१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १२:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भैरहवाको १४ बिघा जग्गामा आयल निगमको आधुनिक डिपो निर्माण सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:१२:oo

नेपाल आयल निगमले भैरहवाको रोहिणी नदी किनारछेउ बैकुण्ठापुरमा रहेको १४ बिघा जग्गामा आधुनिक डिपो निर्माण शुरु गरेको छ ।बुधबार जग्गाको रेखांकन, माटो सम्याउने र नदी किनारबाट रिटेनिङ पर्खाल निर्माण कार्य शुभारम्भ गरेसँगै डिपो निर्माणको प्रक्रियाले तीव्रता पाएको हो । हाल भैरहवानजिकै भलवारीमा रहेको निगमको डिपो बस्तीको बीचमा रहेकाले स्थानान्तर गर्नुपर्ने दबाब बढेपछि पाँच बर्षअघि खरिद गरेको जग्गामा मध्यम क्षमताको भण्डारणगृहसहितको डिपो निर्माण थालिएको परियोजना प्रमुख प्रदीप यादवले जानकारी दिए । ‘यहाँ तीन अर्ब लागतमा भण्डारण गृह बनाउने योजनाको काम सुरु भएको छ’ उनले बुधबार आयोजित कार्यक्रममा भने, ‘जग्गा सम्याउने र वरिपरि बाउन्ड्री पर्खाल बनाउने काम सकेपछि तीन–चार महिना भित्र परियोजना निर्माणको शिलान्यास हुनेछ ।’ 

कार्यक्रममा उपस्थित काठमाडौं विश्वविद्यालयका प्राध्यापक बिबेक बरालका अनुसार डिपो भित्र डिजेल ६ हजार ६ सय किलोलिटर, पेट्रोल तीन हजार दुई सय किलोलिटर र मट्टितेल दुई सय १० किलोलिटर अटाउने भण्डारणगृह बनाइनेछ । ‘पेट्रोलको तीनवटा, डिजेलको दुईवटा र मट्टितेलको ७० किलोलिटर क्षमताको सानो तीनवटा भण्डारण गृह बन्नेछ’ प्राध्यापक बरालले भने । काठमाडौं विश्वविद्यालयले यस परियोजनाको इन्जिनियरिङ, डिजाइन, लागत अनुमान तथा निर्माणको सुपरिवेक्षणमा परामर्श उपलब्ध गराउने उनले जानकारी दिए ।

परियोजना प्रमुख यादवले काठमाडौं विश्वविद्यालयले डेढ महिनादेखि रोहिणी नदी–किनारमा अध्ययन गरी सुरक्षित डिपो निर्माणका लागि प्रतिवेदन उपलब्ध गराएको र सोही प्रतिवेदनका आधारमा निर्माण प्रक्रिया अघि बढाइने जानकारी दिए । ‘पछिल्लो ५० वर्षदेखि यहाँ कुन दरमा बाढी आएको थियो भन्ने कुराको अध्ययन भइसकेको छ र आगामी दिनमा पनि कति ठूलो बाढी आउन सक्छ भन्ने कुराको अनुमान गरेर सोहीअनुसारको पूर्वाधार जडित डिपो हुनेछ,’ उनले भने । चाँडै डिपो निर्माण सुरु गरेर ०८३ भित्र सक्ने योजना रहेको उनले जानकारी पनि दिए ।

भैरहवामा प्राकृतिक ग्यास आयात गर्ने पाइपलाइन निर्माण सुरु गर्ने योजनासमेत रहेको परियोजना प्रमुख यादवले जानकारी दिए । रासायनिक मल कारखाना स्थापना गर्नका लागि लगानीकर्ता तयार भए आयल निगमले भैरहवामा प्राकृतिक ग्यास पाइपलाइनबाट उपलब्ध गराउन अध्ययन थालेको र डेढ महिनाभित्रै यो विषयलाई टुंगो लगाउने उनले बताए ।

हाल डिपो निर्माण सुरु हुन लागेको वैकुण्ठापुरस्थित निगमको जग्गा ओमसियता र रोहिणी गाउँपालिकामा पर्छ । कार्यक्रममा उपस्थित रोहिणी गाउँपालिकाका अध्यक्ष मञ्जितकुमार यादवले स्थानीय वासिन्दा र जनप्रतिनिधिको समन्वयमा परियोजना अघि बढाउन आग्रह गरे । विगतमा जग्गा खरिदमा विवाद भएकाले आउँदा दिनमा कुनै पनि विवाद नआउने गरी परियोजना अघि बढाए स्थानीय तहले सक्दो सहयोग गर्ने उनले बताए । 

त्यस्तै, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले निगमको स्वामित्वमा रहेको १४ बिघा जग्गाको साँधसीमा यकिन गर्न आग्रह गरेका थिए । ‘यहाँ आयल निगमको डिपो बनेपछि आर्थिक गतिविधिमा तीव्रता आउने र रोजगारी सिर्जना भई हाम्रो क्षेत्रलाई धेरै फाइदा गर्नेछ,’ उनले भने, ‘यो परियोजना बन्नुअघि दुईवटै गाउँपालिकाको कुन क्षेत्रमा कति जग्गा पर्छ भन्ने कुराको यकिन गरी जानकारी दिनुहोला ।’  

ad
ad