१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङको स्टेट गेस्ट हाउसमा भएको द्विपक्षीय भेटवार्ता
२०८० चैत १४ बुधबार ०६:१८:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षीबीच औपचारिक वार्ता, सी र प्रचण्डको भ्रमणमा भएका सहमति कार्यान्वयनमा जोड

Read Time : > 3 मिनेट
२०८० चैत १४ बुधबार ०६:१८:००

- परराष्ट्रमन्त्री श्रेष्ठ र समकक्षी यीबीच डेढ घण्टा औपचारिक र एक घण्टा ‘वान टु वान’ संवाद, १४ वटै सीमानाका छिट्टै खोल्ने निर्णय
- चिनियाँलाई जस्तै नेपालीलाई पनि फ्री भिसाको व्यवस्था गर्न नेपालको प्रस्ताव, अध्ययन गरिरहेको चिनियाँ पक्षको भनाइ

चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग औपचारिक वार्ता गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत असोजमा भएको भ्रमणमा बेइजिङमा भएका १२ सहमतिपत्र÷सम्झौता कार्यान्वयनका विषयमा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ समकक्षीसँग छलफल गरेका छन् ।

भेटवार्तामा विगतमा दुई देशबीच भएका सहमति–सम्झौता कार्यान्वयनका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, सीमापार रेलमार्गदेखि विद्युत् प्रसारणलाइनका विषयमा छलफल भएको छ । 

प्रचण्डको भ्रमणमा भएका सहमति मात्रै नभएर पाँच वर्षअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका वेला भएका सहमति कार्यान्वयनमा चीनले प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री प्रचण्डले असोज ६ देखि १३ सम्म चीनको औपचारिक भ्रमण गरेका थिए । 

‘नेपाल–चीन सम्बन्धका सबै पक्षबारे विस्तृतमा अत्यन्तै सकारात्मक छलफल भयो,’ भेटवार्तापछि चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले बेइजिङबाट टेलिफोनमा भने, ‘पर्यटन, विकास, रेलमार्ग, विद्युत् प्रसारणलाइन, बिआरआई कार्यान्वयन योजनालगायत सबै विषयमा फलदायी कुराकानी भयो ।’ 

राजदूत श्रेष्ठका अनुसार उपप्रधानमन्त्री श्रेष्ठले बिआरआई कार्यान्वयन योजनामा हस्ताक्षरका लागि नेपाल तयार रहेको बताएका थिए । जबाफमा विदेशमन्त्री यीले हस्ताक्षर हुनु दुवै देशका लागि हितकर हुने बताएका थिए । ‘बिआरआई कार्यान्वयन योजनामा हस्ताक्षर भयो भने राम्रो हुन्छ । यसबारेमा बाहिर भएका भ्रमले केही पनि गर्ने वाला छैन’ चिनियाँ बिदेशमन्त्रीलाई उद्धृत गर्दै राजदूत श्रेष्ठले भने । 

चिनियाँ विदेशमन्त्री यीले नेपालको सामाजिक आर्थिक विकासमा चीन सहयोगका लागि तयार रहेको दोहोर्‍याएका थिए । उपप्रधानमन्त्री श्रेष्ठले बिगतका सहमति अनुसार परियोजनाहरू कार्यान्वयनमा जोड दिएका थिए । ‘रोकिएका परियोजनाहरूका बिषयमा खुला दिलले छलफल गरेर कार्यान्वयनमा लैजानुपर्छ । यसका लागि हामी आफ्नो ठाउँबाट प्रयास गर्छौँ’ चिनियाँ विदेशमन्त्रीको भनाई थियो । 

उच्चस्तरीय भ्रमण आदनप्रदान, आर्थिक सहकार्य, कनेक्टिभिटी, जनस्तरको सम्बन्धबारे छलफल भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले आर्थिक विकास र सम्बृद्धि वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै नेपाललाई थप सहयोग गर्न चीनलाई आग्रह गरेका छन् । उनले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याएका थिए । 

चिनियाँ विदेशमन्त्री यीले नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकतामा राखेको बताएका थिए । सम्बद्ध अधिकारीहरूका अनुसार चिनियाँ बिदेशमन्त्री यीले बिगतमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण र चिनियाँ राष्ट्रपति सि जिनपिङ्को नेपाल भ्रमणका बेला भएका सहमति कार्यान्वयनमा चीन प्रतिबद्ध रहेको जानकारी दिएका थिए । 

केरुङ् काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका बिषयमा छलफल भएको र प्रचण्डको भ्रमणका बेला भएका सीमापार २२० केभी विद्युत प्रशारणलाइन निर्माणबारे छलफल भएको राजदूत श्रेष्ठले बताए । प्रधानमन्त्रीको भ्रमणमा केरुङ रसुवागढी चिलिमे प्रशारणलाइन शीघ्र निर्माण शुरु गर्ने सहमति भएको थियो । यसबारे छलफल गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली बेइजिङ्मा छ । ‘नेपाली प्राविधिक टोलीले बुधवार र विहीवार चिनियाँ स्टेट ग्रिडको टीमसँग बेइजिङ्मा विद्युत प्रशारणलाइनबारे छलफल गर्दैछ’ राजदुत श्रेष्ठले भने । 

