१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ असार ३ सोमबार o६:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

६ केजी सुनसहित चिनियाँ पक्राउ

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार o६:१३:oo

विमानस्थलबाट सुन तस्करी गर्ने गिरोह खोज्ने क्रममा प्रहरीले एक चिनियाँलाई ६ केजी सुनसहित पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले लुकाएर राखेको सुनसहित चिनियाँलाई काठमाडौंको कपनबाट पक्राउ गरेको हो । 

सिआइबी अहिले सुन तस्करी घटनाको दोस्रो चरणको अनुसन्धानमा छ । सिआइबीले यो अनुसन्धानमा १८ जनालाई पक्राउ गरी संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ । पक्राउ परेका चिनियाँसहित सुनका ६ बिस्कुट बरामद भएको र त्यसको परीक्षण भने हुनै बाँकी रहेको सिआइबीका एक उच्च अधिकारीले बताए । ‘त्यो सुन पहिले नै ल्याएर बेच्न नसकेको बुझिएको छ,’ अनुसन्धानमा आबद्ध सिआइबीका ती अधिकारीले भने, ‘पक्राउ परेका चिनियाँको अवैध क्रिप्टो र युएसडिटी कारोबारमा पनि संलग्नता देखिन्छ ।’ 

चिनियाँ नेतृत्वको गिरोहले एक वर्षको अवधिमा करिब २८ सय केजी सुन तस्करी गरेको सिआइबीको अनुसन्धानबाट पुष्टि भइसकेको छ । तस्करीमा सघाउने तथा तस्करीको पैसा विदेश पठाउन सघाउने गिरोहमाथि सिआइबीले अनुसन्धान गरिरहेको छ । जस क्रममा थप एक चिनियाँ सुनसहित नै पक्राउ परेका हुन् । 

गत वर्ष २ साउनमा राजस्व अनुसन्धान विभागले ब्रेकसुमा लुकाएर विमानस्थलबाट पास गराइएको ६१ केजी सात सय ग्राम सुन बरामद गर्दा तस्करीको रहस्य खुलेको थियो । सो समूहले पटक–पटक सुन तस्करी गरेको खुले पनि थप सुन बरामद हुन सकेको थिएन । ११ महिनापछि थप ६ केजी सुन बरामद भएको हो ।

 सिआइबीले सुन तस्करीमा संलग्न राजु खत्री, सुरेन्द्रमान श्रेष्ठ, प्रशान्त गणेश बजबलर, सिद्धनाथ गायकवाड, दिनेश भोईटे, बैजनाथ ब्रम्हादत्त लगायतलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरूमाथि अनुसन्धान गर्दा सुन तस्करीको पैसा डिजिटल मोबाइल वालेट कम्पनीहरू पेवेल नेपाल र सजिलोपे कम्पनीको समेत संलग्नता पुष्टि भएको छ । ती कम्पनीले हुन्डीमार्फत् सुनको पैसा विदेश पठाएको थियो । 

सिआइबीले पेवेल नेपालका अध्यक्ष भिमप्रसाद तिमल्सिनासहित, सिइओ प्रज्वल आचार्य र सुरजशमशेर जबरा तथा सजिलो पे पेमेन्टका सञ्चालक सुशील जाकिबन्जा र फुन्सुक डाग्पा अथुप्छाङ खम्पा र प्रमुख कार्यकारी कश्यम मानन्धरलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । दुई कम्पनीबाट करिब दुई वर्षमा एक खर्बभन्दा धेरै अवैध कारोबार भएको सिआइबी दाबी छ । उनीहरूले नेपालमा तस्करीको सुन किन्ने व्यक्तिलाई आफ्नो खातामा पैसा हाल्न लगाउने र उनीहरूलाई कोरिया तथा अष्ट्रेलियाबाट पैसा उपलब्ध गराएको अनुसन्धानमा पुष्टि भएको छ । यस प्रकरणमा यसअघि सिआइबीले तीन सय ६२ केजी सुन तस्करी गरेको अभियोगसहित २९ जनाविरुद्ध गत वर्ष ३१ भदौमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो । जसमध्ये ६० किलो सात सय १६ ग्राम सुन बरामद भएको थियो । 

सिआइबीले विशेषज्ञ र प्राविधिकहरूसमेतको सहयोग लिएर यस विषयमा विस्तृत अनुसन्धान गर्दा २८ सय केजीभन्दा धेरै तस्करी गरेको पुष्टि भएको हो । सो गिरोहले ब्रेक सुका साथै पानी तान्ने पम्प, स्मार्ट वाच, इलेक्ट्रिक सेभिङ मेसिनलगायत सामानभित्र लुकाएर विमानस्थलबाटै सुन तस्करी गरेका थिए । दोस्रो चरणको अनुसन्धान यही साता सकाएर सिआइबीले सरकारी वकिलमा प्रतिवेदन बुझाउने तयारी गरेको छ । दोस्रो चरणमा सुन किनबेच गर्ने समूहका साथै हुन्डी, क्रिप्टो तथा यूएसडिटीको अवैध कारोबार गर्ने समूहहरू पत्ता लागेका छन् । 

ad
ad
ad
ad