१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
एलेक्स ट्राभेली
२o८१ बैशाख २१ शुक्रबार o९:५६:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

मोदीको नेतृत्वमा फस्टाइरहेको भारतीय अर्थतन्त्र

Read Time : > 4 मिनेट
एलेक्स ट्राभेली
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:५६:oo

सन् २०१४ को आमनिर्वाचन जित्दै गर्दा नरेन्द्र मोदीले आम मतदातालाई ‘अच्छे दिन आने वाले है (सुखद दिन आउँदै छ)’ भन्ने वाचा गरेका थिए । गत अप्रिल १९ बाट सुरु भएको निर्वाचनमार्फत मोदी तेस्रोपटक प्रधानमन्त्रीका रूपमा फर्किने प्रक्षेपण भइरहँदा उनी प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा आएका परिवर्तनबारे लेखाजोखा सुरु भएको छ । दश वर्षअघि मोदीले प्रधानमन्त्री पद सम्हालेयता भारतको सेयर बजार तीन गुणाले बढेको छ । भारतको अर्थतन्त्रसमेत झन्डै दोब्बरले बढ्यो । सेयर बजार वृद्धि पछाडि धनसम्पत्ति र लगानी जोखिम उठाउने जनसंख्या वृद्धिको योगदान छ, जुन यस अवधिमा जनसंख्याको लगभग दुई प्रतिशतबाट पाँच प्रतिशतमा पुगेको छ । तथापि आर्थिक वृद्धिको उपलब्धि जनसंख्याको सानो हिस्साले मात्र उपभोग गर्दा आर्थिक असमान पनि बढेको छ । अर्थात्, भारतको आर्थिक वृद्धि मुख्यतः ठूला र नियन्त्रित व्यवसायको एक समूहको क्रियाकलापमा निर्भर देखिन्छ । 

भारतको १.४ अर्ब जनसंख्यामध्ये नब्बे प्रतिशतले वार्षिक तीन हजार ५०० अमेरिकी डलरभन्दा कम आय गर्ने बताइन्छ । तथापि विपन्न ग्रामीण क्षेत्रमा मोदीे सरकारले विस्तार गरेका कल्याणकारी कार्यक्रमले जीवनलाई सहज बनाउन सघाइरहेको छ । यी कार्यक्रमका फाइदा ठोस र स्पष्ट देखिने खालका छन्, जसमा निःशुल्क अन्न, शौचालय निर्माणमा अनुदान, ग्यास सिलिन्डर तथा आवास सेवाको वृद्धि आदि छन् । एलइडी बत्ती, सस्तो स्मार्टफोन तथा झन्डै निःशुल्कजस्तो सस्तो मोबाइल डेटाजस्ता विशुद्ध व्यावसायिक विकासले समेत सुस्त गाउँले जीवनलाई बदलिदिएको छ । सबैजसो अन्तर्राष्ट्रिय सर्वेक्षणले भारतका हरेकजसो क्षेत्रका उपभोक्ता उत्साहित देखाउँछन् । विदेशी लगानीकर्ता पनि मोदी नेतृत्वको अर्थव्यवस्थाप्रति सकारात्मक देखिन्छन् । मोर्गन स्टेनली र जेपी मोर्गन चेजजस्ता अन्तर्राष्ट्रिय बैंकहरू वैश्विक सेयर तथा बन्ड सूचकांकमा भारतको स्थिति सुधारिएको देखाउन आतुरिन्छन् । 