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीचका थप सीमानाका खोल्न तथा बिगतका सहमति अनुसार चिनियाँ बन्दरगाह नेपालले प्रयोग गर्न पाउने सुनिश्चितताका लागि आग्रह गरेका थिए । जबाफमा चिनियाँ विदेशमन्त्री यीले केही प्राविधिक तयारी सम्पन्न भएपछि बन्दरगाह प्रयोगमा ल्याउन दिन चीन तयार रहेको बताए । सीमा क्षेत्रमा पूर्वाधार निर्माणसँगै नेपाल चीनका परम्परागत तथा द्धिपक्षीय थप नाका खोलिने पनि चिनियाँ बिदेशमन्त्रीले आश्वासन दिएको राजदूत श्रेष्ठको भनाई छ । 

राजदूत श्रेष्ठका अनुसार लुम्बिनी र पोखरा अन्तराष्ट्रिय विमानस्थलमा चिनका विभिन्न शहरबाट उडान शुरु गर्न नेपालको आग्रह थियो । विमानस्थलमा चिनका विभिन्न शहरबाट उडान शुरु गर्न नेपालको आग्रह थियो । ‘चिनियाँ विदेश मन्त्रीले यसका बारेमा हामी अध्ययन गर्छौँ भन्नुभएको छ’ राजदूत श्रेष्ठले भने । 

सोमवार बेइजिङ् पुगेलगत्तै उनले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य वाङ् हुनिङ्, अन्तराष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानलगायत अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । नेशनल कमिटि अफ द चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसि)का अध्यक्ष हुनिङ्ले दुई बिआरआई कार्यान्वयन योजनामा चाँडै हस्ताक्षर हुने विश्वास गरेका थिए । 

उपप्रधानमन्त्री श्रेष्ठ मंगलवार विहान हुवाए रिसर्च एण्ड डेभलेपमेन्ट एक्जुकेटिभ्स एक्जिबिसन सेन्टरको भ्रमणमा गएका थिए । त्यहाँबाट नेपाली राजदुताबास पुगेर उनले लगानी सम्बन्धी सेमिनारलाई सम्बोधन गरेका थिए । उनले चिनियाँ उद्योगीहरूलाई नेपालमा लगानी सम्मेलनमा सहभागी हुन र लगानी गर्न आह्वान गरेका थिए । दुतबसामा सहभागी चिनियाँ उद्योगी व्यावसायीहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री बर्षमान पुनले भिडियोमार्फत् सम्बोधन गरेका थिए । 

‘दुवै नेताले द्धिपक्षीय सम्बन्धको अवस्थाबारे मूल्यांकन गर्दै सम्बन्धलाई थप उचाईमा पुर्‍याउन आपसी सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्’ परराष्ट्रले भटवार्तापछि भनेको छ, ‘न्यानो र सौहार्दपूर्ण भेटमा दुवै नेताले परियोजनाहरूको द्रुत कार्यान्वयनमा जोड दिएका छन् ।’

बेइजिङ्पछि छोङ्छिङ्, ल्हासा र छेन्दु जाँदै 
उपप्रधानमन्त्री श्रेष्ठ बुधवार अपरान्ह छोङछिङ जाँदैछन् । उनलाई साँझ छोङ्छिङका मेयर तथा पार्टी सेक्रेटरी युयान जियाजुनले स्वागत गर्नेछन् । उनीसँग श्रेष्ठको रात्रीभोजसहित छलफल हुनेछ । 

बिहीवार बिहान उनी चिनियाँ प्रथम प्रधानमन्त्री चाउ एन लाईको निवासको भ्रमणमा जानेछन् । त्यसदिन उनको औपचारिक कार्यक्रम छैन । शुक्रवार तिब्बतको राजधानी ल्हासा पुगेर उनले नेपाली महावाणिज्यदुताबासको भ्रमण गर्ने र साँझ तिब्बतस्थित चिनियाँ कम्युनिष्ट पार्टी सेक्रेटरी तिब्बतको ल्हासास्थित सिपिसी पार्टी सेक्रेटरी वाङ् छुङ्छेङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । तिब्बतका अधिकारीहरूसँग पनि उनले दुई देशबीच बिगतमा भएका सहमति कार्यान्वयनबारे छलफल गर्ने कार्यक्रम छ । 

शनिवार मौसम र श्रेष्ठको स्वास्थयले साथ दिएमा कैलाश मानसरोबर जाने कार्यक्रम छ । भोलिपल्ट अर्थात् आइतवार अपरान्ह ल्साबाट उनी छेन्दु पुग्ने कार्यक्रम छ । साँझ सिचुआन प्रान्तको छेन्दुमा पार्टी सचिब वाङ सियाओईले श्रेष्ठलाई रात्रीभोजसहित स्वागत गर्ने कार्यक्रम छ । सोमवार बिहान उनी स्वदेश फर्किनेछन् ।