१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
यानिस भारुफाकिस
२o८१ बैशाख १८ मंगलबार ११:३९:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

युरोपियन ‘युद्ध युनियन’ !

Read Time : > 2 मिनेट
यानिस भारुफाकिस
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:३९:oo

युरोपमा विविध लोकतान्त्रिक संघको सट्टा सुदृढ श्वेत इसाई क्षेत्रको परिकल्पना गर्दै नयाँ विचारधारा हाबी भएको छ

युरोप अब पहिचानलायक रहेन । युरोपेली एकताका पैरवीकर्ताले युरोपियन युनियनलाई राष्ट्रवादविरुद्ध उत्कृष्ट विश्ववादलाई उभ्याउने शान्ति परियोजनाका रूपमा मान्थे । यसलाई तत्कालीन फ्रान्सेली राष्ट्रपति फ्रास्वाँ मितेराँले नाटकीय रूपमा १९९५ मा ‘युद्धमा बराबरी’ भनेका थिए । तर, रुसले युक्रेनमाथि आक्रमण गर्नुअघि नै साझा समृद्धिका लागि शान्तिपूर्ण बाटोको युरोपेली दृष्टिकोणमा खलबलाहट आउन थालिसकेको थियो । रुसको आक्रमणले युरोपियन युनियनको उत्परिवर्तन धेरै अर्थमा कुरूप बन्दै गएको छ ।

युरोपियन युनियनका विदेश मामिला प्रमुख जोसेप बोरेलले हामीलाई विश्ववादबाट जातीय–क्षेत्रीयतामा परिवर्तन भएको जानकारी दिएका थिए, जब उनले युनियनलाई यसको सीमाबाहिर रहेको गैरयुरोपियन ‘जंगल’को खतरामा रहेको सुन्दर ‘बगैँचा’का रूपमा वर्णन गरेका थिए । हालै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र युरोपियन काउन्सिलका अध्यक्ष चार्ल्स मिसेलले युरोपेलीलाई युद्धका लागि तयारी गर्न मात्र नभई युनियनको आर्थिक वृद्धि र प्राविधिक विकासका लागि युरोपको हतियार उद्योगमा भर पर्न आग्रह गरेका थिए । जर्मनी र तथाकथित मितव्ययी राष्ट्र–राज्यलाई उचित वित्तीय संघको आवश्यकताबारे विश्वास दिलाउन असफल भएपछि तिनीहरूको निराशाजनक स्थिति अब युद्धको एकताका लागि बहस गर्ने अवस्थामा पुगेको छ ।

यो युरोपियन युनियनको इतिहासमा एक निर्णायक क्षण हो । युनियनका समर्थक शक्तिले ह्यामिलटोनियन सिद्धान्त (ऋण पारस्परिकताले युनियनलाई नेतृत्व गर्ने) वा मूल अन्तरसरकारी दृष्टिकोण (क्रमिक बजार एकीकरण) लाई पछ्याउने कि नपछ्याउनेमा बहस गरिरहेका छन् । अधिशेष अर्थतन्त्रका सरकारले क्रमिक बजार एकीकरणलाई प्राथमिकता दिएका छन्, जब कि घाटा अर्थतन्त्रका प्रतिनिधि ह्यामिलटोनियन समाधानका पक्षमा थिए, जसलाई किनारा लगाइयो ।

युरो संकटले मुद्रा अन्तर्राष्ट्रिय र बजार एकीकृत हुँदा ऋण बैंक र कर राष्ट्रिय हुन सक्छन् भन्ने बहानालाई जारी राख्ने असम्भाव्यतालाई उजागर गरेको थियो । युरोपियन युनियनले युरो बचत गर्न न्यूनतम काम गरेको छ, परिणामस्वरूप युएस ट्रेजरिजजस्ता सार्वभौम ऋण संयन्त्रविना त्रुटिपूर्ण अर्ध–वित्तीय युनियन बन्यो । बढ्दो रचनात्मक औचित्यको सहारा लिई युरोपेली केन्द्रीय बैंकले बारम्बार आफ्नो बडापत्र उल्लंघन गरेको छ । सबैभन्दा हानिकारक रूपमा साझा कोष एवं बोझ वितरणका लागि हुने त्रुटिपूर्ण राजनीतिक प्रक्रियामा लोकतान्त्रिक वैधताको कुनै पनि झल्को छैन ।

दशकौँदेखि हामीले युरोपेली हरित नयाँ सम्झौताको अभियान चलायौँ, युरोपेली लगानी बैंकमार्फत स्वच्छ ऊर्जा–प्रविधि रूपान्तरण कोषका लागि वार्षिक ५० खर्ब युरो उत्पन्न गर्ने इसिबी जारी युरोबन्ड जस्ता विकल्प प्रस्ताव गर्दै आएका छौँ । युरोपियन युनियनका निर्णय–निर्माताले असफल हुने निश्चित भएको जुनकर योजनाजस्ता भ्रमपूर्ण विकल्प र स्पष्ट साझा उद्देश्यविना साझा ऋण खर्च गर्ने ‘पेन्डेमिक रिकभरी कोष’को छनोट गरेका थिए । 

