
चार दिनअघि नारायणी नदी पुलबाट हाम फालेर बेपत्ता भएका गैँडाकोट-२, कुसुमघाटनिवासी १५ वर्षीय किशोर आदेश श्रेष्ठको शव आज फेला परेको छ।
गैँडाकोट नगरपालिका-७, गैरीस्थित नारायणी नदीकिनारमा उनको शव बिहान १० बजेतिर भेटिएको नवलपुर प्रहरीले जनाएको छ। उनको शव भरतपुरस्थित सरकारी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ।
ती किशोर साइकल र चप्पल पुलमा छोडी नदीमा हाम फालेका थिए।
कक्षा ९ मा अध्ययनरत १५ वर्षीय आदेश श्रेष्ठका मामाका अनुसार उनी बिहानै घरबाट कसैलाई केही नभनी निस्केका थिए। उनका बुवा, आमा र दाजु जापानमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ।
सोही दिन राति नारायणी नदीमा नारायणी पुलबाट हाम फाली बेपत्ता भएका नुवाकोट जिल्लाको साबिक हलदेव गाविस वार्ड नं १ स्थायी घर भएका ५९ वर्षीय मिठा गिरी अझै फेला परेका छैनन्।
त्यसैगरी, आज बिहान नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिका- ७, त्रिवेणी ब्यारेज पुलमा एकजना अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ब्यारेज पुलको ३२ नम्बर ढोकामा पुरुषको शव फेला परेको हो।