व्यवस्थापन संकायको उच्च शिक्षा प्राप्त गरेको एक युवकले निकै राम्रो जागिर पाए । कम्पनीले उनलाई काम गर्न एक अलग्गै क्याबिन पनि दियो । आज उनको जागिरको पहिलो दिन थियो । उनी समयमै कार्यालय पुगे । कम्पनीले आफूलाई दिएको कुर्सीमा बसेर उनी सानदार क्याबिन नियाल्दै थिए ।
त्यति नै वेला उनको ढोका कसैले ढकढकाएको आवाज आयो । उनले ढोकातिर यसो हेरे । त्यहाँ एक सामान्य देखिने मानिस एउटा झोला बोकेर उभिइरहेका थिए । युवकले ती आगन्तुकलाई भित्र बोलाएर आउनुको कारण सोध्नुको साटो आधा घन्टा प्रतीक्षा गर्नू भनेर आफू काममा लागेजस्तो गर्न थाले ।
आधा घन्टापछि पुनः तिनै मानिसले भित्र आउने अनुमति माग्दै ढोका ढकढकाए । उनलाई भित्र आउने अनुमति दिएर युवक आफ्नो टेबलमा राखिएको टेलिफोनको रिसिभर उठाएर कसैसित कुरा गर्न थाले । उनी फोनमा कसैसित धेरै–धेरै पैसा र सुविधाको कुरा गर्न थाले । उनी फोनमा आफ्नो ऐसआरामबारे अनेक कुरा गरिरहेका थिए । भित्र पसेका व्यक्ति पनि उनका कुरा चुपचाप सुनिरहेका थिए । तैपनि, ती युवकले आफ्नो वार्तालाप रोक्नुको साटो जारी नै राखे ।
जब उनको कुराकानी सकियो । त्यसपछि टेलिफोन राखिसकेपछि उनले ती आगन्तुकसित प्रश्न गरे– तिमी यहाँ किन आएका हौ ? मसँग तिम्रो के काम थियो ? आगन्तुकले युवकको टेबलमा रहेको टेलिफोनतिर देखाउँदै विनम्रतापूर्वक भने– म टेलिफोन कार्यालयबाट टेलिफोन मर्मतका लागि आएको हुँ ।
तपाईं भर्खरै जुन टेलिफोनमार्फत कसैसित कुरा गर्दै हुनुहुन्थ्यो, त्यो एक साताभन्दा लामो समयदेखि बन्द छ भन्ने मैले खबर पाएको थिएँ । त्यसैले, यसको मर्मत गर्न आएको हुँ हजुर । आगन्तुकको जवाफ सुनेपछि ती युवक लाजले रातोपिरो भए । उनी चुपचाप आफ्नो क्याबिनबाट बाहिर निस्किए ।