१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्टारमा ७ प्रतिस्पर्धी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४३:oo

छनोटका लागि दुई समिति गठन

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रार पदमा सिफारिसका लागि ७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। ०८० चैत १ गतेबाट पद रिक्त भएपछि खुला प्रतिस्पर्धाबाट छनोट गर्न दरखास्त आह्वान गरिएको हो। पेस भएका ९ वटा आवेदनमध्ये ७ वटाको अन्तिम मूल्यांकन हुने विश्वविद्यालयको उपकुलपति कार्यालयले जनाएको छ।

लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ मा उपकुलपतिको सिफारिसमा कुलपति एवं प्रधानमन्त्रीले रजिस्ट्रार नियुक्त गर्ने व्यवस्था छ। कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्ति गर्दा खुला प्रतिस्पर्धाबाट गर्ने बताउँदै आएका छन्।

अन्य विश्वविद्यालयमा पनि खुला रूपमा दरखास्त आह्वान गरी पदाधिकारी नियुक्तिको अभ्यास थालिएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले पनि सोही प्रक्रिया पछ्याउँदै रजिस्ट्रार सिफारिसका लागि खुला रूपमा दरखास्त आह्वान गरेका थिए। विश्वविद्यालय ऐनले रजिस्ट्रार सिफारिस गर्ने एकल अधिकार उपकुलपतिलाई दिएको छ।

रजिस्ट्रार छनोटको मापदण्ड निर्माण तथा दरखास्त आह्वानका लागि उपकुलपति बज्राचार्यको नेतृत्वमा मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुँ र अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गीतु गिरी रहेको तीनसदस्यीय समिति गठन गरिएको छ। सो समितिले प्राप्त भएका ९ जनाको दरखास्तमध्ये मापदण्ड पुगेका ७ जनाको नाम मूल्यांकनका लागि छनोट गरेको छ।

दरखास्तका लागि प्रकाशित सूचनामा रजिस्ट्रार पदका लागि कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण, पाँच वर्ष प्राज्ञिक संस्थाको नेतृत्व गरेको अनुभव र सहप्राध्यापक वा सोभन्दा माथिको पदीय हैसियतलाई न्यूनतम मापदण्ड तथा बौद्ध अध्ययन गरेकालाई प्राथमिकतामा राखिने उल्लेख गरिएको छ। कार्यानुभवमा क्याम्पस प्रमुख, केन्द्रीय विभाग प्रमुख, सहायक डिन, डिन वा सोभन्दा माथिल्लो पदमा विभिन्न समयमा गरी कम्तीमा ५ वर्ष कार्य गरेकाले आवेदन दिन सक्ने व्यवस्था राखिएको उपकुलपति कार्यालयले जनाएको छ। दरखास्तसहित उम्मेदवारहरूले विश्वविद्यालयको कार्ययोजना र दीर्घकालीन योजना पेस गर्नुपर्ने व्यवस्था गरिएको थियो।

पहिलो चरणको दरखास्तको मूल्यांकनबाट ७ जनाको नाम छनोट भएको छ। उनीहरूको प्रस्तुतीकरण, योजनाको मूल्यांकन तथा अन्तर्वार्ताका लागि शिक्षा क्षेत्रमा ख्याती प्राप्त विज्ञहरू सम्मिलित तीनसदस्यीय मूल्यांकन समिति गठन गरिएको छ। सो समितिले आवेदनको अन्तिम मूल्यांकन गरी प्राप्तांक उपकुलपतिलाई प्रदान गर्नेछ।

रजिस्ट्रारका लागि दरखास्त दिएकामध्ये अर्घाखाँचीका डा. तिलकराम आचार्य, बर्दघाट नवलपरासीका डा. घनश्याम न्यौपाने, तनहुँका प्रा.डा. काजीराम अधिकारी, ललितपुरका डा. गणेशप्रसाद घिमिरे, अर्घाखाँचीका प्रा.डा. लालमणि पाण्डे, इलामका प्रा.डा. नरेन्द्र कटुवाल र चितवनका इन्द्रप्रसाद काफ्लेको आवेदन स्वीकृत भएको छ। यीमध्ये आचार्यसँग विश्वविद्यालयको रजिस्ट्रारको जिम्मेवारी सम्हालेको अनुभव छ।

उम्मेदवारहरूको ०८० वैशाख ८ गते अन्तिम मूल्यांकनका लागि प्रस्तुतीकरण हुने उपकुलपति कार्यालयले जानकारी दिएको छ। मूल्यांकनमा उत्कृष्ट अंक ल्याउने उम्मेदवारलाई रजिस्ट्रार नियुक्तिका लागि सिफारिस गरिनेछ।
 

ad
ad