कतारले नेपालसँग द्विपक्षीय लगानी सम्झौताका लागि चासो दिएको छ । आर्थिक एवं व्यापारिक सम्बन्धलाई थप विस्तार गर्ने भन्दै कतारले द्विपक्षीय लगानी सम्झौतामा चासो देखाएको हो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीबीच सोमबार भएको भेटमा समेत यस विषयमा छलफल भएको महासंघले जनाएको छ ।
भेटमा राजदूत अल अन्सारीले द्विपक्षीय लगानी सम्झौतामा गहिरो चासो व्यक्त गरेको महासंघले जनाएको छ । ‘उनले यस्तो सम्झौताले लगानी संरक्षण, व्यापार प्रवद्र्धन र आर्थिक सहयोगलाई प्रोत्साहन गर्ने ढाँचा उपलब्ध गराउने बताएका छन्,’ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘दुवै पक्षले सम्भावित फाइदाबारे छलफल गरे र थप कदम खोज्न सहमत भए ।’
सो भेटवार्ता दुई देशबीचको आर्थिक सहयोग अभिवृद्धि र व्यापार साझेदारीलाई बढावा दिने विषयमा केन्द्रित भएको थियो । अध्यक्ष ढकालले नेपालमा लगानी प्रवद्र्धन गर्न आग्रह गरे । उनले राजदूतलाई नेपाल एक बढ्दो अर्थतन्त्र भएको र नेपालमा लगानीका लागि प्रशस्त अवसर रहेको बताए । उनले लगानीमैत्री वातावरण बनाउन सरकारले कानुन र नियमावली परिमार्जन गर्न निजी क्षेत्रसँग सहकार्य गरिरहेको पनि बताए ।
महासंघ र कतार चेम्बरबीच एक संयुक्त व्यापार परिषद् स्थापना गर्ने योजनाको छलफल पनि भएको थियो । संयुक्त व्यापार परिषद्ले नेपाल र कतारबीचको सहकार्य र सूचना आदान–प्रदानलाई सहज बनाउने अपेक्षा गरिएको छ । काउन्सिलले एक–अर्काको बजार विस्तार गर्न संयुक्त पहलका लागि प्लेटफर्म प्रदान गर्ने अपेक्षा गरिएको छ । भेटमा दुवै पक्षले आर्थिक सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धता दोहो¥याए । महासंघ र कतार चेम्बरले संयुक्त व्यापार परिषद् सम्झौतामा हस्ताक्षर गर्न र लगानीका अवसरको विषयमा वार्ता जारी राख्ने प्रतिबद्धता जनाए ।