१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १० बिहीबार
  • Thursday, 23 May, 2024
टेकराज थामी काठमाडाैं
शिल्पा कर्ण काठमाडाैं
२o८१ जेठ १० बिहीबार o६:२६:oo
Read Time : > 5 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

घरेलु हिंसा मधेशमा धेरै 

जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको निष्कर्ष– श्रीमतीलाई कुट्न पाइने सोच राख्ने महिलाको संख्या पुरुषभन्दा धेरै 

Read Time : > 5 मिनेट
टेकराज थामी, काठमाडाैं
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १० बिहीबार o६:२६:oo

घटना १ : घरेलु हिंसा गरेको भन्दै सप्तरी राजविराज नगरपालिका– ५ का डा. उज्ज्वल देवसहित परिवारका चार सदस्यलाई जिल्ला अदालतले जरिवाना तोक्यो । करिश्मा चौधरीले दायर गरेको मुद्दामा न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले १२ वैशाख ०८० मा चारैजनालाई तीन–तीन हजार गरी १२ हजार रुपैयाँ जरिवाना गरेको थियो । उज्ज्वलसँग प्रेमविवाह गरी घर बस्न जाँदा आफूलाई नराम्रो व्यवहार गरेको, दाइजो लिएर आउन कर गरेको, प्रतिवाद गर्दा घर निकालालगायतका हिंसा गरेको भन्दै करिश्माले मुद्दा दायर गरेकी थिइन् । मुद्दा दायर भएको तीन महिनामै कसुर कायम हुने फैसला भएको थियो ।

घटना २ : दाइजो नल्याएको निहुँमा महोत्तरी औराहकी नेहा चौधरी चिकित्सक श्रीमान् महोत्तरी रामगोपालपुरका डा. पंकज चौधरीबाट हिंसाको सिकार भइन् । सुन्दर भविष्यको सपनासहित आठ महिनाअघि मात्रै विवाह गरेका थिए उनीहरूले । तर, दाइजोले सम्बन्धमा दरार ल्याइदियो । विवाद उत्कर्षमा पुग्यो । डा. पंकज नेहामाथि कुटपिटमै उत्रिए । घरैबाट निकालिदिए । नेहाले महोत्तरी प्रहरीमा जाहेरी दिइन् । प्रहरीले पंकजलाई पक्राउ गर्‍यो । उनी अदालतबाट धरौटीमा छुटेका छन् । नेहा न्यायको पखाइमा छिन् ।

घटना ३ : तीन वर्षअघि दाइजोको विवादित विषय प्रस्ट्याउन पर्सा वीरगन्जका डा. राजेश साह पत्रकार सम्मेलनमा थिए । उनकी श्रीमती डा. निलम साह सम्मेलनमै पुगिन् । दुईबीचको विवाद हात हालहालमा बदलियो । डा. निलम भन्दै थिइन्, ‘श्रीमान् राजेशले दाइजो नल्याएको झोँकमा हिंसा गरे । बाध्य भएर पीडा सार्वजनिक गर्नुपर्‍यो ।’ निलमका अनुसार विवाहलगत्तै माइती पक्षले डा. राजेशको परिवारलाई ३५ लाख रुपैयाँ दिएको थियो । तर, राजेशका परिवारले निलमसँग पुनः २५ लाख रुपैयाँ र कारको माग गर्‍योे । निलमको परिवार माग पूरा गर्न मन्जुर नभएपछि उनले हिंसा खेप्नुपर्‍यो । 

                 ०००                                                

प्रहरी तथ्यांकले पछिल्ला साढे पाँच वर्ष (६७ महिना)मा मुलुकभर घरेलु हिंसाका ८४ हजार ६ सय ५६ घटना भएका छन् । यसमध्ये २४ हजार ६ सय ४० घटना मधेश प्रदेशमा भएका छन्, जुन कुल घरेलु हिंसाको २९.१० प्रतिशत हो ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी भीम ढकाल मधेश प्रदेशमा घरेलु हिंसा सबैभन्दा धेरै रहेको बताउँछन् । उनका अनुसार अशिक्षा, बेरोजगारी, कम चेतना, वैदेशिक रोजगार, सामाजिक सञ्जाललगायत घरेलु हिंसालाई बढाउने मुख्य कारक बन्ने गरेको छ । ‘घरेलु हिंसासँग सम्बन्धित घटना विश्लेषण गर्दा मधेश प्रदेश अगाडि देखिन्छ । यसका विविध कारण छन् । जसमध्ये अग्रसूचीमा आउने कारण अशिक्षा, कम चेतना, बेरोजगारी, वैदेशिक रोजगारी, सामाजिक सञ्जाल, मदिरा सेवनलगायत हुन् । पितृसत्तात्मक सामाजिक संरचना पनि घरेलु हिंसालाई बढावा दिने कारण हुन् ।’

