सहरमा एकजना धनी व्यापारी बस्थे । उनी जति धनी थिए, त्यति नै दानी पनि थिए । उनी दीनदुःखीको दुःख देख्नै सक्दैनथे । उनको दैलामा पुग्ने दीनदुःखीले कहिल्यै निराश भएर फर्किनु पर्दैनथ्यो ।
एकदिन उनको ढोकामा एक महिला पुगिन् । उनको कपाल छरपस्ट थियो । आँसु बगिरहेका आँखा राता देखिन्थे । उनलाई देखेर व्यापारीले त्यसरी आउनुको कारण सोधे । ती महिलाले रुँदै भनिन्– मेरा पतिको दुई वर्षअगाडि मृत्यु भयो । मेरो एउटा छोरो छ । त्यसलाई पनि अहिले निकै कडा रोगले समातेको छ । डाक्टरले उसलाई बचाउन धेरै खर्च लाग्छ भन्नुभएको छ । तर, मसित फुटेको कौडी पनि छैन । अब उसलाई कसरी बचाऊँ ? त्यसैले, केही सहायता पाउँछु कि भनेर यहाँ आएकी हुँ हजुर !
ती महिलाको दुःखपूर्ण कहानी सुन्दा व्यापारी निकै दुःखी भए । उनले आफ्ना सहयोगीलाई ती महिलालाई ५० हजार रुपैयाँ दिन अह्राए । सहयोगीले ती महिलाका कुरा झुटा पनि हुन सक्ने भएकाले यथार्थ बुझेर मात्र रकम दिनु ठीक हुने बताए । तर, व्यापारीले उनको कुरा मानेनन् । उनले महिलालाई ५० हजार दिएरै पठाए । एक दिन व्यापारीका सहयोगी स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै बजारबाट फर्किए । उनले व्यापारीलाई भेटेर भने– हजुरले जसलाई ५० हजार दिनुभएको थियो, ती महिला त ठग नै रहिछिन् । उनको छोरो बिरामी पनि छैन र उनका श्रीमान् मरेका पनि छैनन् । प्रहरीले ठगीको आरोपमा उनलाई पक्राउ गरेको छ र हामीले दिएको पैसा पनि बरामद गरेको छ ।
तिमीले ल्याएको खबर सुन्दा मलाई धेरै खुसी लाग्यो । तर, आफ्नो पैसा बचेको खबरले होइन, कुनै एउटा बालक गम्भीर रोगबाट ग्रस्त रहेनछ भन्ने सुनेर मलाई निकै खुसी लागेको छ । यो मेरा लागि निकै ठूलो खुसीको खबर हो ।