Skip This
लुम्बिनीमा आन्तरिक र भारतीयसँगै तेस्रो मुलुकका पर्यटक बढे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Saturday, 15 June, 2024
२o८१ जेठ ९ बुधबार १६:४९:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

लुम्बिनीमा आन्तरिक र भारतीयसँगै तेस्रो मुलुकका पर्यटक बढे

जापानका पर्यटक सुस्ताउँदा चीनबाट आगमन बढ्दो

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार १६:४९:oo

संसारभरका बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको संख्या बिस्तारै बढ्न थालेको छ। शान्तिका दूत गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा पर्यटक आकर्षण गर्न धार्मिक गतिविधिसँगै अन्तर्राष्ट्रिय व्यक्तित्वहरूलाई लुम्बिनीमा ल्याउँदा पर्यटकको संख्या बढेको हो।

कोभिडकालमा आन्तरिक तथा भारतीय पर्यटकको संख्यामा अत्यन्तै कमी आएकोमा पछिल्लो समय पर्यटन आगमनले लय लिन थालेको छ। सन् २०२० मा दुई लाख १० हजार ३३ नेपाली पर्यटकले लुम्बिनी भ्रमण गरेकोमा यो संख्या सन् २०२३ मा ६ लाख ५६ हजार दुई सय १८ पुगेको छ। यो वर्षको पछिल्लो चार महिनामा मात्रै यहाँ दुई लाख ३६ हजार नाै सय ३९ आन्तरिक पर्यटक आएको लुम्बिनी विकास कोषले जनाएको छ।

त्यस्तै, भारतीय पर्यटकको संख्या २०२० मा ३७ हजार दुई सय ६ रहेकामा सन् २०२३ मा दुई लाख ६६ हजार पाँच सय १० पुगेको थियो। सन् २०२४ को पहिलो चार महिनामा ८७ हजार दुई सय १७ जना भारतीय पर्यटक आएका छन्।

लुम्बिनीमा सबैभन्दा धेरै पर्यटक सन् २०१७ मा आएका कोषको तथ्यांक छ। तथ्यांकअनुसार सो वर्ष कुल १२ लाख ५१ हजार तीन सय ४६ पर्यटक लुम्बिनी आएका थिए।

जापानका पर्यटक सुस्ताउँदा चीनबाट आगमन बढ्दो
राहदानीवाहक अर्थात् भारतबाहेक तेस्रो मुलुकका मध्ये केही वर्अघि सबैभन्दा धेरै जापानका पर्यटक लुम्बिनी आउँथे। तर, अहिले जापानका पर्यटक सुस्ताउँदा चीनबाट पर्यटकको आगमन बढ्दो छ।

यहाँ सबैभन्दा धेरै तेस्रो मुलुकका पर्यटक सन् २०१९ मा आएका थिए। सो वर्ष एक सय १५ देशका एक लाख ७४ हजार १५ जना आएका कोषको तथ्यांक छ। सन् २०१८ मा तेस्रो मुलुकका एक सय आठ देशका एक लाख ६९ हजार नाै सय चार पर्यटकले पाइला टेकेका छन्।

कोषले सन् १९९४ देखि तेस्रो मुलुकका पर्यटक आगमनको तथ्यांक राख्न सुरु गरेको थियो। सो वर्ष २१ देशका २० हजार नाै सय ७२ राहदानीवाहक पर्यटक लुम्बिनी आएका तथ्यांक छ। जसमा सबैभन्दा धेरै जापानका रहेका छन्। जापानका ६ हजार पाँच सय आठ पर्यटक आउँदा श्रीलंकाका दुई हजार चार सय ४९, दक्षिण कोरियाका दुई हजार तीन सय ४४, थाइल्यान्डका एक हजार नाै सय ५१ र ताइवानका एक हजार सात सय ८२ पर्यटक आएका थिए।