एसियाका सबैभन्दा सम्मानितमध्ये एक बजार रणनीतिकार क्रिस वुडले त मोदी पुनः प्रधानमन्त्री चुनिन सकेनन् भने भारतीय बजार २५ प्रतिशत वा थप घट्ने प्रक्षेपण गरेका छन् । मोदीको शासनमा अर्थतन्त्रप्रति कायम उच्च आशावादको एउटा अनौठो पक्ष के भने उनको कार्यकालको १० वर्षमा भारतको कुल गार्हस्थ उत्पादन (जिडिपी) वृद्धिदर अघिल्लो दशकभन्दा खासै उच्च छैन । तर पनि आमआशा अघिल्लो दशकको भन्दा निकै उच्च छ । मोदीको शासनमा भारतीय आर्थिक सफलताको कथ्य पनि उनको शासनको प्रमुख विशेषताकै हिस्सा हुन सक्छ, शक्तिका सबै पक्षमाथिको नियन्त्रण र प्रदर्शनलाई पहिलो प्राथमिकता । 

अहिले भारतमा प्रधानमन्त्री मोदीको अनुहार जताततै देखिन्छ । राजधानी नयाँदिल्लीमा मोदीको तस्बिर जति देखिन्छ, त्यति त संसारका कुनै प्रजातान्त्रिक रूपमा निर्वाचित नेताको तस्बिर तिनका राजधानी सहरमा देखिँदैनन् । गत सेप्टेम्बरमा सम्पन्न जी–२० को शिखर सम्मेलनका क्रममा मोदीले उदीयमान भारतमा फेला पार्न सकिने लगभग हरेक सकारात्मक विकासको श्रेय आफूले लिएको देखियो । भारतीय अर्थतन्त्रको अहिलेको आत्मविश्वास वातावरणमा निराशावादीहरूसमेत आशावादी छन् । सरकारी तथ्यांकले भारतीय अर्थतन्त्र चालू आर्थिक वर्षमा ७.३ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेको छ । मुम्बईका अधिकांश वित्त व्यवसायी यो अंक ६ देखि ६.५ प्रतिशत हुने अनुमान गर्छन् । सबैभन्दा न्यून प्रक्षेपणसमेत ४.५ प्रतिशतको छ, जुन आफैँमा अमेरिका र सम्भवतः चीनको भन्दा उच्च हुने सम्भावना रहन्छ ।

भारतमा अहिले उच्च आर्थिक वृद्धिप्रति सामान्य आशंका गर्नसमेत वर्जितजस्तो वातावरण छ । सरकारी काममा आश्रित अर्थशास्त्री खुलेर बोल्दैनन् । सरकारसँग काम नगर्ने अर्थशास्त्रीको पाउन मुस्किल हुँदै गएको छ । स्वतन्त्र थिंक ट्यांकहरू विभिन्न आरोपमा छापा मारेर बन्द गरिएकाले पनि अर्थशास्त्री सरकारविरुद्ध बोल्न त्रसित छन् । नियन्त्रणको सन्देश मोदीका पूर्ववर्ती प्रधानमन्त्री मनमोहन सिंहको समयमा भन्दा निकै स्पष्ट छ । सिंहको कार्यकालमा भारतको आर्थिक वृद्धि कहिलेकाहीँ १० प्रतिशतसम्म पुग्ने गथ्र्यो, तर पनि विश्वमा भारत ‘संघर्षरत राज्य’ मानिन्थ्यो ।

मोदी सरकारमा आएपछि भारतीय शासन संस्थानको हरेक पक्ष पुनर्निर्माण गर्नमा व्यस्त देखिन्छन् । मोदीले राज्य शक्तिलाई आर्थिक पूर्वाधार निर्माणमा कठिनाइका साथ प्रयोग गरिरहेका छन्, जसको असर देखिइरहेको छ । पूर्वाधारमा अभूतपूर्व प्रगति भइरहेको छ । पछिल्लो दश वर्षमा भारतले डिजिटल कारोबारमा (विशेष बैंकिङ तथा व्यापारिक लेनदेनहरूमा) व्यापक छलाङ हानेको छ । यसको सुरुवात सिंहको सरकारले गरेको भए पनि मोदीले त्यसलाई रफ्तार दिए । त्यस्तै करमा परिमार्जन भएको छ । भारतले ‘गुड्स एन्ड सर्विस ट्याक्स (जिएसटी)’ लागू गरेर अर्थतन्त्रको औपचारिक क्षेत्रलाई थप बढावा दियो । यसमार्फत थप मानिसहरू तथा व्यवसायबाट राजस्व संकलन सहज बनेको छ । यसले एकतर्फ सार्वजनिक खर्चका लागि आवश्यक रकमको जोहो गराएको छ भने कर्पोरेट करदर घटाएर निजी वित्त पोषणमा योगदान गरेको छ । 

