
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट आज विश्वासको मत लिँदै छन्। विश्वासको मतको प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ।
विश्वासको मत लिनुअघि मुख्यमन्त्री शाहले आफ्नो पार्टी नेपाली कांग्रेसका प्रदेश सांसदहरूसँग कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरेका छन्।
आज बिहान बसेको संसदीय दलको बैठकमा विश्वासको मतको सामना गरेर जाने वा बहुमत नपाउने अवस्था भए प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने भन्नेबारे मुख्यमन्त्रीले सांसदहरूसँग सुझाव मागेका थिए। सांसदहरूले विश्वासको मत नपाउने अवस्थामा राजीनामा दिएर जानु उपयुक्त हुने सुझाव दिएको बताइएको छ।
‘बहुमत नपुग्ने अवस्था भए राजीनामा दिएर बाटो सहज बनाइदिनुपर्छ भन्ने सुझाव दिएका छौँ,’ बैठकमा सहभागी एक सांसदले भने, ‘केही साथीहरूको भने विश्वासको मतको सामना गरेर जानुपर्छ भन्ने धारणा थियो।’
उनका अनुसार अन्तिम अवस्थासम्म परिस्थिति हेरेर निर्णय गर्न सांसदहरूले मुख्यमन्त्रीलाई सुझाव दिएका छन्। ‘बहुमत जुटाउनका लागि अहिले पनि उच्च तहमा कुराकानी भइरहेकै छ,’ उनले भने, ‘बैठक बस्ने वेलासम्म परिस्थिति कस्तो बन्छ, त्यहीअनुसार मुख्यमन्त्रीले निर्णय गर्नुहुन्छ।’
कांग्रेस सांसद प्रकाश बमले बहुमत नजुट्ने अवस्थामा राजीनामा दिनु नै उपयुक्त विकल्प भएको सुझाव आफूहरूले दिएको बताए। कर्णाली र गण्डकीमा मुख्यमन्त्रीले राजीनामा दिएकाले विश्वासको मत पाउने निश्चित नभए राजीनामा उचित हुने बमले बताए।
बैठकमा मुख्यमन्त्रीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले विश्वासको मत लिनुपर्नेमा जोड गरिरहेको जानकारी गराएका थिए। कांग्रेस प्रमुख सचेतक विक्रमसिंह धामीले बैठकले अन्तिम निर्णय गर्ने जिम्मा मुख्यमन्त्री दिएको बताए।
विश्वासको मतको सामना गरेर जानुपर्छ भन्ने पक्षमा मुख्यमन्त्री रहेको उनले बताए। ‘संसद् बैठकभित्र छिरिसकेपछिको परिस्थिति कस्तो हुन्छ, त्यहीअनुसार मुख्यमन्त्रीले निर्णय गर्नुहुन्छ,’ धामीले भने। नागरिक उन्मुक्ति पार्टीभित्रको विवादका कारण मुख्यमन्त्रीले विश्वासको मत पाउने सम्भावना न्यून देखिएको छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा नागरिक उन्मुक्तिका दुईथरी ह्विप जारी भएका छन्।
अध्यक्ष रञ्जिता श्रेष्ठले विश्वासको मतको विपक्षमा मतदान गर्न सांसदहरूका नाममा बुधबार ह्विप जारी गरेकी छिन्। संसदीय दलका प्रमुख सचेतक खुसीराम डगौराले भने बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरेका छन्।
५२ सदस्य रहेको प्रदेश सभामा विश्वासको मत पाउन मुख्यमन्त्रीलाई २७ सांसदको समर्थन आवश्यक छ। नागरिक उन्मुक्तिले साथ दिए एक सिट रहेको राप्रपा र स्वतन्त्र सांसद तारा जोशीले पनि समर्थन गर्ने मुख्यमन्त्रीको विश्वासको थियो। तर, नागरिक उन्मुक्तिबाट सरकारमा मन्त्री रहेका पाँचबाहेक दुई सांसद पार्टी अध्यक्ष श्रेष्ठको पक्षमा छन्।
उनले प्रदेश सरकारमा राज्यमन्त्री रहेकी पार्टीकी समानुपातिक सांसद इन्दिरा गिरीलाई सांसदबाट हटाउने निर्णय बुधबार नै प्रदेश सभामा दर्ता गराएकी छिन्। सांसदलाई कारबाही गरिएको सूचना सभामुखले बिहीबारको बैठकमा सुनाउने सम्भावना रहेको बताइएको छ।
गिरी पदमुक्त भए वा नागरिक उन्मुक्तिका एक सांसद पनि अनुपस्थित भए मुख्यमन्त्रीले विश्वासको मत पाउनेछैनन्। राप्रपा र स्वतन्त्र सांसदले पनि विश्वासको मतबारे निर्णय गरिसकेका छैनन्। कांग्रेसका १८, नागरिक उन्मुक्तिका सात, राप्रपाका एक र स्वतन्त्र सांसदले मत दिएको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत पाउँछन्।