१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
घाँसखेती देखाउँदै व्यवसायिक किसान रुद्रनाथ शर्मा । तस्बिर : नारायण रिजाल/नयाँ पत्रिका
२o८१ असार ३ सोमबार १७:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बाँझो जमिनमा घाँस लगाएर पशुपालन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार १७:२२:oo

चार वर्ष पहिले बागलुङको जैमिनी नगरपालिका– १ टुनिबोट गाउँ भरिभराउ थियो। यहाँका स्थानीयको घरवरिपरि खेतीपाती र अन्नबालीले हरियाली हुन्थ्यो। २०७७ भदौमा बस्तीमाथिबाट आएको पहिरोले एउटै गाउँमा दुईजनाको ज्यान लियो। आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे।

पहिराले आक्रान्त बनी जोखिम मोलेर बसेका टुनिबोट गाउँका झन्डै तीन दर्जन घरपरिवार गाउँ नै छाड्न बाध्य भए। पहिरोको डरले यहाँका स्थानीय विस्थापित बनेपछि गाउँ शून्य बन्यो। घरवरिपरिको खेतबारी पनि बाँझै रह्यो। त्यही बाँझिएको जग्गामा अहिले घाँसखेती गरी पशुपालन व्यवसाय सञ्चालन गरिएको छ।

बाँझिएको खेतीयोग्य जमिन उपयोग
जैमिनी नगरपालिका–१ कै स्थानीय रुद्रनाथ शर्माले पहिरोका कारण विस्थापित परिवारको जग्गा भाडामा लिएर घाँसखेती र पशुपालन सँगसँगै सञ्चालन गरेका छन्। बाँझिएको खेतीयोग्य जमिनको उपयोग गर्दै घाँसखेतीबाट शर्माले व्यावसायिक रूपमा नै गाईभैँसी पालेर दैनिक ४० लिटर दुध उत्पादन गर्दै आएका छन्।

टुनिबोटका स्थानीय कृतिनाथ शर्माको विगत ३ वर्षदेखि बाँझो रहेको १० रोपनी क्षेत्रफलको खेतमा उनले घाँसखेती गरेका छन्। पहिरोका कारण रित्तिएको गाउँको खेतमा घाँसखेती गरेर रुद्रनाथनले आफ्नो व्यावसायिक पशुपालनलाई सहज बनाएका छन्। उनले वार्षिक २५ हजार रुपैयाँ भाडा तिरेर घाँसखेती र पशुपालन सञ्चालन गरेका हुन्। शर्माको गोठमा अहिले ५ वटा गाई र २ वटा भैंसी रहेका छन्। वर्षौंदेखि दुध उत्पादनका निम्ति गाईभैँसी पाल्दै आएका शर्मालाई बाँझो जमिनमा घाँसखेती गरेसँगै पशुपालनमा सहज र दुध उत्पादनमा पनि वृद्धि भएको बताउँछन्।

शर्मा मात्र होइन, जैमिनी नगरपालिका–७ छिस्तीका रघुनाथ पौडेल, बागलुङ नगरपालिका–१२ टाकुरीका मुक्तिराम शर्मालगायत व्यावसायिक रूपमा पशुपालन गरेका किसान र समूहले बाँझो जग्गामा घाँसखेती गरेका छन्।

बाँझो जग्गामा घाँसखेती प्रवर्द्धन कार्यक्रम
गण्डकी प्रदेश सरकारको ‘बाँझो जग्गामा घाँसखेती प्रवर्द्धन कार्यक्रम’अन्तर्गत बाँझो जमिनको सदुपयोग गर्न भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले घाँसखेती गर्ने किसानका निम्ति अनुदान प्रदान गरिरहेको छ।

प्रदेश सरकारको बाँझो जग्गामा घाँसखेती गर्न प्रोत्साहन कार्यक्रम सञ्चालन मापदण्ड २०८० अनुसार किसानहरूलाई प्रतिरोपनी ३ हजारका दरले अनुदान प्रदान गरिएको पशुसेवा केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. ऋषिराम सापकोटाले बताए। बसाइँसराई, जनशक्तिको अभाव बाँदर आतंकका कारण तीन वर्षसम्म खेती नगरी बाँझो रहेको जमिनमा केन्द्रले अनुदानको व्यवस्था गरेको छ।

अनुदानको लागि कार्यालयले तोकेका सुपर नेपिएर सिम्बो, मोलातो, रेड नेपिएरलगायतको उन्नत जातको घाँस लगाउनुपर्ने प्रावधान राखिएको छ। खेर गएको खेतीयोग्य जमिनको सदुपयोग हुने र पशुचौपायाको लागि दानामा हुने खर्च घट्ने भएकाले गण्डकी प्रदेश सरकारले किसानको राहतका लागि ‘बाँझो जग्गामा घाँसखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरेको डा. सापकोटाले जानकारी दिए।

७० रोपनीका लागि आवेदन पर्‍यो
केन्द्रका अनुसार बागलुङमा ६ सय रोपनीका लागि १८ लाख रुपैयाँ रकम विनियोजन भएको थियो। तर, घाँसखेती प्रर्वद्धन कार्यक्रमका निम्ति भने जम्मा ७० रोपनी बाँझो जग्गाका लागि आवेदन परेर सम्झौता भएको डा. गौतमले जानकारी दिए।

‘विज्ञकेन्द्रले किसानलाई अनुदान प्रदान गर्नका निम्ति गत मंसिर ८ गते पहिलो र पौष १० गते दोस्रोपटक सूचना गर्‍यो, स्थानीय तहका पशु शाखाबाट पनि किसानका लागि जानकारी गराउन लगायौँ। जिल्लाको पश्चिम क्षेत्रबाट खासै आवेदन परेको छैन,’ कार्यालय प्रमुख सापकोटाले भने, ‘प्रतिरोपनी ३ हजार रुपैयाँ मात्र रहेका कारण किसानले थोरै महसुस गरेर यसमा चासो नदिएको पाइयो। कार्यक्रमको मापदण्डभित्र रहेर यस वर्ष ७० रोपनी बाँझो जग्गामा घाँसखेतीका लागि किसानको आवेदनसँगै सम्झौता भएको छ। कार्यालयले अनुगमन गरी अनुदान प्रदान गर्नेछ।’

बर्षातको घाँस हिउँदमा काम
घाँसखेतीले पशुपालनका लागि सहज हुने भएको हुँदा प्रदेश सरकारले यो कार्यक्रम अगाडि बढाएको हो। वर्षातमा गाईभैँसीलाई खुवाएर बढी भएको घाँस सुकाएर राखिएमा हिँउदको समयमा पनि काम लाग्ने हुँदा यो अति नै उपयोगी रहेको केन्द्रका पशु स्वास्थ्य अधिकृत केशव पौडेललले जानकारी दिए। 

व्यवसायी पशुपालन गरेका कृषकहरूलाई सहज हुनुका साथै अन्य समूहबाट घाँस उत्पादन गरेर बिक्री गर्नसमेत सकिने पौडेलले बताए। उन्नत जातको घाँसको बिरुवा प्रतिगोटा २-३ रुपैयाँ पर्छ भने यो अहिलेको अवस्थामा बाहिरबाट आयात गर्नुपर्ने अवस्था नरहेको केन्द्रले जनाएको छ।

ad
ad
ad
ad