
सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारीपीडित फेरि सडकमा आएका छन् । उनीहरूले शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा आन्दोलन सुरु भएको हो ।
महासंघका अध्यक्ष कुशलव केसीका अनुसार पीडितको समस्या समाधानमा सरकार गम्भीर नभएकाले देशैभरिबाट तेस्रो चरणको आन्दोलन सुरु गरिएको हो । महासंघले माइतीघरमा धर्ना र रिले अनशन सुरु गर्ने तयारी गरेको छ ।
सहकारीपीडितसँग सरकारले दुईपटक सहमति गरे पनि कार्यान्वयन नगरेको पीडितको गुनासो छ । गत वर्ष १८ साउनमा सरकारसँग सातबुँदे सहमति गरेपछि पीडितले आन्दोलन रोकेका थिए ।
पीडितको बचत फिर्ता गर्न कोष बनाउने, कर्जा असुलीलाई प्रभावकारी बनाउनेलगायतका सहमति भएका थिए । सरकारले केही सहकारी सञ्चालकलाई पक्राउ गरेर मुद्दा चलाए पनि पीडितले वर्षाैँसम्म आफ्नो रकम फिर्ता पाएका छैनन् । कतिपय सहकारीको ठगीमा अनुसन्धानमै ढिलाइ भएको छ ।