१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
सोमबार ‘ब्रेक थ्रु’ गरिएको सिस्नेखोला–नागढुंगा सुरुङमार्गको मुख्य टनेल । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:१८:oo
Read Time : > 5 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

छिचोलियो नागढुंगाको मुख्य सुरुङमार्ग

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:१८:oo

नेपालको पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को मुख्य टनेल ‘ब्रेक थ्रु’ भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्लास्टिङको स्विच थिचेर टनेलको ‘ब्रेक थ्रु’ गरेका हुन् । 

ब्रेक थ्रु समारोहमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रुघुवीर महासेठ, नेपालका लागि जापानका राजदूत किकुता युताका, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का नेपाल प्रमुख आखुवो अकिमित्सु, हाज्मा एन्डो कर्पाेरेसनका प्रतिनिधिलगायतको उपस्थिति थियो । कुल दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्गलाई १४ सय ४८ मिटरदेखि १४ सय ५० मिटरबीचको दुई मिटर खण्डलाई सोमबार विस्फोट गरेर छिचोलिएको हो । यो परियोजनामा रेस्क्यु र मुख्य गरेर दुई टनेल छन् । दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल गत २२ साउनमै ‘ब्रेक थ्रु’ भइसकेको छ । 

टनेलको ‘ब्रेक थ्रु’ गर्दै प्रधानमन्त्री प्रचण्डले भने–

नागढुंगामा ट्राफिक जाम उच्च हुने गर्छ । त्यसमाथि सडक उकालो पनि छ । यहाँ पहिरोको जोखिमसमेत छ । त्यो अवस्थामा सवारीसाधन आवतजावत गर्न कठिन थियो । तर, अब यो सुरुङमार्गका कारण सवारीसाधनको आवतजावत सहज हुँदै छ । साथै, यसले ढुवानीमार्फत वस्तु तथा सेवाको लागतसमेत कम गर्नेछ ।

यो नेपालको पहिलो आधुनिक सुरुङमार्ग हो । पश्चिम धादिङको सिस्नेरीबाट सुरु भएको सुरुङमार्ग काठमाडौं नागढुंगामा निस्कनेछ । सिस्नेखोला–नागढुंगा सुरुङमार्ग बनेपछि नौबिसे हुँदै काठमाडौं प्रवेश गर्ने सवारीसाधनको यात्रा केही छोटिनेछ ।

२२ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी लागतमा परियोजना बन्दै छ । जसमा जाइकाले १७ अर्ब १५ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराएको छ भने बाँकी पाँच अर्ब ६७ करोड नेपाल सरकारले लगानी गरेको छ ।  

यो आयोजना बनाउन विभाग र निर्माण कम्पनी हाज्मा एन्डो कर्पाेरेसनबीच २३ सेप्टेम्बर ०१९ मा सम्झौता भएको थियो । ठेक्का प्राप्त जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पाेरेसनले डिसेम्बर ०२० (पुस ०७७) देखि सुरुङ खन्न सुरु गरेको थियो । त्यसको साढे तीन वर्षपछि मुख्य टनेल ब्रेक थ्रु भएको हो । ब्रेक थ्रु समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल पूर्वाधार विकासको नयाँ गन्तव्यमा प्रवेश गरेको बताए । नागढुंगा सुरुङमार्गले बहुआयामिक रूपमा फाइदा पुग्ने उनको भनाइ छ । 

‘नागढुंगामा ट्राफिक जाम उच्च हुने गर्छ । त्यसमाथि सडक उकालो पनि छ । यहाँ पहिरोको जोखिमसमेत छ । त्यो अवस्थामा सवारीसाधन आवतजावत गर्न कठिन थियो,’ उनले भने, ‘तर, अब यो सुरुङमार्गका कारण सवारीसाधनको आवतजावत सहज हुँदै छ । साथै, यसले ढुवानीमार्फत वस्तु तथा सेवाको लागतसमेत कम गर्नेछ ।’ 