राष्ट्रिय महिला आयोगका अनुसार पनि घरेलु हिंसाका घटना मधेश प्रदेशमा धेरै हुने गरेका छन् । आयोगकी अध्यक्ष कमला पराजुलीले मधेश प्रदेशमा घरेलु हिंसा बढ्नुको खास कारण पितृसत्तात्मक सोच र दाइजो मुख्य कारण रहेको बताइन् । ‘मधेश प्रदेशमा घरेलु हिंसाका घटना अन्यत्रको तुलनामा धेरै छन् । यसका खास दुई कारण छन् । पहिलो– पितृसत्तात्मक मानसिकता । मधेशमा यो मानसिकता यति धेरै छ कि छोरीलाई सन्तानको रूपमा स्वीकार गर्दैनन् । नागरिकता बनाउनसमेत उनीहरू अघि सर्दैनन् । दोस्रो– दाइजो । छोरीलाई दाइजो दिएर पठाउनुपर्छ भने छोराले प्राप्त गर्छ । त्यसैले, यसले छोराको महत्वलाई बढावा दियो । मधेश प्रदेशमा घरेलु हिंसाको जड नै हो,’ उनले भनिन् ।

राजधानीमै कम छैनन् घरेलु हिंसाका घटना 
मधेश प्रदेशपछि सबैभन्दा धेरै घरेलु हिंसाका घटना देशकै केन्द्रीय राजधानी रहेको काठमाडौं उपत्यकामा हुने गरेका छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार ६७ महिनामा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै घरेलु हिंसाका १५ हजार सात सय १४ घटना भए । यो कुल घरेलु हिंसाका घटनाको १८.५६ प्रतिशत हो । 

काठमाडौं उपत्यकापछि सबैभन्दा धेरै घरेलु हिंसा लुम्बिनी प्रदेशमा हुने तथ्यांकले देखाएको छ । सोही अवधिमा लुम्बिनीमा यस्ता १३ हजार आठ सय ४२ घटना भएका छन् । यो कुल घटनाको १६.३३ प्रतिशत हो  । त्यसपछि बागमतीमा (काठमाडौं उपत्यकाबाहेक) सात हजार पाँच सय ४२ घटना भए । यो कुल घटनाको ८.९० प्रतिशत हो । काठमाडौं उपत्यकासहित जोड्दा भने बागमती घरेलु हिंसामा दोस्रो नम्बरमा छ । तर, प्रहरीले काठमाडौं उपत्यकाका तीन जिल्लाको बेग्लै तथ्यांक राख्ने गरेको छ ।

कोशी प्रदेशमा ६७ महिनामा ६ हजार दुई सय ४३ (७.३७%), गण्डकीमा ६ हजार एक सय ५७ (७.२७%), सुदूरपश्चिममा पाँच हजार आठ सय ४१ (६.८९%) र कर्णालीमा चार हजार ६ सय ९४ (५.५४%) घरेलु हिंसाका घटना भएका छन् ।

१९% महिला र १७% पुरुष श्रीमती कुट्न पाइनेमा सहमत : सर्वेक्षण
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालका १९ प्रतिशत महिला र १७ प्रतिशत पुरुष श्रीमतीलाई कुट्न सकिनेमा सहमत देखिन्छन् । यस्तो, विचार राख्नेमा १५ देखि १९ वर्षका उमेर समूहका बढी छन् । सर्वेक्षणमा सहभागीहरूले बालबच्चा हेरचाह राम्रोसँग नगरेमा, खाना डढाएमा, श्रीमान्सँग मुखमुखै लागेमा, नसोधी बाहिर गएमा र शारीरिक सम्पर्क राख्न अस्वीकार गरेमा कुट्न सकिने धारणा राखेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को पृष्ठ ३९९ मा भनिएको छ, ‘१५ देखि १९ वर्षका महिला र पुरुषहरू पतिले पत्नीलाई कुट्ने विषयमा सहमत भएको देखिन्छ । कारणमा बालबच्चा हेरचार राम्रोसँग नगरेमा, खाना डढाएमा, श्रीमान्सँग मुखमुखै लागेमा, नसोधी बाहिर गएमा र शारीरिक सम्पर्क राख्नेमध्ये एक हुन सक्छ ।’

के हो घरेलु हिंसा ? 
घरेलु हिंसा कसुर र सजाय ऐन, २०६६ ले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातनालाई घरेलु हिंसाका रूपमा परिभाषित गरेको छ । घरेलु सम्बन्धलाई थप स्पष्ट पार्दै ऐनको दफा २(ख)ले वंशज, विवाह वा धर्मपुत्र, धर्मपुत्री भएका वा संयुक्त परिवार, आश्रित वा कामदारका रूपमा एकै परिवारमा बसेका व्यक्तिहरूको बीचमा भएको सम्बन्ध बुझ्नुपर्ने उल्लेख छ । 

यसरी घरेलु सम्बन्धमा हुनेलाई कुटपिट गर्ने, थुनामा राख्ने, कुनै हिसाबले चोट पुर्‍याउने, पोल्ने, डाम्ने, शरीरमा पीडा गराउने कुनै कार्य गर्ने गराउने गर्नुहुँदैन । उनीहरूलाई आर्थिक र यौनजन्य यातनासमेत दिन नहुने ऐनमा छ । यसैगरी, मानसिक यातना दिँदासमेत घरेलु हिंसाको कसुर हुन जान्छ । शारिरीक यातनाको डर–धाक देखाउने, गालीगलौज गर्ने, घर निकाला गर्ने, भेदभाव वा अपमान गर्ने, आत्महत्याका लागि दुरुत्साहन दिने वा गर्ने परिस्थिति खडा गरेको गराएको ठहर भए पनि ऐनअनुसार कसुर गरेको ठहर्छ । 

