१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १ शनिबार
  • Friday, 21 June, 2024
२o८१ असार १ शनिबार o९:oo:oo
Read Time : > 5 मिनेट
ad
ad
ad
ad
खेलकुद

नेपालले खेलेको १० वर्षअघिको त्यो विश्वकप

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ असार १ शनिबार o९:oo:oo

अहिले नेपाली क्रिकेट टोली दोस्रोपटक टी–२० विश्वकप खेलिरहेको छ । १० वर्षअघि बंगलादेशमा भएको विश्वकपमा नेपालले पहिलोपटक भाग लिएको थियो । आयोजक राष्ट्रसँग झिनो रनरेटमा पछि रहँदा नेपाल दोस्रो चरणमा पुग्न सकेन । तर, त्यो विश्वकपमा हङकङ र अफगानिस्तानमाथि सनसनी जित निकाल्न सफल भयो । त्यही ऐतिहासिक प्रदर्शनका कारण विश्वभरि नै नेपाल क्रिकेट खेल्ने राष्ट्रका रूपमा चिनियो । एक दशकअघिको ऐतिहासिक विश्वकप यात्राका खेलाडीमध्येका एक हुन्, ज्ञानेन्द्र मल्ल । ४५ टी–२० आईमा एक शतक र दुई अर्धशतक प्रहार गरेका मल्लले विश्वकपमा सहभागीका क्रममा नेपालको तयारी र प्रदर्शनबारे नयाँ पत्रिकाका श्रीलोचन राजोपाध्यायलाई अनुभव सुनाए :

नेपालको क्रिकेट इतिहासमा पहिलोपटक टी–२० विश्वकपमा छनोट हुँदा सबै खुसी थियौँ । १० वर्षअघि र अहिलेको क्रिकेटमा निकै परिवर्तन आएको छ । अहिलेको जस्तो क्रिकेट क्रेज त्यो विश्वकपमा थिएन । अहिले नेपालको खेल हेर्न अमेरिकासम्म पुगेका छन् । नेपाल र नेदरल्यान्ड्सबीचको खेल भएको रंगशालामा नेपाली समर्थक भरिएका थिए । नेपाली क्रिकेटलाई कति माया गरेको भन्ने एउटा उदाहरण हो । सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपका लागि नेपाली टोलीले हाइपर्फमेन्स प्रशिक्षण पाएको थियो । 

हाइपर्फमेन्सअन्तर्गत युएईमा गएर प्रशिक्षण गर्न मौका मिलेको थियो । दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दुई अभ्यास खेल्यो । युएईसँगको अभ्यास खेल डे–नाइट थियो । जसले बंगलादेशको वातावरणसँग घुलमिल हुन सहज भयो । विश्वकपका लागि नेपालको तयारी राम्रो नै थियो । यद्यपि, हामीले धेरै समय प्रशिक्षण गर्न समय नपाए पनि खेलाडीभित्रको जोस बिलकुल फरक थियो । दक्षिण एसियामै विश्वकप भएका कारण कन्डिसनमा केही फरकता थिएन । अहिले अमेरिका र वेस्ट इन्डिजले आयोजना गरिरहेको विश्वकपको कन्डिसन बुझ्न नेपाली खेलाडी एक महिनाअघि नै त्यहाँ पुगे । हामी सीमित बजेट र स्रोतमै विश्वकपमा सहभागी भएका थियौँ । 

टिकट हुनुपर्ने फस्र्ट क्लास, तर भयो इकोनोमीको
हामी युएईमा प्रशिक्षण गरी सीधै बंगलादेश गएका थियौँ । हामी सवार प्लेनमा युएईका खेलाडी फस्र्ट क्लासमा रहेको पायौँ । हामी नेपाली खेलाडी इकोनोमी क्लासमा थियौँ । पछि मात्र थाहा भयो, आइसिसीले विश्वकपमा सहभागी सबै टोलीका खेलाडीलाई फस्र्ट क्लासमा राख्नुपर्ने प्रोटोकल बनाएको रहेछ । इकोनोमी क्लासमा प्लेनमा सवार गर्दा खिन्न भएँ । बंगलादेशमा टेक्दा म मात्र नभएर अन्य खेलाडी निकै नर्भस थिए । पहिलोपटक विश्वकप खेल्न आइरहेका छौँ । प्रत्येक खेलमा कस्तो प्रदर्शन हुने किसिमका प्रश्नहरू थिए । 

