१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ जेठ १ मंगलबार o६:३४:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दुई वर्षको अनुसन्धानपछि चिनियाँ धानको बिउले पायो मान्यता

एक सय ४२ जातका धान नेपाली कृषकका लागि उपलब्ध

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:३४:oo

दुई वर्षको अनुसन्धानपछि चिनियाँ धानको बिउ ‘एचक्यू ००२’ ले नेपालमा मान्यता पाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उक्त धानको बिउलाई मन्त्रीस्तरीय निर्णय गर्दैै सूचीकृत गरेको हो । मन्त्रालयका अनुसार यो जातको धानको बिउ प्रतिहेक्टर आठदेखि नौ प्रतिमेट्रिकटन उत्पादन हुने अनुमान छ ।

मध्यपहाडी क्षेत्रमा उपयुक्त मानिने यो धान पहाडी क्षेत्रका लागि पहिलोपटक हाइब्रिडका रूपमा सिफारिस गरिएको बिउबिजन गुणस्तर केन्द्रका वरिष्ठ बाली विशेषज्ञ प्रकाश आचार्यले जानकारी दिए । उनले भने, ‘चीनबाट विकास भएको यो धानलाई दुई वर्ष परीक्षण गर्दा नेपाली किसानका लागि उपयुक्त ठहरियो, यसले धान उत्पादन बढाउन नयाँ आयाम थप्नेछ ।’

उनका अनुसार रोग र किरा कम लाग्ने यो बिउमा सिँचाइको धेरै आवश्यकता पर्दैन । यो धानलाई दोलखा र दैलेखमा दुई वर्षसम्म परीक्षण गरिएको थियो । यो धानको चामल मोटो र नटुक्रिने हुन्छ । चिनियाँ धानलाई पाँचखाल बीज भण्डार काभ्रे, राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रले सिफारिस गरेको थियो । 

नेपालमा मान्यता पाउने चिनियाँ धानको संख्या दुईवटा  पुगेको छ । १४ वर्षअघि ०६६ सालमा ‘डिवाई १८’ ले मान्यता पाएको थियो । तराईको भित्री मधेशमा यो धान प्रभावकारी देखिएको छ । प्रतिहेक्टर ९ दशमलव १७ मेट्रिकटनसम्म उत्पादन हुने मन्त्रालयको भनाइ छ । बाहिरबाट आयातीत धानलाई दुईदेखि तीन वर्षको परीक्षणपछि सीधै मन्त्रालयबाट सिफारिस गरिन्छ ।

बिउबिजन गुणस्तर केन्द्रका वरिष्ठ बाली विशेषज्ञ प्रकाश आचार्य भन्छन्– मध्यपहाडी क्षेत्रमा उपयुक्त मानिने चिनियाँ धान पहाडी क्षेत्रका लागि पहिलोपटक हाइब्रिडका रूपमा सिफारिस गरिएको छ । चीनबाट विकास भएको यो धानलाई दुई वर्ष परीक्षण गर्दा नेपाली किसानका लागि उपयुक्त ठहरियो, यसले धान उत्पादन बढाउन नयाँ आयाम थप्नेछ ।

  एक सय ४२ प्रकारका धान 
कृषि मन्त्रालयमा हालसम्म एक सय ४२ वटा जातका धानका बिउ सूचीकृत गरिएका छन् । कृषि अनुसन्धान परिषद् नार्कले हिमाल, पहाड र तराईलाई केन्द्रित गरी ०२३ देखि ०७९ सालसम्म उक्त संख्यामा धानको बिउ सूचीकृत गरेको हो ।

नेपालमै उन्मोचन गरिएका ७७ जातका धान रहेका छन् भने ६४ वटा जात भारतीय छन् । अन्य देशले विकास गरेको धानलाई दुई वर्षको परीक्षणपछि सूचीकृत गरी मान्यता दिइन्छ भने उन्मोचन गरिएको धानलाई तीन वर्षसम्म परीक्षण गरेर सूचीकृत गरिन्छ । 