अर्थतन्त्रको ‘डिजिटाइजेसन’मा भारतीयहरूले केही कटु अनुभव पनि भोगे । सन् २०१६ नोभेम्बर ६ साँझ आठ बजे प्रधानमन्त्री मोदीले अकस्मात् देशका ठूला नोटलाई प्रतिबन्ध लगाए । यसले ‘कालो धन’ जम्मा गरेर राख्नेहरूलाई नकारात्मक असर गर्ने भनिए पनि आमभारतीय नागरिकको जीवन र आर्थिक गतिविधिमै असर गर्‍यो । मोदी सरकारको चाहेको काम गर्न सक्ने यस असीमित शक्तिले कहिलेकाहीँ यस्तै विकृति र असमानता सिर्जना गरेका छन् । मोदीको शासनमा ठूला कम्पनीले सबैभन्दा बढी नाफा कमाएका छन् । सन् २०१२ देखि २०२२ बीचमा सबैभन्दा प्रतिष्ठित स्टक इन्डेक्सले कमाएको १४ खर्ब अमेरिकी डलरको सम्पत्तिमध्ये ८० प्रतिशत २० कम्पनीको पोल्टामा गएको मुम्बईस्थित ‘मार्सेलस इन्भेस्टमेन्ट म्यानेजर्स’को प्रक्षेपण छ । यसमा ती कम्पनी छन्, जसको सरकारसँग सीधा सम्पर्क छ । 

यस कर्पाेरेट केन्द्रीकरण र योसँग सम्बन्धित जोखिमलाई गौतम अडानीले सबैभन्दा राम्ररी चित्रण गर्छन् । सन् २०२२ मा उनी अचानक एलोन मस्कपछि विश्वको दोस्रो सबैभन्दा धनी बन्नुअघि भारतबाहिरका थोरैले मात्र उनको नाम सुनेका थिए । मोदी निर्वाचित भएको वर्ष सन् २०१४ मा अडानी समूहको सेयर झन्डै दोब्बर भएको थियो भने सन् २०१९ मा मोदी पुनः निर्वाचित हुँदा त्यो बढेर आठ गुना ठूलो भइसकेको थियो । मोदी सरकारको लजिस्टक शाखाजस्तो देखिने अडानी समूहले सरकारका लागि बन्दरगाह, राजमार्ग, पुल र सौर्य फार्महरू पहिले कहिल्यै नदेखिएको गतिमा निर्माण गरिरहेको छ । 

तर, गत वर्ष अडानीको व्यापारिक साम्राज्यलाई न्युयोर्कको एक सर्ट–सेलर कम्पनीले ठगी गरेको आरोप लगायो, जुन आरोप लगाएपछि अडानीले सेयरमा झन्डै एक खर्ब ५० अर्ब डलर गुमाउनुपर्‍यो । सर्ट–सेलरको दाबीको एक वर्षमा अडानीले गुमाएको मूल्य पहिलेकै स्थानमा फर्किसकेको छ । यस प्रकरणले सीमित व्यक्तिको हातमा अथाह शक्ति दिने मोदीको रणनीतिमा रहेको जोखिमलाई उजागर गरिदियो । मोदीको उदयसँगै केही सीमित व्यापारीको उदयबाहेक पनि भारतको पछिल्लो आर्थिक वृद्धि असहज रूपमा असमान छ । संसारको सबैभन्दा ठूलो जनसंख्या भएकाले स्वाभाविक रूपमा यहाँको ठूलो बजार देखेर धेरै विदेशी लगानीकर्ता यस मुलुकतर्फ आकर्षित हुन्छन् । तर, अधिकांश भारतीय ग्रामीण क्षेत्रमा बसोवास गर्छन् । झन्डै ७५ प्रतिशत कुनै न कुनै मापदण्डका आधारमा गरिब मानिन्छन्, जो कुपोषण रोक्नका लागि सरकारले बाँड्ने निःशुल्क खाद्य राशनका लागि योग्य हुन्छन् । 