होटेलदेखि मैदानसम्म सहभागी टोलीलाई भिभिआइपी सुरक्षा प्रबन्ध मिलाएको थियो । हामी होटेलबाट यात्रा गर्दा पूरै रोड खाली हुन्थ्यो । हाम्रो सुरक्षामा दायाँ–बायाँ, अगाडि–पछाडि पूरै विशिष्ट सुरक्षाकर्मी हुन्थे । नेपालमा राष्ट्राध्यक्ष सवारी हुँदा जुन किसिमको सुरक्षा व्यवस्था हुन्छ, त्यसवेला बंगलादेशमा हामीले त्यही किसिमको सुविधा पायौँ । अहिले पनि त्यो सम्झँदा मज्जा लाग्छ । बंगलादेशको वेल अर्गनाइज विश्वकप थियो । 

विश्वकपको तयारी रूपमा आयरल्यान्ड र युएईसँग पनि अभ्यास खेल भयो । चिटगाउँमा प्रशिक्षण चलेको थियो । धेरै अभ्यास गरेनौँ । दिनमा दुईदेखि चार घण्टा मात्र प्रशिक्षण चलेको थियो । त्यही निश्चित समयमै सबैले प्रशिक्षण गर्नुपथ्र्यो । रंगशालाको साइडमा फिल्डिङ र नेट अभ्यास गर्न पाउँदा सबै खेलाडी खुसी नै थिए । 

हङकङ नयाँ प्रतिद्वन्द्वी थिएन
विश्वकपको पहिलो खेल हङकङसँग थियो । उनीहरू नयाँ प्रतिद्वन्द्वी भने थिएनन् । यसअघि उनीहरूसँग धेरैपटक प्रतिस्पर्धा भएको थियो । हामीले धेरैपटक हरायौँ पनि । यसकारण विश्वकपको डेब्यु खेलमा हामीमाथि त्यति धेरै दबाब थिएन । हङकङविरुद्ध केही गर्नुपर्छ भन्ने भावना थियो । खेलमा नेपाली खेलाडीमाथि सबैको नजर थियो । हामीले कस्तो र कसरी खेल्छन् भन्नेजस्ता प्रश्न थिए । टी–२० विश्वकपअघि नेपालले न्युजिल्यान्डमा एकदिवसीय विश्वकप छनोटमा राम्रो नतिजा निकाल्न सकेन । बंगलादेशमा राम्रो गर्नुपर्ने दबाब भने थियो । यहाँ राम्रो क्रिकेट खेलेर नेपालको नाम राख्नुपर्ने योजना थियो । खेल डे–नाइट हुँदा बिहान अलि नर्भस र एक्साइटेड थिएँ । बिहानदेखि दिउँसोसम्म खाली नै थियो । रंगशालामा जाने कति वेला हो । त्यहाँको लाइभमा नेपालका समर्थकले विश्वभरि नै हेरेका हुन्छन् । उनीहरूलाई निराश बनाउनुहुन्न भन्ने भावना खेलाडीका थिए । जब चिटगाउँको रंगशालामा हामी पुग्यौँ, त्यसवेलाको माहोल फरक पायौँ । सोचेभन्दा धेरै नेपाली दर्शक देखेँ । टसपछि खेलमै हामीले फोकस गर्‍यौँ । सुरुमा नेपालको ब्याटिङ राम्रो भएन । ओपनर छिट्टै आउट भए ।

त्यसपछि कप्तान पारस खड्का र मैले स्लो स्टार गर्‍यौँ । पिचमा बल सोचेभन्दा फरक आइरहेको थियो । त्यो पिचमा सेट हुँदा बिस्तारै रन बन्ने थियो । ब्याटिङ गरिरहँदा पारस–मबीच कुराकानी भइरहेको थियो । यहाँ कम्तीमा एक सय ४० वा एक सय ५० रन बनाउन सकियो भने नेपालले खेलमाथि नियन्त्रण लिन सक्छ । म र पारसले तेस्रो विकेटका लागि ८० रनको बलियो साझेदारी गर्न सफल भयौँ । योजनाअनुरूप हामीले आठ विकेट गुमाएर एक सय ४८ रनको योगफल खडा भयो । बलिङका क्रममा पारसले उत्कृष्ट सुरुवात दिलाए । उनले पहिलो बलमै हङकङको महत्वपूर्ण विकेट इफान लिए । फास्ट बलरसँगै स्पिनरले पनि बल लाइन एन्ड लेन्थमा फ्याँकेका थिए । उनीहरूलाई १७ ओभरमा ६९ रनमै रोक्यौँ । शक्ति गौचन र वसन्तले तीन–तीन विकेट लिएका थिए । 

