Skip This
वैदेशिक व्यापार : भारततर्फको आयात घट्यो, चीनतर्फ बढ्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Saturday, 27 July, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ जेठ ८ मंगलबार १२:o७:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

वैदेशिक व्यापार : भारततर्फको आयात घट्यो, चीनतर्फ बढ्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १२:o७:oo

नेपालका प्रमुख व्यापारिक साझेदार भारत र चीनतर्फको व्यापारिक हिस्सेदारीमा फेरबदल आएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष ०८०/८१ को १० महिना (वैशाख मसान्त)सम्मको तथ्यांकअनुसार भारततर्फको वस्तु आयात घटेको छ भने चीनबाट हुने आयात बढेको छ । 

भारतबाट आठ खर्ब १५ अर्ब ७२ करोड रुपैयाँको वस्तु आयात भएको विभागको तथ्यांक छ । जुन अघिल्लो आव ०७९/८० को सोही अवधिको तुलनामा ३.४१ प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा भारतबाट आठ खर्ब ४४ अर्ब ५३ करोड रुपैयाँको वस्तु आयात भएको थियो । 

भारतबाट सबैभन्दा बढी डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, हवाई इन्धन, कोइला आयात हुन्छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै भारततर्फको आयात घटेको विभागले जनाएको छ । भारतबाट समीक्षा अवधिमा ११ लाख नौ हजार एक सय १० किलोलिटर डिजेल आयात भएको छ । गत आवको सोही अवधिमा १० लाख ८६ हजार दुई सय ३० किलोलिटर आयात गरेको थियो । परिमाणमा डिजेल आयात बढे पनि मूल्य घटेका कारण कुल आयात कम भएको हो । गत आवको १० महिनाको डिजेल आयातमा एक खर्ब २५ अर्ब बाहिरिएको थियो भने चालू आवको सोही अवधिमा एक खर्ब १५ अर्ब मात्रै बाहिरिएको छ ।  

यता, चीनतर्फको आयात भने बढेको छ । विभागका अनुसार चीनतर्फको आयात ३४.३७ प्रतिशतले बढेको हो । गत आवको वैशाखसम्म चीनबाट एक खर्ब ७९ अर्ब रुपैयाँको वस्तु आयात भएकोमा चालू आवको सोही अवधिमा दुई खर्ब ४० अर्बको आयात भएको छ ।

चीनबाट सबैभन्दा बढी स्मार्ट फोन, फलामका पाता, विद्युतीय सवारीसाधन, रासायनिक मल, स्याउ आयात भएका छन् । विद्युतीय सवारीसाधनको खपत बढेसँगै चीनबाट हुने आयातमा वृद्धि भएको हो । गत आवको वैशाखसम्म एक अर्ब ८१ करोडबराबरको सय किलोवाटसम्मको विद्युतीय कार आयात भएकोमा चालू आवको सोही अवधिमा १२ अर्ब ९३ करोड ४८ लाखको आयात भएको छ । चालू आवको १० महिनामा १३ खर्ब तीन अर्ब रुपैयाँको वस्तु आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा १३ खर्ब ३५ अर्ब रुपैयाँको आयात भएको थियो ।

कुल निर्यात घट्यो : गत वर्ष १० महिनामा १.३० अर्बको निर्यात भएकोमा अहिले १.२६ अर्बको निकासी
चालू आवको १० महिनामा निर्यात खस्केको छ । गत आवको वैशाखसम्म एक खर्ब ३० अर्ब रुपैयाँको निर्यात भएकोमा यो वर्ष एक खर्ब २६ अर्ब रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।

प्रमुख गन्तव्य भारत, अमेरिका र बेलायतमा हुने निर्यातमा कमी आउँदा कुल निकासीमा असर देखिएको हो । गत आर्थिक वर्षको १० महिनामा भारतमा ९१ अर्ब १४ करोडको वस्तु निर्यात भएकोमा चालू आवको सोही अवधिमा ८६ अर्ब दुई करोडको मात्रै निर्यात भएको छ । अमेरिकीतर्फको निर्यात एक अर्ब ५६ करोडले घटेको छ भने बेलायततर्फ पाँच करोड ३३ लाखले निर्यात घटेको छ । तेस्रो ठूलो निर्यात बजार जर्मनीतर्फको निर्यातमा भने वृद्धि भएको छ । गत आवको समीक्षा अवधिको तुलनामा जर्मनीतर्फको निर्यात १३ करोड ४२ लाखले बढेर तीन अर्ब ५५ करोड कायम भएको छ । 

निर्यात बजारमा पाँचौँ स्थान लिएको टर्कीको बजार हिस्सा चीनको बजारले खोसेको छ । गत आर्थिक वर्षको १० महिनामा एक अर्ब ६३ करोडको निर्यात भएको टर्कीमा चालू आर्थिक वर्षको सोही अवधिमा ८३ करोड ५५ लाखको मात्रै वस्तु निर्यात भएको छ । चालू आवको सोही अवधिमा दुई अर्ब २७ करोडको वस्तु निर्यात भएको चीन बजार नेपालको प्रमुख निर्यात गन्तव्यमध्ये पाँचौँ मुलुकमा उक्लिएको छ । 

कच्चा खानेतेलबाहेकका वस्तु आयातमा सुधार 
गत आवको १० महिनामा ७३ अर्ब १८ करोडको कच्चा तेल आयात भएकोमा चालू आवको सोही अवधिमा ३७ अर्ब २३ करोड मात्रै भित्रिएको छ ।खानेतेलको कच्चा पदार्थको आयातलाई घटाएर हेर्ने हो भने वस्तु आयात बढेको देखिन्छ । भन्सार विभागका अनुसार पाम, सूर्यमुखी र भटमासको कच्चा तेलबाहेकका वस्तु आयात १२ खर्ब ६६ अर्ब पुगेको छ । गएको आर्थिक वर्षमा सोही अवधिमा यस्ता वस्तुको आयात १२ खर्ब ६२ अर्ब थियो । 

गत आवको १० महिनामा ७३ अर्ब १८ करोडको कच्चा तेल आयात भएकोमा चालू आवको सोही अवधिमा ३७ अर्ब २३ करोड मात्रै भित्रिएको छ । कुल वस्तु आयातमा यस्तो तेलको हिस्सा २.८५ प्रतिशत कायम भएको छ । जबकि गत आवमा यस्तो हिस्सा ५.४८ प्रतिशत थियो । 

वैशाखको आयातमा सुधार,निराशाजनक निर्यात
नेपाली बजारमा वस्तुको माग बढ्न नसकेर खस्किँदै गइरहेको आयातमा सुधार देखिन थालेको छ । वस्तुको कुल आयातमा सुधार नदेखिए पनि मासिक रूपमा भइरहेको आयातले भने सुधारको संकेत दिएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको वैशाख महिनामा एक खर्ब ३५ अर्ब ९८ करोडको वस्तु आयात भएको छ । यो गत आवको वैशाख महिनामा भएको आयातको तुलनामा १.६२ प्रतिशतले बढी हो । गत आवको वैशाखमा एक खर्ब ३३ अर्ब ८१ करोडको वस्तु आयात भएको थियो । यस्तो सुधार गत असोज र माघमा देखिएको थियो । यद्यपि, असोज र माघमा देखिएको सुधारको तुलनामा वैशाखमा झिनो मात्रै सुधार भएको हो । गत असोजमा आयात १६.१७ प्रतिशतले बढेको थियो भने माघमा २.५९ प्रतिशतले बढेको थियो ।