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सुरुङमार्ग निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताए । ‘नेपाल अब सुरुमार्गको युगमा प्रवेश गरेको छ । यद्यपि, नेपालले दक्षिण एसियामै पहिलोपटक आफ्नै प्रविधिमा हेटौँडामा सुरुङमार्ग (चुरिया सुरुङमार्ग) बनाएको थियो । त्यो सञ्चालनमा नभए पनि सुरक्षित छ,’ उनले भने, ‘अहिले पहिलो आधुनिक सुरुङमार्ग ब्रेक थ्रु भएको छ । छोटो समयमा सुरक्षित यात्राका लागि सरकारले सुरुङमार्गलाई पहिलो प्राथमिकतामा राखेको छ ।’

जापानी राजदूत किकुता युताकाले भने–
नेपाल र जापानका जनताले यो परियोजना बनाएका हुन् । यसले नेपाल र जापानको मैत्रीपूर्ण सम्बन्धलाई अझै बलियो बनाउने  विश्वास छ ।

त्यस्तै, नेपालका लागि जापानका राजदूत किकुता युताकाले सुरुङमार्गको ब्रेक थ्रुसँगै नेपालमा भविष्यको नयाँ बिहानी प्रारम्भ भएको बताए । नेपाल र जापानका जनताको अपार प्रयासपछि यो सफलता प्राप्त भएको उनको भनाइ छ । यस परियोजनाका कारण नेपालको आर्थिक विकासमा सहयोग पुग्नेसमेत राजदूत युताकाले बताए । ‘नेपाल र जापानका जनताले यो परियोजना बनाएका हुन् । यसले नेपाल र जापानको मैत्रीपूर्ण सम्बन्धलाई अझै बलियो बनाउने  विश्वास छ,’ उनले बताए ।  

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का नेपाल प्रमुख आखुवो अकिमित्सुले पनि यो परियोजनाका कारण नेपालको आर्थिक र सामाजिक विकासमा सहयोग पुग्ने बताए । ‘यसमा जाइकाको वित्तीय सहयोग मात्रै छैन । नेपालमा प्रविधि भित्र्याउन र यहाँका इन्जिनियरको क्षमता अभिवृद्धिमा पनि सहयोग पुगेको विश्वास छ,’ उनले भने, ‘आगामी दिनमा पनि यस्तो सहयोग जारी रहेको छ ।’

सुरुङमार्ग सञ्चालन कहिलेदेखि ? 
परियोजना सञ्चालनमा आउन भने थप एक वर्ष समय लाग्ने बताइएको छ । सुरुङमार्गलाई ब्रेक थ्रु गरेर मात्र हुँदैन, भित्रको सडक कालोपत्रे गर्नुपर्छ । साथै, भित्ताहरू पनि विशेष रूपमा ढलान गर्नुपर्छ । त्यस्तै, नाली बनाउने र लाइनिङ गर्ने काम पनि गर्नुपर्छ । समग्रमा परियोजनालाई फिनिसिङ गर्ने काम बाँकी नै छ । 

सुरुङमार्गभित्र अक्सिजनको मात्रा मिलाउने, कन्ट्रोल सिस्टम बनाउने, टेलिफोन जडान गर्ने, रेस्क्यु सेन्टर बनाउने, बिजुली जडान गर्ने, तामक्रम मिलाउनेलगायत काम पनि बाँकी नै छन् । त्यसका लागि ६ महिनाभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ । सम्पूर्ण निर्माण कार्य सम्पन्न भएपछि पनि सुरुङलाई सञ्चालनका लागि योग्य (स्टेबल) बनाउन थप न्यूनतम ६ महिना समय पर्खनुपर्छ । यसका अलावा आयोजनाअन्तर्गत फ्लाई ओभर बनाउने काम पनि बाँकी छ । यी यस्ता काम सम्पन्न गर्न थप एक वर्ष समय लाग्ने बताइएको छ । बीचमा कुनै प्राविधिक समस्या नआए ०८२ को सुरुवातमा परियोजना सञ्चालनमा आउने अपेक्षा गरिएको छ । हालसम्म परियोजनाको ७३ प्रतिशत भौतिक र ६६.८१ प्रतिशत वित्तीय प्रगति भएको छ ।  