बंगलादेशविरुद्ध चुक्यौँ
अघिल्लो खेलबाट हामी हौसिएका थियौँ । अब दोस्रो खेल टेस्ट तथा आयोजक राष्ट्र बंगलादेशसँग थियो । उनीहरूको घरेलु मैदान र समर्थकअगाडि नेपालको प्रदर्शन कस्तो हुन्छ भन्ने नै सबैका प्रश्न थिए । यद्यपि, बंगलादेशलाई पनि घरेलु मैदानमा पराजित हुने डर थियो । हामी विश्वकपकै नयाँ टोली थियौँ । यहाँबाट केही गुमाउनुपर्ने थिएन । केवल टेस्ट राष्ट्रविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब थियो । सबै खेलाडी जित लक्ष्यसहित मैदानमा उत्र्रियौँ । त्यहाँको कन्डिसनअनुसार हामीले राम्रो खेल्न सकेनौँ । स्लो पिच थियो । सुरुवात राम्रो थियो, तर सोचेजस्तो रन आइरहेको थिएन । बंगलादेशी फास्ट र स्पिनर बलरले नेपालका ब्याट्सम्यानलाई बाँधेर राखेका थिए । उनीहरूले बाउन्ड्री जाने किसिमका बल नै फ्याँकेनन् । 

माथिल्लो लेभलमा निरन्तर खेलिरहेको बंगलादेशविरुद्ध हामीले आफ्नो क्षमताअनुरूप ब्याटिङ प्रदर्शन गर्न सकेनौँ । हामीले स्कोर बोर्डमा पाँच विकेट गुमाएर एक सय २६ रन मात्र बनायौँ । नेपालले एक सय ४० रनजति बनाउँदा नतिजा जे पनि हुन सक्थ्यो । त्यस किसिमको कन्डिसनसँग बंगलादेशी ब्याट्सम्यानले राम्रोसँग बुझेका थिए । उनीहरूलाई घरेलु मैदानको फाइदा थियो । सहजै उनीहरूले दुई विकेट गुमाएर जित निकाले । खेलपछि डे«सिङ रुममा छलफल भएको थियो । नेपालले ड्यु फ्याक्टरको फाइदा लिन सकेन । स्कोर बोर्डमा थप रन चढाउँदा प्रतिस्पर्धात्मक खेल हुने थियो । वास्तवमा हामीभन्दा बंगलादेश निकै परिपक्व थियो । कसरी र कुन अवस्थामा खेल नियन्त्रणमा लिनुपर्छ भन्ने सिक्ने अवसर उनीहरूबाट पाएँ । मैदानमा तत्काल प्लान ‘ए’ सफल नहुँदा उनीहरूले ‘बी’ योजना लागू गरेका थिए । जुन हामीले गर्न सकेनौँ । टेस्ट खेल्ने र नखेल्ने राष्ट्रबीचको फरक यहीजस्तो लाग्छ । 

अफगानिस्तानसँगको बदला
हामीले खेलिरहेको समयमा अक्सर अफगानिस्तान बाधक बन्थ्यो । अन्तर्राष्ट्रिय क्रिकेटमा एउटा उचाइ लिने वेलामा अफगानिस्तानले हामीलाई रोक्ने काम गर्‍यो । विश्वकपको तेस्रो खेलमा उनीहरूलाई जसरी पनि हराउनुपर्छ । यसअघिका सबै हारको बदला एकै खेलमा लिनुपर्छ भन्ने भावनामा प्रतिस्पर्धामा गर्‍यौँ । एक किसिमले हामीसँग अफगानिस्तानलाई हराउनुपर्ने इख थियो । त्यो खेलमा यही इखले नै काम गरको जस्तो लाग्छ । सबैले आआफ्नो भूमिकाअनुसार प्रदर्शन गर्ने योजना बनेको थियो । विनोद भण्डारी र सदर भेसवाकरलाई अन्तिमसम्म फिनिस गर्ने जिम्मा थियो । 

