१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १o:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

समुदायस्तरमा गरिएको आलुखेती सफल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:१४:oo

लमजुङमा यस वर्ष हिउँदे आलु उत्पादन बढेपछि किसान खुसी भएका छन् । कृषि ज्ञानकेन्द्र लमजुङको सहयोगमा राइनास, मध्यनेपाल र सुन्दरबजार नगरपालिका तथा क्व्होंलसोथार र मस्र्याङ्दी गाउँपालिकामा व्यावसायिक आलुखेती गरिएको छ । लमजुङको सात सय ६८ रोपनी जमिनमा गरिएको आलुखेतीले राम्रो उत्पादन दिएको कृषि ज्ञानकेन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले बताए । केन्द्रले किसानलाई ७५ प्रतिशत अनुदानमा खुमल उज्ज्वल र खुमल उपहार नामक आलुको बिउ उपलब्ध गराउनुका साथै सिँचाइ र पूर्वाधारमा ८५ प्रतिशत, यान्त्रीकरणमा ७५ प्रतिशत र ढुवानीमा ५० प्रतिशत सहयोग गरिरएको उनले जानकारी दिए । 

लमजुङको राइनास नगरपालिकाको वडा नंं ३, ४ र ६ को पाँच सय आठ रोपनी क्षेत्रफल जमिनमा आलुखेती गरिएको छ । त्यहाँका ६ वटा कृषक समूहले व्यावसायिक आलुखेती गरेका छन् । त्यस्तै, सुन्दरबजार नगरपालिकाको धुसेनीमा दुईवटा समूहले सय रोपनीमा र मध्यनेपालको नेटामा एउटा कृषक समूहले ५० रोपनी क्षेत्रफलमा आलुखेती गरेको छ ।

क्वहाेंलासोथारको घाम्राङमा एक सय रोपनी क्षेत्रफल जमिनमा बर्खे आलुको बिउ उत्पादनको कार्यक्रम चलिरहेको छ भने मस्र्याङ्दी गाउँपालिकाको च्याम्चेमा ८० रोपनी र छिनखोलाको ८० रोपनी जमिनमा बर्खे आलुखेती गरिएको छ । कृषि ज्ञानकेन्द्रका बाली संरक्षण अधिकृत विजय पौडेलका अनुसार समुदायस्तरमा गरिएको आलुखेती लमजुङमा सफल भएको बताए । ‘एक बोरा बिउ लगाएको ठाउँमा २२ बोरासम्म आलु उत्पादन भएको छ ।

विभिन्न कृषि समूह एवं सहकारीलाई कृषि ज्ञानकेन्द्रले आलुको बिउ, यान्त्रीकरण, सिँचाइ र अन्य बन्दोबस्तीका लागि अनुदान सहयोग उपलब्ध गराएपछि आलुखेतीमा किसान हौसिएका छन् । कृषि ज्ञानकेन्द्र लमजुङले किसानले उत्पादन गरेको आलुको बजारीकरणका लागि बुटवलको फस्ट च्वाइस फुडसँग सम्झौता गरेको छ । सोही सम्झौताअनुसार उक्त कम्पनीले किसानको खेतबारीमै पुगेर उत्पादित आलु खरिद गरेको हो । 

बारीको आलु खनेर नभ्याउँदै खरिद गर्ने कम्पनीको ट्रक खेतमै पुगेपछि राइनास–३, टिमुरेस्थित ढम्केटिमुरे तरकारी तथा फलफूल र पशुपालन बहुद्देश्यीय कृषक समूहका अध्यक्ष सुकदेव पौडेल अचम्मित छन् । समूहले कृषि ज्ञानकेन्द्र लमजुङको सहयोगमा टिमुरेको ७० रोपनी क्षेत्रफलमा हिउँदे आलु लगाएको थियो । 
 

ad
ad