कस्तो बन्दै छ परियोजना ?
दुई हजार ६ सय ८८ मिटरको मुख्य टनेलको ब्यास ९.५ मिटर रहेको छ, जहाँ दुई लेन सडक हुनेछ । यसको उचाइ ८.३ मिटरको हुनेछ । दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेलको ब्यास भने ४.५ मिटर हुनेछ, जहाँ सिंगल लेन सडक हुनेछ । मुख्य टनेलमा मात्रै सवारीसाधन आवतजावत गर्न पाउनेछन् । मुख्य टनेलमा हुन सक्ने दुर्घटनाको उद्धार गर्नका लागि रेस्क्यु टनेल बनाइएको हो, जहाँ सुरक्षाकर्मीको गाडी, एम्बुलेन्स, वारुणयन्त्रजस्ता सवारीसाधन जान पाउनेछन् । बीच–बीचमा क्रस प्यासेज बनाएर मुख्य र रेस्क्यु टनेललाई जोडिएको छ । 

दुईपांग्रे (मोटरबाइकलगायत), पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्रक र ठूला आकारका गाडीबाहेक सबै प्रकारका सवारीसाधनलाई टनेल खुला गरिनेछ । यद्यपि, त्यसका लागि शुल्क भने तिर्नुपर्नेछ, त्यस्तो शुल्क निर्धारण गर्न अहिले आवश्यक अध्ययन भइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । 

सुरुङमार्ग सञ्चालनमा दुवैतर्फका नियन्त्रण कक्ष सञ्चालन हुनेछन्, जहाँबाट सुरुङभित्रका हरेक गतिविधिलाई चौबिसै घण्टा अनुगमन गर्न सकिनेछ । सुरुङभित्र आउन सक्ने आपत्कालीन अवस्थाका लागि रेक्स्यु टिमसमेत त्यहाँ तयार अवस्थामा हुनेछन् । 

यस्ता छन् परियोजना बनेपछि हुने फाइदा
यो परियोजना बनेपछि सिस्नेरीबाट नागढुंगासम्मको यात्रा गर्नुपर्ने सडकको दूरी २.८ किलोमिटरले घट्नेछ । काठमाडौं प्रवेश गर्ने सवारीसाधनको ३३ मिनेट समय बचत हुनेछ । काठमाडौंबाट बाहिरिँदा भने २३ मिनेट समय बचत हुनेछ । अर्थात्, अहिलेको सडक सञ्चालनको तुलनामा सोबराबरको समयभन्दा छिटो गन्तव्यमा पुग्न सकिनेछ । यद्यपि, यसको फाइदा यसमै सीमित नहुने विभागका महानिर्देशक ढकाल बताउँछन् । 

यसले बहुआयामिक रूपमा फाइदा पुग्ने उनको भनाइ छ । यसले दूरी र समय कम गर्नभन्दा पनि ट्राफिक व्यवस्थापनका लागि उपयुुक्त हुने उनको भनाइ छ । ‘यो परियोजना ट्राफिक व्यवस्थापनका लागि निकै महत्वपूर्ण छ । त्यो ठाउँमा सवारीको चाप तथा जाम पटक–पटक हुन्छ । त्यसले गर्दा यात्राको समय पनि लम्बिएको हुन्छ,’ उनले भने, ‘यो सुरुङमार्ग बनेपछि त्यहाँको ट्राफिक व्यवस्थापनमा ठूलो सहयोग पुग्नेछ । सोहीअनुसार यो परियोजनालाई हेर्नुपर्छ ।’

