Skip This
दिल्लीको तापक्रम ५२.३ डिग्री सेल्सियस मापन भएपछि सेन्सर जाँच गरिँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १७ बिहीबार
  • Saturday, 27 July, 2024
एजेन्सी नयाँदिल्ली
२o८१ जेठ १७ बिहीबार o८:५६:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

दिल्लीको तापक्रम ५२.३ डिग्री सेल्सियस मापन भएपछि सेन्सर जाँच गरिँदै

Read Time : > 1 मिनेट
एजेन्सी, नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ जेठ १७ बिहीबार o८:५६:oo

सेन्सर रिडिङ सही ठहरिए, यो विश्वकै सबैभन्दा उच्च तापक्रमभन्दा ४.४ डिग्री सेल्सियस मात्र कम हुनेछ । आधिकारिक रेकर्डअनुसार विश्वमा तापक्रमको रेकर्ड राख्न थालिएयता सबैभन्दा उच्च तापक्रम सन् १९१३ मा अमेरिकाको डेथ भ्यालीको ग्रिनल्यान्ड र्‍यान्चमा मापन भएको थियो, जुन ५६.७ डिग्री सेल्सियस थियो । 

भारतमा चलेको लुसँगै देशका उत्तरी भागमा तापक्रम उकालो लागेको छ । यस क्रममा बुधबार देशको राजधानी नयाँदिल्लीको एक टोल मंगेशपुरको अधिकतम तापक्रम ५२ डिग्री सेल्सियसभन्दा बढी मापन भएको अधिकारीले बताएका छन् । यो तापक्रम झन्डै तीन करोड जनसंख्या बसोवास गर्ने यस सहरमा तापक्रमण मापन रेकर्ड गर्न थालिएपछिकै सबैभन्दा उच्च भएको अधिकारीहरूले बताएका छन् । देशको क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख कुलदीप श्रीवास्तवका अनुसार मंगेशपुर क्षेत्रमा अवस्थित स्वचालित मौसम केन्द्रमा बुधबार दिउँसो साढे दुई बजे ५२.३ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । अघिल्लो दिन सो स्थानको तापक्रम ४८.३ डिग्री सेल्सियस मापन गरिएको थियो ।

मौसम पूर्वानुमान केनद्रका प्रमुखले ५२.२ डिग्री सेल्सियसको मापन निकै उच्च भएकाले सेन्सरले साँच्चै सही ‘रिडिङ’ गरेको विषयमा जाँच भइरहेको पत्रकारहरूलाई जानकारी गराएका छन् । यदि रिडिङ सही ठहरिए, यो भारतमा हालसम्म रेकर्ड भएकोमध्ये सबैभन्दा गर्मी दिन हुनेछ । साथै यो विश्वकै सबैभन्दा उच्च तापक्रमभन्दा ४.४ डिग्री सेल्सियस मात्र कम हुनेछ । आधिकारिक रेकर्डअनुसार विश्वमा तापक्रमको रकेर्ड राख्न थालिएयता विश्वको सबैभन्दा उच्च तापक्रम सन् १९१३ मा अमेरिकाको डेथ भ्यालीको ग्रिनल्यान्ड र्‍यान्चमा मापन भएको थियो, जुन ५६.७ डिग्री सेल्सियस थियो । 

भारत मौसम विज्ञान विभाग (आइएमडी) ले यसअघि नै बुधबार र बिहीबार दिल्लीलगायत देशको उत्तरी भेगका अधिकांश राज्यमा तातो हावाको लहर (लु) चल्ने चेतावनी जारी गरेको थियो । आइएमडीका अनुसार पञ्जाब, हरियाणा, चण्डीगढ, दिल्ली, राजस्थानका धेरै भाग, उत्तर प्रदेश, पूर्वी मध्यप्रदेश, पश्चिम मध्यप्रदेशका केही भाग, बिहार, झारखण्ड, उडिसा र जम्मुमा लुको सम्भावना छ । त्यस्तै हिमाचल प्रदेश, विदर्भ र छत्तीसगढमा पनि तातो हावा वहने उसको चेतावनी छ । अधिकारीहरूले उच्च गर्मीका कारण हृदय प्रणालीमा समस्या आउन सक्ने चेतावनी दिँदै निरन्तर पानी पिएर शरीरलाई ‘हाइड्रेटेड’ राख्न सुझाब दिएका छन् । 

यसअघि दिल्लीको सबैभन्दा उच्च तापक्रम सन् २००२ को मे महिनामा मापन गरिएको थियो, जतिवेला दिल्लीको केही भागको तापक्रम ४९.२ डिग्री सेल्सियस थियो । भारतमा गर्मीयाममा तापक्रम उच्च रहने भए पनि पछिल्ला वर्ष त्यसको तीव्रता र लम्बाइ बढ्दै गएको छ । वर्षौं लामो वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनका कारण गर्मी लामो र तीव्र हुने गरेको देखाएको छ । 

खानेपानीको अभाव
नयाँदिल्लीका अधिकारीले गर्मी बढेसँगै पानीका स्रोत पनि घट्दै जाने र केही क्षेत्रमा खानेपानीको अभाव हुन सक्ने चेतावनी दिएका छन् । दिल्ली राज्यकी जलमन्त्री आतिशी मार्लेनाले पानीको अनावश्यक प्रयोग रोक्न ‘सामूहिक जिम्मेवारी’ लिन आह्वान गरेकी छन् । ‘पानीको अभावको समस्या समाधान गर्न हामीले धेरै क्षेत्रमा पानीको आपूर्ति दिनको दुईपटकबाट घटाएर दिनमा एकपटक गर्नेजस्ता धेरै उपाय अपनाएका छौँ,’ आतिशीले भनिन् । बचत गरिएको पानीलाई उच्च अभाव भएका क्षेत्रमा वितरण गरिने पनि मन्त्री आतिशीले बताइन् । 

मौसम विज्ञान विभागले गर्मीले स्वास्थ्यमा विशेषगरी शिशु, वृद्ध र दीर्घकालीन रोग भएकाको स्वास्थ्यमा असर पार्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । विशेषज्ञहरूले पछिल्लो समय उत्तर भारतमा आएको लुका लागि राजस्थान राज्यको मरुभूमिबाट फैलिएको तातो हावालाई जिम्मेवार बताएका छन् । सो राज्यको तापक्रमसमेत मंगलबार ५०.५ डिग्री सेल्सियस मापन गरिएको थियो । हालसम्म भारतको सबैभन्दा उच्च तापक्रम सन् २०१६ मा राजस्थानको मरुभूमि फलोदीमा मापन गरिएको थियो । त्यस वेला सो स्थानको तापक्रम ५१ डिग्री सेल्सियस मापन गरिएको थियो ।