१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १८ शुक्रबार
  • Saturday, 07 September, 2024
२o८१ जेठ १८ शुक्रबार २१:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कमल थापालाई उम्मेदवार बनाउने निर्णय गलत थियो : महासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १८ शुक्रबार २१:५१:oo

एमालेका महासचिव शंकर पोखरेलले गएको निर्वाचनमा उपयुक्त उम्मेदवारहरू छान्न नसक्दा पार्टीले ठूलो नोक्सानी व्यहोरेको दाबी गरेका छन्। 

शुक्रबारबाट सुरु भएको एमाले मकवानपुरको १२औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीले उम्मेदवार चयन गर्दा गरेको गल्तीको एउटा उदाहरण मकवानपुर जिल्ला पनि भएको बताए। 

४ मंसिर ०७९ को संसदीय निर्वाचनमा मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने पार्टीको निर्णय गलत सावित भएको उनको भनाइ थियो। 

महासचिव पोखरेलले गलत उम्मेदवारहरू उठाइँदा एमाले मुलुककै ठूलो पार्टी हुनबाट चुकेको र त्यसको प्रभाव अहिलेका राष्ट्रिय राजनीतिमा परिरहेको दाबी गरे। 

‘एमालेलाई मुलुककै ठूलो पार्टी बनाउन नसक्दा देशमा अस्थिरता बढेको छ। स्थिर सरकार पाउन सकिएको छैन। यसको खास कारण हामीले निर्वाचनका वेला उपयुक्त उम्मेदवार दिन नसकेरै हो,’ उनले भने।

महासचिव पोखरेलले मकवानपुरमा जुन विश्वासले कमल थापलाई टिकट दिइएको थियो त्यसमा उनी खरो उत्रन नसकेको दाबी गरे। उनले कमल थापासँग एमालेले टिकट दिने वेलामा खोजेको इमानदारी पछि पाउन नसकेको बताए। 

कमल थापाले आफू गणतन्त्रको पक्षमा रहेको उल्लेख गर्दै महासचिव पोखरेलले एमालेसँग टिकट लिए पनि त्यो इमानदारी नदेखाएको आरोप लगाए।

उनले एमाले मुलुकको सबैभन्दा ठूलो शक्तिको रूपमा स्थापित नहुँदासम्म स्थिरता र समृद्धि आउन नसक्ने दाबी गरे। त्यसकारण उनले पार्टीका कार्यकर्ताहरूलाई व्यक्तिको पछि नभई पार्टीको इमानदार कार्यकर्ता बन्न आग्रह पनि गरे।

शनिबारसम्म चल्ने अधिवेशनले एमाले मकवानपुरको नयाँ नेतृत्वको साथै एक सय पाँच सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ। पार्टीको नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास भइरहेको बताउँदै जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले सहमति बन्न नसके निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने जानकारी दिए।