गुल्मीको तम्घासमा करिब डेढ करोड खर्च गरेर दियो सिनेमा हल सञ्चालनमा आएको छ। दियाे सिनेमा प्रालिद्वारा उक्त हलमा गत २ कात्तिकबाट चलचित्र प्रदर्शनी सुरु भइसकेको छ।
स्थानीय युवा बद्रीप्रकाश श्रेष्ठले एक करोड ३८ लाख खर्चेर सिनेमा हल सञ्चालनमा ल्याएका हुन्। हलको पूर्वाधारसहितको सम्पत्ति करिब पाँच करोडको छ। तर, पछिल्लो व्यवस्थापनमा करिब डेढ करोड खर्च गरिएको छ। सोही ठाउँमा ०५४ सालमा शिवशक्ति चलचित्र मन्दिर सञ्चालनमा थियो। विभिन्न कारणले ०७१ पछि शिवशक्ति चलचित्र मन्दिर बन्द भयो। त्यो हलको लागि बद्री श्रेष्ठ, नवराज श्रेष्ठ र विष्णु बलालले संयुक्त लगानी गरेका थिए। गाउँ–गाउँमा टेलिभिजनको पहुँच पुग्यो। प्रविधिको पनि विकास हुन थाल्यो। जसका कारण शिवशक्ति चलचित्र मन्दिर बन्द भयो।
जिल्लाकै पुरानो पशुपति चलचित्र मन्दिर
गुल्मीमा सबैभन्दा पुरानो पशुपति चलचित्र मन्दिर हो। बाख्रेछेडामा ०४७ सालमा स्थापना भएको पशुपति चलचित्र मन्दिर ०६१-६२ सालमा बन्द भयो। तत्कालीन पशुपति चलचित्र मन्दिरका सञ्चालक केशरबहादुर थापाका अनुसार सामान्यतया दुई सो हुन्थ्यो। सधैँ मान्छे भरिभराउ हुन्थे। हलमा अढाइ-तीन सय मान्छे अटाउँथे।
प्रजातन्त्रको उदयबीच सञ्चालनमा आएको पशुपति चलचित्र मन्दिरले लोकतन्त्र भने देख्न पाएन। पशुपतिपछि पाँच-सात वर्षमा शिवशक्ति चलचित्र मन्दिर खुल्यो। सानो ठाउँमा दुईबीचको प्रतिस्पर्धा बढ्यो। पशुपति चलचित्र मन्दिर ब्यारेक नजिक भएकाले जनयुद्ध पछि संकटकालका कारण नाइट सो बन्द भयो। त्यसपछि बिस्तारै सञ्चालकहरूकाे मनस्थिति पनि परिवर्तन भयो। अन्ततः करिब १४ वर्ष चलेको पशुपति चलचित्र मन्दिर बन्द भयो।
दियोमा दैनिक तीन सो हुँदै
भर्खरै खुलेको दियो सिनेमा हलले दिनमा तीन सो गरिरहेको छ। तर, औपचारिक रूपमा शुभारम्भ भएको छैन। दियो सिनेमा हलका म्यानेजर कृष्ण पाण्डेयका अनुसार दिउँसो १२ र ३ बजे तथा साँझ ६ बजे गरी तीन सो हुँदै आएकाे छ। सिनेमा हलको क्षमता एक सय चारजनाको हो। सिट लक्जरी छन्। नेपाली र हिन्दी फिल्म प्रर्दशन हुँदै आएका छन्।
हिन्दीको भ्याट धेरै छ। एउटा फिल्ममा कम्तीमा चार सयजनाले हेरे हलको खर्च उठ्ने पाण्डेयले बताए। दियोमा अहिलेसम्म सबैभन्दा बढी ‘परदेसी’ फिल्म १२ सय जनाले हेरेका छन्। उत्कृष्ट फिल्म हुँदा हिन्दीमा पनि धेरै मान्छे आउँछन्। तर, म्यानेजर पाण्डेयका अनुसार फिल्म हेर्ने उमेर समूह नै हल छिरेको छैनन्। पाण्डेयले चलचित्रका बारेमा केही भ्रम र जनचेतनाको अभाव रहेको बताए। टिकट शुल्क प्रतिव्यक्ति दुई सय ५० रहेको छ।
सरकारको सहयोग र सहजीकरण नभएकाे गुनासाे
बजार चलायमान बनाउने एउटा व्यवसाय चलचित्र पनि हो। तर, यो व्यवसायलाई सरकारको तर्फबाट कुनै सहुलियत वा सहजीकरण नभएको व्यवसायीहरूको गुनासो छ।
गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा युवा व्यवसायी तारा भुसालले फिल्म हलहरू बजारको आवश्यक संरचनाभित्र पर्ने भए पनि सबैले पसलकै नजरमा हेरेकाले व्यवसायको श्रीवृद्धि हुन नसकेको बताए। ‘फिल्म हलमा व्यक्तिको ठूलो लगानी छ। तर, घरमा थापेको दुकानजस्तो हल होइन,’ उनले भने, ‘राज्यले अरू व्यवसायसरह सहजीकरण नगर्नु दुखद विषय हो।’
दियो हल सञ्चालन गर्न म्यानेजरदेखि कार्यालय सहयोगीसम्म ६ जना कर्मचारी छन्। उनीहरूकै पारिश्रमिक मासिक एक लाखभन्दा बढी छ। फिल्मको कर मासिक बुझाउनुपर्छ। बिजुली र खानेपानीको पनि खर्च धेरै हुन्छ। तर, लगानीअनुसारको तत्काल आम्दानी नभए पनि प्रतिष्ठा र बजारको एउटा आवश्यक व्यवसायमा पुन सञ्चालन गरेको लगानीकर्ता बद्रीप्रकाश श्रेष्ठले बताए। टुके लेजर प्रोजेक्टर, डिजिटल साउन्ड सिस्टम, सिल्भर पर्दा र अनलाइन टिकट सिक्टमसहित संरचना नयाँ प्रविधि र आवश्यकताको आधारमा निर्माण गरिएको छ।