नेपाल बाली तथा आनुवांशिक केन्द्र नार्कले ०२३ देखि लगाउँदै आएको धानलाई बजारीकरण गर्न बन्द गरेको छ । ०२३ देखि ०४४ सालसम्म उत्पादन हुँदै आएका धानका ४४ प्रजातिका बिउ उत्पादनमा कमी, विभिन्न रोग, पानीको अभावलगायत कारणले विस्थापित भएका छन् । किसानले नरुचाएका कारण यी धान किसानबाट माग आउन छाडेको र उत्पादन घटेसँगै संरक्षणका लागि मात्र राखिएको छ । विशेष गरी आइआर–८, आइआर–२०, आइआर–२२, आइआर–२४, परावनीपुर–१, जया, चन्दिना, दुर्गालक्ष्मी, खजुरा–२, मल्लिकाजस्ता धानलाई हटाएको छ ।

 उच्च पहाडी क्षेत्रमा लगाइने धान 
उच्च पहाडी क्षेत्रको ४ दशमलव ३० प्रतिशत क्षेत्रमा धान उत्पादन हुने गर्छ । हाल उक्त क्षेत्रमा प्रचलित धानमा चन्दननाथ–१, चन्दननाथ–३, ताइचुङ–१७६, ताइनुङ–२४२, हिमाली, छोमरोङ, कञ्चन, ताइनान–१, ताइनान–२ अहिले प्रचलनमा छन् । यी धान प्रतिहेक्टर सात प्रतिटनसम्म उत्पादन हुने गर्छ । यी उन्नत जातका धानलाई पहाडी क्षेत्रमा लगाइँदै आएको छ । 

 तराई क्षेत्रमा लगाइने धान 
तराईका भूभागमा बर्खे र चैते धान गरी दुईपटक उत्पादन हुन्छ । हाल चैते धानहरूमा चैत–२, चैत–४, चैत–६, हर्दिनाथ–१, चैत–५, विन्देश्वरीजस्ता उन्नत जातका धान चैतमा लगाइन्छ । विशेष गरी तराईमा बर्खे सिजनमा लगाइने धानअन्तर्गत सावित्री, मनसुली, जानकी, मकवानपुर–१, राधा–७, राधाकृष्ण–९, राधा–४, राधा–११, राधा–१२, रामपुर मनसुली, मिथिला, राम, बर्खे–३००४, सुनौली सुगन्धा, लल्का बासमती, हर्दिनाथ–२, तरहरा–१, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, बर्खे–२०१४, साँवा मसुली, सुक्खा धान–४, सुक्खा–५, सुक्खा धान–६, राधा–१३, बहुगुणी–१, बहुगुणी धान–२, हर्दिनाथ–३ जस्ता उन्नत जातका धान छन् ।

पश्चिम तराईका अधिकांश जिल्लामा पर्याप्त सिँचाइको सुविधा नभएका कारण किसानले पानी बढी चाहिने बासमती र स्यामजिराजस्ता स्थानीय जातको धानखेती गर्न छाडेका छन् । त्यसको विकल्पमा सुक्खा सहन सक्ने राधा–४, सुक्खा–१ देखि सुक्खा–६ सम्मका उन्नत जातका धानखेती गर्न थालेका छन् ।

 उत्पादनमा वृद्धि 
पछिल्लो समय उन्नत जातको हाइब्रिड धानको प्रयोगले धान उत्पादन बढिरहेको छ । अघिल्लो वर्ष रोपाइँ नै कम हुँदाको समयमा समेत धान उत्पादन बढेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता सबनम सिवाकोटीले रैथाने धानलाई जोगाउँदै उन्नत जातको धानलाई प्राथमिकता दिइनुपर्ने मान्यताअनुरूप अघि बढेको बताइन् । उनले भनिन्, ‘अहिले हाइब्रिड धानले हाम्रो उत्पादन बढाइरहेको छ, यसलाई अझ बढाउँदै लैजाने गरी मन्त्रालय योजनाबद्ध ढंगले लागेको छ ।’

गत वर्ष देशभर कुल ५४ लाख ८६ हजार चार सय ७२ मेट्रिकटन धान उत्पादन भएको थियो । चालू आर्थिक वर्ष ०८०/८१ मा धानको उत्पादन ४ दशमलव ३३ प्रतिशतले बढेको सरकारी तथ्यांक छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार यो वर्ष देशभर ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिकटन धान उत्पादन भएको छ । यो पछिल्लो चार वर्षको औसत उत्पादनको तुलनामा ५ दशमलव ०८ प्रतिशत बढी हो ।

ad
ad