घरेलु हिंसाको कसुरको जानकारी जोसुकैले पनि सम्बन्धित निकायलाई गराउन सक्छ । पीडित आफैँ पुग्नुपर्ने भन्ने बाध्यता ऐनले तोकेको छैन । ऐनको दफा ४ ले घरेलु हिंसा भएको, भइरहेको वा हुन लागेको थाहा पाउने जोसुकैले राष्ट्रिय महिला आयोग, स्थानीय तह वा प्रहरी कार्यालयलाई सोसम्बन्धी विवरण खुलाई लिखित वा मौखिक उजुरी दिन सक्छ । घटनाको ९० दिनभित्र उजुरी दिनुपर्ने प्रावधान छ भने उजुरी परेको ३० दिनभित्र पीडितको इच्छामा मिलापत्र गराइदिन सक्ने कानुनी व्यवस्था छ । 

घरेलु हिंसा गर्नेलाई तीन हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिन्छ भने ६ महिनासम्म कैदसमेत हुन सक्छ । उद्योग वा दुरुत्साहन गरेमा वा मतियार ठहरिएमा मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने व्यवस्था ऐनमा छ ।

श्रीमान् वैदेशिक रोजगारीमा, श्रीमती परिवारकै सदस्यबाट हिंसामा 
श्रीमान् वैदेशिक रोजगारीमा रहेका बखत सासू, ससुरा र जेठाजुले घरेलु हिंसा गरेको ठहर गर्दै दार्चुला जिल्ला अदालतले ०७६ असोजमा तीनै प्रतिवादीलाई जनही तीन महिना कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला सुनायो । निवेदक विमला जोशीको फिरादमाथि फैसला गर्दै अदालतले ६५ वर्षीय ससुरा प्रमानन्द, ५५ वर्षीया सासू पार्वती र ३० वर्षीय जेठाजु श्यामराज जोशीलाई सजाय तोकेको थियो । निवेदकले शारीरिक, यौनजन्य र आर्थिक यातना दिएको दाबी गरेकी थिइन् ।

घरेलु हिंसामा परेकी महिलाले महिला आयोगमै गरिन् विष सेवन 
जातीय तथा घरेलु हिंसामा परेको भन्दै ३० वर्षीया महिला गत ४ चैतमा उजुरी लिएर राष्ट्रिय महिला आयोग पुगिन् । आयोगले १२ चैतमा दुवै पक्षलाई छलफलमा बोलायो । पीडक पक्ष परिवारका सदस्यसहित आयोग पुगे । छलफल भयो । दुवै पक्ष लगभग सहमति गर्ने निष्कर्षमा पुगे । यही क्रममा पीडित महिलाका श्रीमान्ले अदालतमा सम्बन्धविच्छेदको मुद्दा हालिसकेको हुँदा मिल्न नसकिने भने । महिला आयोगले घटनाको तथ्यबारे खोजबिन गर्‍यो । नभन्दै श्रीमान्ले आयोगमा आउनुअघि नै जिल्ला अदालत दाङमा सम्बन्धविच्छेदको मुद्दा हालेको खुल्यो । अदालतको क्षेत्राधिकारभित्र प्रवेश गर्न नमिल्ने भएको भन्दै आयोगले मुद्दा हेर्न नमिल्ने भन्यो । महिला आवेगमा आइन् । उनी आयोगबाट सरासर निस्किइन् । नजिकै रहेको खाद्य संस्थानको शौचालयमा प्रवेश गरिन् र झोलामा बोकेको मेटासिट सेवन गरिन् । उनलाई उपचारका लागि वीर अस्पताल लगियो । आयोगकी अध्यक्ष कमला पराजुलीका अनुसार उनको अहिले अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ  ।

महिला मात्र होइन, पुरुष पनि घरेलु हिंसामा
घरेलु हिंसामा प्रायः महिला पीडित भएका घटना बाहिर आउँछन् । तर, केही पुरुष पनि उजुरी लिएर न्यायिक निकाय पुग्ने गरेका घटनासमेत छन् । बाँके जिल्ला अदालतमा दायर एक मुद्दामा लीलावती गौतमलाई पुरुष हिंसामा तीन हजार जरिवानाको सजाय भएको थियो । ०६८ मंसिरमा दायर मुद्दामाथि ०७० वैशाखमा फैसला आएको थियो । श्रीमान् खगेन्द्रबहादुर गौतमलाई आफूले मात्र नभएर गुन्डा लगाएरसमेत कुटाउने र ज्यान मार्ने धम्की दिने गरेकी थिइन् । साथै, श्रीमान्माथि प्रेसरकुकरले प्रहार गरेकोसमेत पुष्टि भएपछि अदालतले श्रीमतीलाई सजाय सुनाएको थियो । 

ad
ad