१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १३:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बागलुङकालिकामा चैतेदसैँ मेला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १३:३४:oo

गायक टीका क्षेत्री प्रकृति र विष्णु माझीले गाएको गीत ‘चैतेदसैँ बागलुङे मेलैमा’ हरेक वर्ष चैत्राष्टमीको समयमा निकै गुञ्जिन्छ। बागलुङ भन्नेबित्तिकै यहाँ लाग्ने चैतेदसैँ मेला र बागलुङकालिका मन्दिर सँगै जोडिएर आउँछन्। चैत्राष्टमी मेलालाई गण्डकी प्रदेशकै ऐतिहासिक मेलाको रूपमा लिने गरिन्छ।

वि.सं. १५९१ मा पर्वते राजा प्रतापीनारायणसिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गरेको र राजकुमारीले आफूसँगै दाइजोको रूपमा ल्याएकी माझीकी देवीको मूर्तिलाई अहिलेको कालिका मन्दिर भएको ठाउँमा राखिएको बताइन्छ। पछि मूर्तिसहितको डोली उठाउन खोज्दा डेग नचलेपछि उक्त ठाउँमा मन्दिर स्थापनापछि चैतेदसैँ मेला सुरु भएको किंवदन्ती छ।

कालिका मन्दिरमा हरेक दिन पूजापाठ हुन्छ। यद्यपि, चैतेदसैँ र बडादसैँमा भक्तजनहरूको ठूलो घुइँचो लाग्छ। विशेषगरी चैतेदसैँमा धुमधामका साथ मेला लाग्ने यो दिनलाई खास मानिन्छ। हरेक वर्ष चैतेदसैँमा यहाँ मेला लाग्छ।

राजकुमारीको निकै प्रिय माझी देवीलाई बांगेचौरमा स्थापना गरेपछि रानीको चित्तदुखाइलाई बुझेका राजा प्रतापीनारायणले बांगेचौरमा देवीलाई स्थापित गरेर चैत्र शुक्ल अष्टमीलाई मध्यनजर गरी चैतेदसैँ मेलाको आयोजना गरी रानीसहित आफू आएर देवीको पूजाअर्चना गर्ने, स्थानीय लोक सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने, खेलकुदलगायत हाटबजार सञ्चालन गर्ने साथै जनताको पीरमर्का सुन्ने र बुझ्ने परम्परा कायम गरेको बताइन्छ।

बागलुङकालिका भगवती मन्दिरमा पूजा गर्दा मनोकांक्षा पूरा हुने विश्वास छ। त्यही विश्वासका आधारमा यहाँ हजारौँ खसी, बोका, राँगा तथा हाँस र कुखुराको बलि दिने गरिन्छ।

बागलुङकालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार हरेक वर्ष बडादसैँमा चार लाखभन्दा बढी र  चैतेदसैँमा ६ लाख आन्तरिक तथा बाह्य पर्यटक मन्दिरको दर्शन तथा पूजापाठ गर्न आउने गरेका छन्। बडादसैँमा भाकल गरेकाहरु पूजा गर्न धेरै आउँछन्। चैतेदसैँमा भने घुम्न आउनेहरूको संख्या बढी हुने गरेको खड्काले बताए। बागलुङकालिकामा गरेको भाकल पूरा भएको भन्दै सुनचाँदी चढाउने चलन पनि छ। कालिका देवीलाई यसरी सुनचाँदी चढाउने सयौँ वर्ष पुरानो प्रचलन रहिआएको छ।

कालिका मन्दिरका पुराना संरचनालाई कलात्मक ढंगबाट पुनर्निर्माण गरिएको छ। यसले पर्यटकलाई झनै आकर्षण गराएको छ। मन्दिरमा आउने भक्तजनहरूको सहजताका लागि आवश्यक व्यवस्थापन मिलाइएको अध्यक्ष खड्का बताउँछन्।

उत्पादन भएका वस्तुहरूलाई बजारको स्राेत 
यस दिन लाग्ने मेला ग्रामीण भेगमा उत्पादन भएका वस्तुहरूलाई बजारको स्राेत बनेको छ। यसले जिल्लाको आर्थिक क्षेत्रलाई धानेको बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए।

चैतेदसैँमा देशका विभिन्न ठाउँबाट मेला भर्न र कालिका मन्दिरको दर्शनका लागि आउने गर्छन्। ग्रामीण क्षेत्रमा बनेका निगालोको चोयाको डोको, डाली, नाङ्लो, काठको ठेकी, फलामका भाँडा, मादल बिक्री–वितरणका लागि राखिन्छ। यसले जिल्लाको आर्थिक क्षेत्रलाई टेवा पुग्ने श्रेष्ठले बताए। विगतमा यहाँको अर्थतन्त्र चैतेदसैँ मेलामा निर्भर रहेको बागलुङका व्यवसायीहरू बताउँछन्।

‘कुनै वेला सडक नहुँदा चैतेदसैँमा लाग्ने मेलाकै भरमा बागलुङको अर्थतन्त्र चलेको थियो,’ श्रेष्ठले भने, ‘तर, अहिले चैतेदसैँ मेला भर्न आएका बजार जाँदैनन्। बजारको व्यापार भने सोचेअनुसारको हुन सकेको छैन।’

ad
ad