:१५०,००० दुर्गम क्षेत्रमा रहेको छ । जब कि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार १:१००० रहेको हुनुपर्छ । हाल नेपालमा दर्ता भएका चिकित्सक ३२ हजार २१८ र नर्स ७२ हजार ५५० रहेका छन् । जसमा ०.२२ मानसिक चिकित्सक र ०.०६ साइकोलोजिस्ट छन् । जसको अर्थ एकजना मानसिक चिकित्सकबराबर एक लाख बिरामी पर्न आउँछन् । जनस्वास्थ्य सरकारको दायित्व भए पनि निजीकरण र चरम व्यवसायीकरणका कारण यो सामान्यस्तरका आमजनताको पहुँचभन्दा निकै माथि छ । 

नेपालमा हुर्कंदै गरेको या हुर्किइसकेको युवापुस्ता मानसिक स्वास्थ्यको बढ्दो जोखिममा छ । जुन जोखिमसँग कसरी लड्न सकिन्छ भनेर राज्य भने बेखबर बनेर बसेको छ । अत्यासलाग्दो तथ्यांकले संकटको संकेत गरिसकेको छ । अब पनि राज्यले मानसिक समस्याको हल गर्न आफ्नो प्रस्ट एकीकृत नीति बनाएर सरोकारवाला सबै पक्षसँग हातेमालो नगर्ने हो भने हाम्रासामु चुनौतीको पहाड खडा हुनेछ । जसले समग्र विकासको मेरुदण्ड मानिने युवा जनसंख्यालाई नै प्रत्यक्ष रूपमा गम्भीर नकारात्मक असर गर्नेछ ।

(बटाजू जनस्वास्थ्यकर्मी तथा छिरिङ समाजशास्त्रका विद्यार्थी हुन्)

ad
ad
ad
ad