सुवास खकुरेलले सुरुवात दिलाउने र जितेन्द्रले योर्कर फ्याँकेर दबाब बनाउने जिम्मेवारी पाए । यस खेलमा पनि सुरुवात स्लो नै भएको थियो । राम्रो खेल्दाखेल्दै म आउट हुन पुगेँ । हामीले पावर प्लेमा ४० रन बनायौँ । सुवास लयमा रहँदै ५६ रन बनाए । मैले ३२ रन तथा शरदले ३७ रन जोड्दा अफगानिस्तानलाई एक सय ४२ रनको लक्ष्य दिइयो । 

टी–२० मा अफगानी ब्याट्सम्यान निकै राम्रा थिए । हामीले सुरुदेखि नै विकेट लिँदै खेल पकडमा लियौँ । जितेन्द्रलाई युवा बलर सोमपालले साथ दिए । सुरुदेखि नै अन्तिमसम्म हामीमाथि अफगानिस्तानलाई हाबी हुन दिएनौँ । अझ सागरले कसिलो बलिङ गर्दा अफगानिस्तानका खेलाडी चल्न सकेनन् । अफगानिस्तानलाई एक सय ३२ रनमा रोक्दा नेपालले नौ रनको सनसनी जित निकाल्यो । विश्वकपमा उनीहरूलाई हराउँदा खुसी नहुने कुरै भएन । त्यसवेला हामी सबै खेलाडीले मैदानमा मज्जाले खुसी मनाएका थियौँ । 

झिनो रनरेटले पछि पर्‍यौँ
समूहको अन्तिम खेलमा हङकङले बंगलोदशविरुद्ध खेल्यो । हङकङले बंगलादेशलाई हराउँदा नेपाल अर्को चरणमा पुग्ने थियो । यही कामना हामीले गरेका थियौँ । खेलपछि होटेल आउँदासम्म हङकङले स्तब्ध नतिजा निकाल्न सक्ने आधार बनाइसकेको थियो । पछि खाना खाँदासम्म बंगलादेश उल्टै हाबी भइसकेको थियो । त्यो खेल बंगलादेशको अनुभवले जितेको थियो । टेस्ट राष्ट्रबाहेक अन्य हुँदा हङकङले सहजै खेल जित्ने थियो । नतिजा हङकङको पक्षमा नरहँदा नेपाल र बंगलादेशले समान चार अंक जोडेका थिए । रनरेटमा बंगलादेश अगाडि बढ्यो । हामी झिनो रनरेटले पछि पर्दा विश्वकपको पहिलो चरणमै रोकियौँ । 

राम्रो खेल्दाखेल्दै बाहिरिनुपर्दा दुःख लाग्छ नै । तर, नेपालले त्यस विश्वकपबाट संसारलाई एउटा चिनारी दियो, नेपाल पनि राम्रो क्रिकेट खेल्छ र यहाँ पनि खेललाई माया गर्ने दर्शक छन् । पहिलो सहभागीमै ऐतिहासिक प्रदर्शन गर्दा सबैले गर्वको महसुस गरे । प्रशिक्षक पुबुदु दासानायेकेले हामीलाई त्यो लेभलसम्म पुर्‍याउनुभएको हो । 

नेपालमा भव्य स्वागत
बंगलादेशमै रहँदा नेपालका विभिन्न स्थानमा विश्वकपको लाइभ दर्शकले हेरेका–सुनेका थिए । यतिसम्म विश्वास थियो, विमानस्थलमा हाम्रो स्वागत भव्य हुनेछ । जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर आउँदा दर्शकको क्रेज र स्वागत–सत्कार कल्पनाविपरीत थियो । नगर परिक्रमामा दर्शकले दरशथ रंगशालासम्म हामीलाई पछ्याइरहेका थिए । एक किसिमले जीवनमा कहिल्यै कल्पना नगरेको अनुभव गर्ने अवसर पाएँ । र, अहिले विश्वकपमा सहभागी भइरहेको नेपाली टोलीको कुरा गर्दा यो विलकुल ब्यालेन्स छ । सबै युवा छन् । केही गरौँ भन्ने भावना उनीहरूसँग छ । नेदरल्यान्ड्सविरुद्ध केही कमजोरी भयो । तर, श्रीलंकासँग वर्षाका कारण अंक बाँडिँदा दुःख लाग्यो । हामीलाई टेस्ट राष्ट्रविरुद्ध खेल्न एउटा राम्रो अवसर प्राप्त भएको थियो । 

ad
ad
ad
ad