१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १६:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धादिङको आयुर्वेद औषधालय १६ शय्यामा स्तरोन्नति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:५४:oo

धादिङको नीलकण्ठ नगरपालिका– ३ धादिङबेँसीमा रहेको जिल्ला आयुर्वेद औषधालयलाई १६ शय्यामा स्तरोन्नति गरिएको छ। जिल्ला सदरमुकाम धादिङबेँसीमा रहेको आयुर्वेद औषधालयलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको रूपमा विस्तार गरिएको हो।

स्तरोन्नति भएसँगै चिकित्सालयले १६ बेडको अस्पताल सञ्चालन गर्न लागेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका प्रमुख डा. अमूल्य दाहालले बताए। ‘चिकित्सालयले अब अस्पताल भवन निर्माण गरी १६ शय्याको अस्पतालमार्फत सेवा प्रदान गर्न लागेको हो,’ उनले भने, ‘संविधानले पनि स्थानीय तहको १५ बेड, प्रदेश अस्पताल २५ बेड हुनुपर्ने भनेको छ। भौतिक संरचना, बजेटलगायत विविध कारण २५ शय्याको सञ्चालन गर्न समस्या भएर १६ शय्या क्षमतामा सञ्चालन गरिएको हो।’

अस्पताल निर्माणका लागि जग्गा लिने प्रक्रिया अघि बढिसकेको उनले बताए। ‘अब औषधालय आएका बिरामीलाई भर्ना गरेरै सेवा दिने तयारीमा छौँ। जग्गा किन्ने र नयाँ भवन निर्माणको काम पूरा नहुन्जेल तत्कालका लागि घर भाडामा लिएर १६ शय्या क्षमताको सेवा प्रवाह गर्छाैँ,’ उनले भने।

धादिङ जिल्लामा १० वटा आयुर्वेद संस्थाहरू सञ्चालित छन्। चिकित्सालयसहित चारवटा आयुर्वेद औषधालय र पाँचवटा सेवा केन्द्र रहेका छन्। चिकित्सालयले सेवा आरम्भ गरेपछि बिरामीहरूलाई चौबिसै घण्टा सेवा दिन सकिने चिकित्सालय धादिङका प्रमुख दाहालको भनाइ छ।

१६ शय्याको अस्पताल सञ्चालन गर्न मिल्ने आफ्नै भवन नहुँदा सेवा दिन कठिनाइ भइरहेको र औषधिको विविधता तथा परिमाण आवश्यकताभन्दा न्यून मात्रै उपलब्ध हुनुले पनि सेवाग्राहीलाई सहज सेवा दिन अप्ठ्यारो हुने गरेको उनको भनाइ छ।

आयुर्वेद औषधालयले वैकल्पिक उपचार विधिअन्तर्गत बहिरंग सेवा, प्याथोलोजी ल्याब, अकुपञ्चर सेवा, पूर्वकर्म र पञ्चकर्म सेवा, फिजियोथेरापीलगायतको निःशुल्क सेवा प्रदान गर्दै आएको छ। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममार्फत ३० वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको आयुर्वेद चिकित्सक इना श्रेष्ठले बताइन्। 

‘हाल दैनिक २५ जनाभन्दा बढी चेकचाँज गर्न बिरामीहरू आउँछन्। सेवा लिन आएका बिरामीहरूमध्ये हाडजोर्नी नसासम्बन्धी बिरामी बढी छन्। धादिङ र गोर्खाका विभिन्न ठाउँबाट सेवाग्राही सेवा लिन आउने गरेका छन्,’ उनले भनिन्।

ad
ad