तसर्थ, युरोपियन युनियनको अर्थतन्त्र अब भत्किएको छ र एक समयको मुख्य जर्मन व्यापार मोडेलले द्रुत रूपमा गिरावटको अनुभव गरिरहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आपूर्ति गरेको सस्तो ग्यासबाट मुक्तिका लागि आवश्यक पर्ने हरित प्रविधि र क्लाउड क्यापिटलजस्ता आवश्यक प्रविधि विकास गर्न असफल भई आधा–मापन रणनीतिलाई रोजेर युरोपियन युनियनले दुई दशकसम्म लगानीमा अवरोध पुर्‍याएको छ । क्लाउड पुँजीमा प्रभुत्व जमाउने अमेरिका र चीनको सम्पत्ति सञ्चयको संयन्त्रले युरोपमा नयाँ शीतयुद्ध सुरु गरेको छ, जसले चिनियाँ निर्यात बजारमा जर्मन उद्योगको पहुँचमा गम्भीर असर पारेको छ ।

अख्तियारीमा रहेका युरोपेली युरोपियनले आफ्नो व्यापार मोडेल भत्किएको मान्न अस्वीकार गरिरहेको छ वा नयाँ प्याकेजमा पुरानो समाधान अप्रासंगिक सावित हुनेछ भन्ने मान्न अस्वीकार गरिरहेको छ । 

यो बहस युरोपको वास्तविक समस्याबाट खतरनाक विचलन हो । जर्मन औद्योगिक पुँजीले अब घट्दो उद्योगमा ऊर्जा अनुदानका लागि अतिरिक्त रकम जम्मा गर्दैन । यस सन्दर्भमा पूर्वचान्सलर गेर्हार्ड स्रोडरको जस्तै ज्याला संयमले ब्याट्री प्रविधि र आधुनिक विद्युतीय सवारीका लागि महत्वपूर्ण एल्गोरिदम नभएको कार उद्योगको प्रतिस्पर्धात्मकतामा सुधार गर्दैन ।

चार्ल्स मिसेलले हालैको युरोपेली इतिहासको डस्टबिनबाट युरोबन्ड र इआइबीलाई निकालेर बलियो बनाउन हाम्रा प्रस्ताव लागू गर्न खोजेको देखिन्छ । तर, उनले नयाँ ऋण हरित प्रविधि वा क्लाउड क्यापिटल कोषका लागि प्रयोग गर्ने प्रस्ताव गरेका छैनन् । तर, नयाँ हतियार उद्योगका लागि प्रस्ताव गरेका छन् । जहाँ उनी कोष ‘हाम्रो प्राविधिक, नवीनता र औद्योगिक आधारलाई बलियो बनाउने शक्तिशाली माध्यम बन्नेछ’ भन्छन् ।

के मिसेल गम्भीर भएका छन् ? इआइबीले रक्षा उद्योगमा आफ्नो ऋण कसरी फिर्ता गर्नेछ, जुन परिभाषाअनुसार नै अनुत्पादक छ ? हाम्रा गोदाम बारुद र मिसाइलले भरिँदा के हुनेछ ? कि त मिसेलको परिकल्पना गरिएको लगानी खस्किनेछ वा युरोपले वैकल्पिक विधि खोज्नुपर्नेछ, अर्थात् गोदाम खाली गर्न अनिवार्य रूपमा नयाँ द्वन्द्वमा संलग्न हुनुपर्नेछ । त्यसैले, विवेकशील युरोपेलीले मिसेलको योजना जुनकर योजनाको असफल बाटोमा जाओस् भनेर प्रार्थना गर्नुपर्छ । युरोपियन युनियनको अक्षमता अचानक शान्तिप्रेमी युरोपेलीका लागि अन्तिम आशा बनेको छ ।

म ती दिन सम्झिन्छु, जब युरोपेली एकता चाहनेहरूले युरोपियन युनियनलाई अँगालेका थिए । त्यतिवेला यसलाई सीमा हटाउन, खुलापन बढाउन, विविधता एवं सहिष्णुतालाई प्रोत्साहन गर्ने अभियानका रूपमा बुझिएको थियो । त्यो युरोप तहसनहस भइसकेको छ । युरोपमा विविध लोकतान्त्रिक संघको सट्टा सुदृढ श्वेत इसाई क्षेत्रको परिकल्पना गर्दै एउटा नयाँ विचारधारा हाबी भएको छ । यो युरोप त्यस्तो बनिसकेको छ, जसलाई युवाहरूले अँगाल्नै सक्दैनन् र विश्वले पनि सम्मान गर्दैन ।

(भारुफाकिस ग्रिसका पूर्वअर्थमन्त्री एवं अर्थशास्त्री हुन्) 
– प्रोजेक्ट सिन्डिकेटबाट

ad
ad