Skip This
प्रिमियममा आइपिओ निष्कासन रोक्न लगानीकर्ताको माग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ९ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत ९ शुक्रबार o६:o९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रिमियममा आइपिओ निष्कासन रोक्न लगानीकर्ताको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत ९ शुक्रबार o६:o९:oo

 प्रिमियम मूल्यमा आइपिओ निष्कासनको पर्खाइमा रहेका कम्पनीलाई रोक्न लगानीकर्ताले माग गरेका छन् । तत्कालीन बोर्ड अध्यक्ष रमेशकुमार हमालले जथाभावी कम्पनीहरूलाई प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्न दिएको भन्दै लगानीकर्ताले यस्तो माग गरेका हुन् । 

जथाभावी कम्पनीलाई प्रिमियम मूल्यमा आइपिओ निष्कासनको अनुमति दिन नहुने भन्दै लगानीकर्ताले अर्थमन्त्री वर्षमान पुनलाई भेटेर सुझाव दिएका छन् । कमजोर वित्तीय विवरण भएका कम्पनीहरूको आइपिओ प्रिमियममा आउँदा दोस्रो बजारलाई असर पारेको हुँदा यस्तो विकृति रोक्न लगानीकर्ताले माग गरेका हुन् । 

यसअघि प्रिमियम मूल्यमा आएका कम्पनीहरूले पनि लगानीकर्तालाई उलेख्य नाफा दिन नसकेका कारण यस्ता कम्पनीलाई रोक्नुपर्ने र बुक बिल्डिङ विधिमार्फत आइपिओ जारी गर्न इच्छुक कम्पनीलाई प्रोत्साहित गर्नुपर्ने लगानीकर्ता तिलक कोइरालाले बताए । उनले भने, ‘विगतका अध्यक्षले प्रिमियमको लहर नै चलाएर जानुभएको छ, त्यसमा नियत ठीक थियो–थिएन, यो विषय अहिले पनि छानबिनमै रहेको छ । अबका अर्थमन्त्री र अध्यक्षले कमजोर वित्तीय विवरण भएका कम्पनीलाई आइपिओ निष्कासन गर्न भने रोक्न सक्नुपर्छ ।’

राम्रा कम्पनी भए बुक बिल्डिङ प्रणालीमा पारदर्शी रूपमा आइपिओ बिक्रीको स्वीकृति दिइनुपर्छ । अन्यथा अंकित मूल्यभन्दा बढीमा सेयर बिक्रीमा प्रतिबन्ध लगाई बजारको माग र आपूर्तिको अवस्था ख्याल गर्नुपर्ने लगानीकर्ताको भनाइ छ । अर्का लगानीकर्ता ताराप्रसाद काफ्लेले कम्पनीको वित्तीय विवरण हेरेर मात्र प्रिमियमा आइपिओ निष्कासन गर्न अनुमति दिनुपर्ने बताए । उनले भने, ‘लगानीकर्तालाई भोलिको दिनमा प्रतिफल दिन सक्ने कम्पनीलाई निष्कासन दिइनुपर्छ, आगामी अध्यक्षले यो विषयमा विचार गर्न जरुरी छ ।’

धितोपत्र बोर्डले जथाभावी प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्न दिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गर्दै छ । अहिले धितोपत्र बोर्डको पाइपलाइनमा ह्याम्स हस्पिटलले अंकित मूल्यमा एक सय ८८ रुपैयाँ, सौर्य सिमेन्टले अंकित मूल्यमा एक सय ६५ दशमलव ५१, मारुती सिमेन्टको अंकित मूल्यमा दुई सय ७७, जगदम्बा सिमेन्टको अंकित मूल्यमा दुई सय रुपैयाँ थपी प्रिमियम मूल्यमा आइपिओ निष्कासनको अनुमतिको पर्खाइमा छन् ।

नयाँ अध्यक्ष आएपछि मात्र अहिले पाइपलाइनमा रहेका कम्पनीले अनुमति पाउने नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए । उनले भने, ‘प्रक्रियामा गएका कम्पनीलाई हेरेर निष्कासनको अनुमति दिइन्छ, प्रिमियमको कम्पनीको हकमा नयाँ अध्यक्ष आएपछि कसरी अघि बढ्छ, त्यो पछि थाहा हुन्छ ।’

अर्थमन्त्री पुनले पुँजी बजार सुधारको योजना माग्दा पनि लगानीकर्ताका विभिन्न फोरमले मनलाग्दी प्रिमियमलाई रोक्नुपर्ने सुझाव दिएका छन् । धितोपत्र बोर्डले पुँजी बजारका तीनवटै निकायले दिएको सुझाव अर्थमन्त्री पुनलाई बुझाइसकिएको छ । सरकारको न्यूनतम साझा कार्यक्रममा समेत पुँजी बजारलाई सुधार गरेर अर्थतन्त्रमा पनि सुधार ल्याउने विषयलाई प्राथमिकतासाथ उठाएको छ ।