त्यस्तै, नागढुंगा सडक उकालो छ । उकालो भएका कारण त्यहाँ ठूला बस तथा मालवाहक ट्रकहरूलाई गुड्न समस्या हुनेछ । इन्धन बढी खपत हुने र समय पनि बढी लाग्नेजस्ता समस्या छ । कहिलेकाहीँ बाटोमै ट्रक बिग्रँदा घण्टौँसम्म जाम हुने समस्या थियो । तर, टनेल बनेपछि त्यस्तो समस्या समाधान हुन सक्ने विभागका अधिकारीहरू बताउँछन् । 

नेपालमा दक्षिण एसियाकै पहिलो सुरुङमार्ग 
महेन्द्र राजमार्गअन्तर्गत हटौँडा–पथलैयामा २३९ मिटरको सुरुङमार्ग सन् १९१८ (१९७५/७६) मै बनाइएको थियो । त्यसलाई चुरिया–अमलेखगन्ज सुरुङमार्ग भन्ने गरिन्छ । यो नेपालको मात्रै नभएर दक्षिण एसियाकै पहिलो सुरुङमार्ग हो । ०१६ सम्म सञ्चालन भएकोमा अन्य विकसित सडक आएपछि यो सुरुङमा गाडी गुड्न छाड्यो । यद्यपि, मान्छेको आवातजावत भने भइरहेको हुन्थ्यो ।

तर, माओवादी युद्धका कारण ०५२ यता त्यहाँ मान्छे हिँड्न छोडेका थिए । हाल उक्त सुरुङमार्ग संरक्षित राखिएको छ । यसबाहेक मनाङमा मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाले तीन सय १२ मिटरको र दोलखामा माथिल्लो तामाकोशी परियोजनाले तीन सय ३७ मिटरको सुरुङमार्ग बनाएका थिए । यी दुवै सुरुङमार्ग अहिले नियमित रूपमा सञ्चालित छन् । 

यी हुन् निर्माणाधीन सुरुङमार्ग 
सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा एक हजार एक सय २६ मिटर लामो सुरुङ (सिद्धबाबा) खन्ने काम जारी छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनले सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का लिएर गत माघदेखि यो परियोजना बनाइरहेको छ । हालसम्म झन्डै एक सय २० मिटर सुरुङ खनिएको छ । यो परियोजना सन् २०२७ सम्म सक्ने लक्ष्य छ । 

त्यस्तै, निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गमा ६ सुरुङ बन्दै छन् । त्यसमा तीन सुरुङमार्ग निर्माणको चरणमा छन् । द्रुतमार्गमा महादेवटार, धेद्रे र लेनडाँडामा ६.७८ किलोमिटर लामो तीन सुरुङमार्ग बन्दै छन् । हालसम्म त्यसमा ७५ प्रतिशतसम्म भौतिक प्रगति भएको छ । ३३५५ मिटरको महादेवटार, १६३० मिटरको धेद्रे र १४३० मिटर लेनडाँडामा सुरुङमार्ग आगामी मंसिरभित्रै ब्रेक थ्रु गर्ने तयारी छ ।

त्यस्तै, द्रुतमार्गमै २.२ किलोमिटरको थप तीन सुरुङमार्ग पनि बन्दै छन् । खोकनामा तीन सय मिटर, चन्द्राङ भिरमा नौ सय मिटर र रामचन्द्र भिरमा एक किलोमिटरको सुरुङमार्ग बन्दै छ । हाल यसको निर्माणका लागि खरिद प्रक्रिया अघि बढेको नेपाली सेनाले जनाएको छ । 

चिनियाँ सहयोगमा काठमाडौंको टोखाबाट नुवाकोटको शिवपुरी जोड्न पनि चार किलोमिटर हाराहारीमा सुरुङमार्ग बन्दै छ । चिनियाँ सहयोगमा यो परियोजना बन्दै छ, हाल यसका लागि अन्तिम चरणको वार्ता भइरहेको छ । यो सुरुङमार्ग बने काठमाडौं र चिनियाँ सीमाबीचको यात्रा छोट्टिनेछ । 

ad
ad