इलाम २ को उपनिर्वाचनको मौन अवधि सुरु हुनै लाग्दा दलहरू अन्तिम प्रचारप्रसारमा छन् । १५ वैशाखमा तय भएको उपनिर्वाचनको मौन अवधि बुधबार मध्यरातिबाट लागू हुँदै छ ।
एक लाख १६ हजार ८८९ मतदाता रहेको इलाम २ मा दलका १२ र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा छन् । कांग्रेसका डम्बर खड्का, एमालेका सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
यस क्षेत्रमा तीन दशकदेखि एमाले र कांग्रेस नै मुख्य प्रतिस्पर्धी हुन् । ०४८ पछिको सातवटा निर्वाचनमध्ये ६ पटक एमाले निर्वाचित भएको छ भने ०५१ मध्यावधिमा कांग्रेसका कुलबहादुर गुरुङ निर्वाचित भएका थिए । ६ मध्ये पनि पाँचवटामा त एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए । गत भदौमा उनको निधनपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
०७९ को निर्वाचनमा नेम्वाङसँग खड्का ११४ मतान्तरले मात्र हारेका थिए । त्यही भएर कांग्रेस उत्साहित छ । खड्काका चुनावी कमान्डर रहेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भनेका थिए, ‘... उपविजेता भएको उम्मेदवार अब दुई हजारभन्दा बढी मतले जितेर उहाँका कामलाई पूरा गर्ने संल्कप गर्नुहुनेछ ।’
तर, त्यतिखेर कांग्रेससँग रहेको माओवादी अहिले एमालेतिर छ भने एकीकृत समाजवादीका आफ्नै उम्मेदवार छ । जसपा पहिचानवादीतिर लागेको छ । एमालेले सुवास नेम्वाङका छोरालाई अघि सारेकाले ‘सिमप्याथी’ भोट पनि आउने आकलन छ ।
इलामको मतदातासँग कुराकानी र यहाँको माहोल हेर्दा अवस्था फेरिएको छ । ०७९ को संसदीय निर्वाचनबाट उदाएको रास्वपा र तत्कालीन प्रदेश १ को नामकरण कोशी भएपछि सुरु भएको असन्तुष्टिको स्वर ‘पहिचानवादी’मा रूपान्तरण भएको छ ।
पछिल्लो समय असन्तुष्ट र नयाँ मतदातालाई आकर्षित गरेको रास्वपाले मिलनलाई अघि सार्दा प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिका संयोजकसमेत रहेका डकेन्द्रसिंह ‘पहिचानवादी’ घटकका साझा उम्मेदवार बनेका छन् । उनलाई जसपा र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको पनि समर्थन छ ।
महेन्द्र बहुमुखी क्याम्पस धरानका राजनीतिशास्त्रका सहप्राध्यापक सहकुल श्रेष्ठ पनि आदिवासी जनजातिको बाहुल्य रहेको क्षेत्रमा पुराना दलमाथि चुनौती थपिएको बताउँछन् । ‘पहिले एमाले–कांग्रेसबीच प्रतिस्पर्धा हुन्थ्यो । यसपटक पुराना राजनीतिक दललाई नयाँ उम्मेदवारले चुनौती थपेका छन्,’ श्रेष्ठले भने, ‘नयाँ उम्मेदवारका लागि पनि पुरानै दल चुनौती हुन् ।’
यो निर्वाचनमा सुशासन र पहिचानको मुद्दा सँगसँगै जोडिएको छ । पुराना दलले डेलिभरी र सुशासन दिन नसकेपछि मतदाताको असन्तुष्टि बढ्दो छ । त्यही भएर नयाँ दल, स्वतन्त्र उम्मेदवारको उदय भएको हो । त्यसैमा पहिचानको मुद्दा पनि फेरि उठ्न थालेको छ । ‘अन्तरिम संविधानपछि पहिचान कागजमा लेखियो, व्यवहारमा उतारिएन । पार्टीले पहिचानको मुद्दा ओझेलमा पारे । त्यही भएर अहिले पुराना दललाई चुनौती छ,’ उनले भने, ‘परम्परागत रूपमा जरा गाडिएका पार्टीहरू छन् । एमालेको लामो विरासत भएको ठाउँ हो । पार्टी संगठन चुस्त छ । त्यसैले पूर्ण रूपले भत्काउन गाह्रो छ । कांग्रेस पनि त्यस्तै समानान्तर पार्टी हो । उनीहरूको जग लामो भएकाले त्यसलाई उखाल्नु र विस्थापित गर्नु नयाँलाई कठिन हुन्छ ।’
एमाले उम्मेदवार सुहाङ नयाँ दल र पहिचानवादी उम्मेदवारको चुनौतीभन्दा पनि चुनावी एजेन्डालाई प्राथमिकता दिइरहेको बताउँछन् । जनतामाझ एजेन्डा लिएर जाने र राम्रो लागे जनताले जिताउने उनको तर्क छ । कांग्रेस उम्मेदवार डम्बर त नयाँ दललाई चुनौती नै ठान्दैनन् । पहिचानको मुद्दा कांग्रेसले उठाएको उनको दाबी छ । बरु पहिचानवादीले एमालेलाई अप्ठ्यारो पार्ने डम्बरको बुझाइ छ ।
रास्वपा उम्मेदवार मिलन भने आफूहरूको आगमनले पुराना दल अत्तालिएको तर्क गर्छन् । यसपटक इलामेली जनताले नयाँ इतिहास लेख्ने उनको दाबी छ । पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह भने पुराना दलसँग चुनौती रहेको स्वीकार गर्छन् । तैपनि आफ्नो मुद्दा मतदाताले मन पराउने उनको भनाइ छ ।