Skip This
नौमहिने संसद् अवरोध सम्झाउँदै खतिवडाले भने– ओलीजीलाई बिर्सने रोग लागेछ
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख २ आइतबार
  • Tuesday, 11 August, 2026
मुख्य समाचार डिजिटल संस्करण

नौमहिने संसद् अवरोध सम्झाउँदै खतिवडाले भने– ओलीजीलाई बिर्सने रोग लागेछ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २ आइतबार १८:oo:oo

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमाले अध्यक्ष केपी ओलीलाई बिर्सने रोग लागेको भन्दै कटाक्ष गरेका छन्। एमालेले प्रतिपक्षमा रहँदा नौ महिनासम्म संसद् अवरुद्ध गरेको प्रसंग उल्लेख गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

आइतबार संसद् भवनपरिसरमा पत्रकारहरूसँग कुरा गर्दै खतिवडाले भने, ‘ओलीजीलाई यति छिटो बिर्सने रोग लाग्यो भन्ने मलाई त लागेको थिएन। यो देशमा नौ महिनासम्म संसद् अवरुद्ध गर्ने, ५७ दिनसम्म संसद् अवरुद्ध गर्ने, नागरिकता विधेयक आयो– संसद् अवरुद्ध गर्ने, जलहरि आयो संसद् अवरुद्ध गर्ने, सुन केस आयो संसद् अवरुद्ध गर्ने काम हामीले गरेका होइनौँ।’

आइतबार नै एमाले अध्यक्ष ओलीले जनताको नाम लिएर कांग्रेसले सदनमा आफ्नो आक्रोश पोखेको आरोप लगाउँदै संयमित रहन आग्रह गरेका थिए। त्यसको प्रतिक्रियामा कांग्रेस सांसद खतिवडाले नौ महिना लामो संसद् अवरोधको विषय उल्लेख गरेका हुन्।

सदन सहज रूपमा चलिरहँदा सरकारले अधिवेशन अन्त्य गरेको दाबी गर्दै खतिवडाले सरकार संसदबाट भागेको टिप्पणी गरे। संसद् अधिवेशन अन्त्य गरेर सरकारले लगानी सम्मेलनका लागि अध्यादेश ल्याउन लागेको भन्दै उनले आपत्ति जनाए।

‘सदन यति सजिलोसँग चलिरहेको थियो, सरकारले विधेयक ल्याउने, पारित गर्ने गरे भइहाल्थ्यो नि। लगानी सम्मेलन गर्छु भन्ने अनि अध्यादेशबाट नियम ल्याउने । यो घोर आपत्तिजनक कुरा हो। हामी यसको छिनोफानो सदनमै बसेर गर्छौँ,’ खतिवडाले भने।

कम्युनिस्ट पार्टीहरू सरकारमा हुँदा संसद्लाई छल्ने परिपाटी विकास भएको भन्दै उनले संसद्लाई बाइपास गरेर गरिने निर्णय कांग्रेसलाई मान्य  नहुने प्रस्ट पारे।