एकातर्फका देशको ठूलो गरिबी यथावत् छ, अर्कोतर्फ देशमा विलासी सामानको बिक्री बढ्दै गएको छ । विशेषगरी महामारीपछि मर्सिडिज जी–६३ जस्ता गाडीको माग ह्वात्तै बढेकाले ग्राहकहरू लामो प्रतीक्षामा बस्नुपर्ने अवस्था आएको छ । चारपांग्रे गाडीभन्दा बढी लोकप्रिय मोटरसाइकल र स्कुटरको बिक्री स्थिर छन् । अर्थतन्त्रको सबैभन्दा पीडादायी पक्ष भनेको रोजगारीको अवस्था हो । सरकारी तथ्यांकले करिब सात प्रतिशत भारतीय बेरोजगार देखाएको छ । थप धेरै अर्थबेरोजगार छन् । रोगजारीका लागि व्यग्र भारतीयहरू विदेशमा राम्रो आम्दानीको आशामा जोखिमपूर्ण मार्गबाट अमेरिकाको सिमाना पार गरिरहेका छन्, युक्रेनमा रुसी पक्षबाट लड्न भर्ती भइरहेका छन् । यहाँसम्म कि इजरायल–हमास युद्धपछि इजरायलबाट बाहिरिएका प्यालेस्टिनीले खाली स्थान भर्नसमेत प्रयासरत देखिन्छन् ।

तैपनि, विश्व अर्थतन्त्रमा भारतको आरोहण सुनिश्चित देखिन्छ । यो मुलुक केहीअघि बेलायतलाई उछिनेर विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बन्यो । आगामी केही वर्षमा भारतीय अर्थतन्त्रले जापान र जर्मनीको अर्थतन्त्रलाई समेत पछि पारेर विश्वको तेस्रो ठूलो बन्ने प्रक्षेपण गरिएको छ । धेरै बहुराष्ट्रिय कम्पनी भारतमा आउने तयारी गरिरहेका छन्, जसले भारतीयलाई थप अवसर सिर्जना गर्नेछ । भारतभित्र उपभोक्ताहरूको एक सानै हिस्साले भए पनि अमेरिकी उपभोक्ताले जस्तो जीवनस्तरको आनन्द उठाउने आशा गर्न सक्ने स्थिति बनेको छ । तथापि तिनको संख्या बर्सेनि बढ्दै गएको छ र ती अब साना सहरमा पनि देखिन थालेका छन् । शीर्ष सरकारी अधिकारीसँग चिनजान नभएका व्यवसायीले अझै पनि लामो सरकारी झमेला व्यहोर्नुपर्ने स्थिति बाँकी नै छ । तर, सरकारले लिएको गति आशाप्रद छ, पहिले सरकारी स्वीकृतिको लागि दुई वर्ष लाग्ने आयोजनाको काम अब १५ दिनमा पूरा हुन सक्छ । सन् २०१४ मा मोदी ‘अच्छे दिन’सँगै ‘न्यूनतम सरकार, अधिकतम शासन’ वाचा गरेका थिए । सन् १९८० को दशकमा पश्चिमी खुला बजारका हिमायतीहरूले प्रयोग गर्ने यो पदावली भारतमा त्यही विचारधाराले परिभाषित गरेको छैन । जे भए पनि अहिले अर्थशास्त्रीले भारतबारे चर्चा गर्दा यसलाई ‘संघर्षरत राज्य’ भन्न छोडेका छन् ।

– द न्युयोर्क टाइम्सबाट

ad
ad