त्यस्तै, सन् १९९५ मा कुल २० हजार २३ पर्यटक आउँदा जापानका ६ हजार चार सय ५४ आएका थिए। ताइवानका दुई हजार पाँच सय २७, दक्षिण कोरियाका दुई हजार तीन सय ९८, श्रीलंकाका एक हजार पाँच सय ४१ जना आएका थिए। सन् १९९६ मा २५ हजार चार सय पर्यटक आउँदा जापानका मात्रै नाै हजार चार सय पाँचजना आएका थिए। त्यसको अर्को वर्ष २३ हजार दुई सय ८० पर्यटक आएकोमा जापानका सात हजार नाै सय ६ जना रहेका थिए। सन् २०९८ मा २२ हजार एक सय ११ जना आएकामध्ये आठ हजार दुई सय ४७ जना जापानका थिए।

सन् २००० सम्म आइपुग्दा १४ हजार एक सय ३५ पर्यटक लुम्बिनी आएकोमा जापानी  पर्यटकको संख्या दुई हजार ६ सय ८५ थियो। त्यसयताका वर्षहरूमा अन्य देशका पर्यटकको तुलनामा जापानीको संख्या घट्दो रहेको छ। पछिल्लो चार महिनाको तथ्यांकमा थाइल्यान्डका पर्यटक १२ हजार ६२ जना आउँदा जापानीको संख्या पाँच सय १० जना रहेको छ।

जापानी पर्यटकको संख्या ओरालो लाग्दा चिनियाँँ पर्यटकको आगमन भने बढ्दो देखिन्छ। सन् १९९४ मा चीनका चार सय २६ पर्यटक आएकोमा त्यसयता बढ्दो छ। सबैभन्दा धेरै चिनियाँँ पर्यटक सन् २०१९ मा २१ हजार दुई सय ६९ जना लुम्बिनी आएका छन्। त्यस वर्ष लुम्बिनीमा श्रीलंकाका ४७ हजार पाँच सय सात, म्यानमारका ३० हजार सात सय ९१, थाइल्यान्डका २८ हजार तीन सय ६४ पर्यटक आएका थिए।

त्यस वर्ष जापानका जम्मा दुई हजार ५६ जना मात्रै लुम्बिनीमा आएका थिए। लुम्बिनीमा धेरै पर्यटक आउने शीर्ष पाँच देशको सूचीमा चीन रहेको छ। लुम्बिनीमा धेरै पर्यटक आउने मुलुकमा श्रीलंका, थाइल्यान्ड, म्यानमार, भियतनाम, चीन र दक्षिण कोरिया छन्। सन् २०१२ मा आठ हजार पाँच सय ९८ चिनियाँ पर्यटक आएकामा त्यसको अर्को वर्ष १३ हजार पाँच सय ६१ पुगेको थियो।

यो वर्षको पछिल्लो चार महिनामा लुम्बिनीमा ४८ हजार दुई सय १ पर्यटक आएकोमा चिनियाँ पर्यटकको संख्या चार हजार नाै सय ८० रहेको छ।

यस्ताे छ पर्यटक आगमन संख्या :

 

तेस्रो मुलुकका पर्यटक आकर्षण गर्नुपर्नेमा जोड
पछिल्ला वर्षहरूमा चिनियाँ पर्यटक लुम्बिनीमा बढे पनि भौगोलिक तथा धार्मिक–सांस्कृतिक हिसाबले यो संख्या अझै बढाउन सकिन्छ। जनसंख्या तथा नजिकको छिमेकीका हिसाबले चिनियाँ पर्यटकको संख्या अझै बढाउनुपर्ने पर्यटन व्यवसायीहरूको जोड छ।

