मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ९ शुक्रबार
  • Wednesday, 12 February, 2025
२o८o चैत ९ शुक्रबार १४:११:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

धनगढीका सामुदायिक विद्यालयमा एउटै पोसाक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत ९ शुक्रबार १४:११:oo

धनगढी उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि एउटै प्रकारको पोसाक लागू हुने भएको छ। उपमहानगरले आगामी नयाँ शैक्षिक सत्रबाट सबै सामुदायिक विद्यालयमा निर्धारित एकै प्रकारको पोसाक लागू गर्ने निर्णयसहित प्रक्रिया अगाडि बढाएको छ।

उपमहानगरले सामुदायिक विद्यालयहरूसँग एउटै पोसाक लागू गर्नेसम्बन्धी सम्झौता गर्न थालेको छ। नगर प्रमुख गोपाल हमाल र पञ्चोदय माविका प्रधानाध्यापक हरिश ओझाले विद्यार्थीका लागि एकै प्रकारको पोसाक बनाउने सम्झौतामा हस्ताक्षर गरेका छन्।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अब आकासे निलो रङको कमिज वा कुर्ता, गाढा निलो रङको पाइन्ट वा सुरुवाल, गाढा निलो रङको टाई, छालाको कालो जुत्ता र कपडाको सेतो जुत्ता लगाउनुपर्नेछ। त्यस्तै, जाडो मौसममा स्वीटर वा गाढा निलो रङको कोट, गाढा निलो रङको बेल्ट र छात्राका लागि सेतो रिबन, ऊनको टोपी लगाउनुपर्ने उपमहानगरले जनाएको छ।

नयाँ पोसाकको नियम लागू भएपछि विपन्न परिवारका बालबालिका मारमा नपरून् भनेर मेयर शैक्षिक कोष स्थापना गरेर पोसाकमा सहयोग गरिने उपमहानगरले जनाएको छ। मेयर हमालले मेयर शैक्षिक कोषमार्फत विपन्न परिवारका विद्यार्थीलाई पोसाकको व्यवस्था गरिने बताए।

उनले कोषमा दातृ निकाय र निजी क्षेत्रलाई जोडेर भए पनि सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकालाई पोसाकको व्यवस्था गरिने प्रस्ट पारे। नयाँ पोसाकसम्बन्धी सम्झौता कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले कापीकलम किन्न नसक्ने विपन्न परिवारका बालबालिका नयाँ पोसाक किन्दा मारमा पर्ने उल्लेख गरेका थिए।

त्यस्तै उपमहानगरले सामुदायिक विद्यालयसँग कार्यसम्पादन सम्झौता सुरु गरेको छ। विद्यालयले शैक्षिक तालिका बनाएर पठनपाठन गर्न, वित्तीय अनुशासन कायम गर्न, भौतिक व्यवस्थापन गर्न, पेसागत विकास, विद्यार्थी मूल्यांकन तथा नयाँ शैक्षिक सत्र सुरु भएको पहिलो साता विद्यार्थी भर्ना सप्ताह मनाउन कार्य सम्पादन सम्झौता गरिएको उपमहानगरले जनाएको छ।