
कांग्रेस नेता डा. शेखर कोइरालाले छिट्टै कांग्रेस नेतृत्वमा सत्तागठबन्धन बन्ने दाबी गरेका छन् । शनिबार वसुन्धारामा बिपी स्मृति सामुदायिक अस्पतालको १६औँ वार्षिक साधारणसभामा उनले निरन्तरको अस्थिरतालाई रोक्न कांग्रेस गठबन्धन बनाउने प्रयत्न भइरहेको बताए ।
‘देशमा फेरि नयाँ गठबन्धन बन्छ केही दिन, महिनापछि । पक्कै बन्छ नै, किनकि हामी विपक्षमा छौँ । सत्तामा जान कोसिस गरिरहेका हुन्छौँ । त्यो स्वाभाविक पनि हो । यसरी देश अगाडि बढ्न सक्दैन । निर्वाचन प्रणाली नै यस्तो छ कुनै पनि दलको बहुमत आउनै सक्दैन गठबन्धनमा जानैपर्ने हुन्छ,’ उनले भने ।
कोइरालाले केन्द्रमा सत्ता परिवर्तनसँगै प्रदेशका सरकारसमेत निरन्तर अस्थिर हुने गरेको भन्दै चिन्ता जनाए । निर्वाचन प्रणाली परिवर्तन हुनुपर्नेमा उनको जोड थियो । निर्वाचन प्रणाली परिवर्तनका लागि समावेशी समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्ने कोइरालाको भनाइ थियो ।
‘गठबन्धन बन्ने भत्कने गर्न थाल्यो भने देशको विकास कहिले गर्ने ? केन्द्रमा त हुने भयो । अब सातै प्रदेशमा पनि सरकार परिवर्तन हुँदै छ,’ उनले भने, ‘समानुपातिक समावेशी चरित्रलाई स्विकारेर कसरी जाने निर्वाचन प्रणालीलाई सुधार गरे जान सकिन्छ कि सकिँदैन ?’