बेलायत, ताइवान, सिंगापुर, रुस, म्यानमार, मलेसिया, जापान, इटाली, इन्डोनेसिया, फ्रान्स, क्यानडा, कम्बोडिया, अस्ट्रेलियालगायतका मुलुकका पर्यटकहरूको पनि छनाेटमा लुम्बिनी परेको छ। त्यस्तै अर्जेन्टिना, अर्मेनिया, बेल्जियम, बुल्गेरिया, ब्राजिल, चिली, कोस्टारिका, क्रोएसिया, साइप्रस, इजिप्ट, इस्टोनिया, इक्वेडर, घाना, ग्वाटेमाला, इरान, केन्या, लिबिया, लाओस्, उरुग्वे, स्विटजरल्यान्ड, स्विडेन, सुडान, स्लोभेनियालगायत मुलुकका पर्यटकसमेत आउने गर्छन्। ती देशका पर्यटक बढाउन सके यहाँको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुग्ने व्यवसायीहरूको धारणा छ।

तेस्रो मुलुकका पर्यटक बढाउन के गर्दै छ कोष ?
पर्यटन व्यवसाय फस्टाउँदै गएको अवस्थामा कोभिडका कारण ठूलो धक्का लागेको छ। कोभिडपछि सन् २०२० मा लुम्बिनीमा ४५ हजार तीन सय २९ राहदानीवाहक पर्यटक आउँदा सन् २०२१ मा एक हजार एक सय ९७ जना मात्रै आए।

तर, गत वर्षदेखि पर्यटन आगमनमा वृद्धि हुन थालेको छ। सन् २०२३ मा यहाँ ७६ हजार दुई सय १० जना तेस्रो मुलुकका पर्यटक आएका थिए। अघिल्लो वर्षको तुलनामा तेब्बरभन्दा बढी पर्यटक आए पनि अपेक्षाअनुरूप नभएको कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए। त्यसअघि सन् २०२२ मा २३ हजार नाै सय ४२ पर्यटक आएका थिए।

‘कोभिडले पुर्‍याएको क्षतिपूर्ति हुने गरी पर्यटन आउने अपेक्षा गरिएको थियो। तर, रसिया–युक्रेन द्वन्द्वको असर तेस्रो मुलुकका पर्यटनमा परेको छ,’ जनसम्पर्क प्रमुख राईले भने, ‘जापानी पर्यटक १९९४ सालयता केही वर्ष बढ्नुमा लुम्बिनीप्रति जापानले काम गरेको प्रभाव पनि थियो। तर, अहिले विश्वको अर्थतन्त्रको प्रभावले पनि कमी हुन सक्छ।’

विकास कोष गुरुयोजनाको काममा बढी केन्द्रित रहेको भन्दै उनले संविधानसभा सदस्यसमेत रहेका कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)को नेतृत्वमा पछिल्लो चरणमा पर्यटक आकर्षण गर्ने गतिविधि पनि बढेको बताए। ‘धार्मिक गतिविधि बढेका छन्। बत्ती बाल्नका लागि व्यवस्थित गरिएको छ। यसले कोषको आम्दानीमा मद्दत गरेको छ भने पर्यटन आकर्षण गर्नमा सहयोग पुगेको छ,’ राई ले भने।

कोभिडले थला परेको लुम्बिनीको पर्यटन व्यवसाय माथि उठाउन यहाँका व्यावसायिक संघसंस्थादेखि सरोकारवालाहरू लागिपरेका छन्। पछिल्लोपटक अन्तर्राष्ट्रिय तहमा लुम्बिनीको प्रचारमा महत्त्वपूर्ण योगदान पुग्ने गरी गत कात्तिक १४ गते संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भ्रमण गरे। त्यसयता चैत ८ र ९ गते विभिन्न १९ देशका गैरआवासीय राजदूत, विभिन्न देशका महावाणिज्यदूत र सरकारी अधिकारीहरू बुद्ध जन्मस्थल लुम्बिनीमा आएका थिए।

पछिल्ला महिनाहरूमा नेपालका लागि भारत, चीन, श्रीलंका, अमेरिकाका राजदूतले पनि लुम्बिनी भ्रमण गरेका छन्। लुम्बिनीको पर्यटन विकासमा विदेशी उच्चपदस्थ व्यक्तिहरूको भ्रमणले सकारात्मक प्रभाव पार्ने पर्यटन व्यवसायीहरूको अपेक्षा छ।

ad
ad
ad
ad